माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
उज्बेकिस्तानको समरकन्दमा शुक्रवार सम्पन्न शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखरबैठकको साइडलाइनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ताको एक अंशलाई पश्चिमी सञ्चारमाध्यमहरूले निकै बढाइचढाइ प्रस्तुत गरिरहेका छन् ।
त्यस वार्तामा मोदीले पुटिनलाई ‘यो युद्ध गर्ने समय हैन’ भनेका थिए । त्यसलाई युक्रेन मात्र नभई कुनै पनि युद्धविरुद्ध भारतको शान्तिवादी अडानका रूपमा नलिइकन पश्चिमले पुटिनलाई मोदीका तर्फबाट भएको आलोचनाका रूपमा प्रस्तुत गरेको छ ।
सीएनएनमा ऋषभ प्रताप, ल्यारी रजिस्टर र हेदर चनले तयार पारेको सामग्रीमा युक्रेनमाथि रुसको आक्रमणलाई मोदीले आलोचना गरेको भनी उल्लेख गरिएको छ । अझ विगत केही हप्तामा युक्रेनले चलाएको प्रत्याक्रमण कारवाहीमा रुसको पराजय भएको बेलामा मोदीको आलोचना पुटिनका लागि ठूलो धक्का हो भनी त्यसमा लेखिएको छ ।
त्यस्तै पोलिटिको पत्रिकामा स्टुअर्ट लाउ र सइम सईदको सामग्रीमा पनि आफ्नो मित्र ठानेका मोदीबाट पुटिनले कूटनीतिक धक्का अनुभव गरेको र मोदीले पुटिनलाई खुलमखुला आलोचना गरेको उल्लेख छ । चीनका राष्ट्रपति सी चिनपिङले बिहीवार युक्रेन युद्धका विषयमा पुटिनसँग प्रश्न र चिन्ता प्रकट गरेको भोलिपल्ट मोदीले पनि युद्धको आलोचना गरेको उनीहरू लेख्छन् ।
उता रोयटर्स समाचार संस्थाले युक्रेन युद्ध लगभग सात महिना पुग्न लाग्दा मोदीले पुटिनलाई सार्वजनिक मञ्चमा निर्भीक रूपमा आलोचना गरेको समाचार लेख्यो ।
पश्चिमसँगको द्वन्द्वमा रहेका पुटिनले चीन र भारत जस्ता एसियाली शक्तिहरूको साथ पाएकाले रुस विश्वबाट नएक्लिएको बताउँदै आएका छन् । तर मोदी र सीले सार्वजनिक रूपमा चिन्ता प्रकट गरेपछि पुटिनका एसियाली साझेदारहरू पनि पूर्णतः पुटिनको पक्षमा नरहेको देखिएको रोयटर्स लेख्छ ।
मोदीको यस भनाइबाट अबउप्रान्त भारतले रुससँगको आर्थिक कारोबार वा कूटनीतिक सम्बन्धमा पुनर्विचार गर्ला भन्ने पश्चिमको अपेक्षा हो भने त्यो निराधार ठहरिनेछ । मोदीले युद्धका विषयमा मात्र चिन्ता व्यक्त गरेका हुन्, रुससँगको सुमधुर सम्बन्ध कायम राख्ने विषयमा उनको दुईमत छैन ।
मोदीले पुटिनसँग गरेको कुराको लिखित पाठ (रीडआउट) भारतको विदेश मन्त्रालयले प्रकाशित गरेको छ । त्यसमा उनले भनेका छन्– अहिलेको युग युद्धको हैन भन्ने कुरा मलाई थाहा छ । विश्वलाई छुने चीज भनेका लोकतन्त्र, कूटनीति र संवाद हुन् भनी हामीले फोनमा पनि कैयौंपटक कुरा गरिसकेका छौं । आगामी दिनहरूमा हामी कसरी शान्तिको बाटोमा हिँड्न सक्छौं भन्ने विषयमा छलफल गर्ने अवसर अवश्य पाउनेछौं । तपाईंको दृष्टिकोण बुझ्ने मौका पनि मैले पाउनेछु ।’
यो रीडआउट पढ्दा मोदीले पुटिनलाई खुलमखुला आलोचना गरेको कुनै संकेत पाइँदैन । बरू पुटिनको दृष्टिकोण बुझ्न चाहेको मोदीले बताएर रुसका विषयमा पश्चिमले बनाएको भाष्यलाई आफूले नपत्याएको स्पष्ट सन्देश दिएका छन् ।
भारतले विश्वव्यापी आपूर्ति शृंखलालाई खलबल्याउने युक्रेन युद्ध थप नलम्बिए हुन्थ्यो भन्ने शान्तिवादी सदाशयता व्यक्त गरेको पुटिनलाई राम्रोसँग थाहा छ । त्यसैले जवाफमा उनले भने– युक्रेन द्वन्द्वका विषयमा तपाईंको अडानका बारेमा मलाई जानकारी छ र तपाईंको चिन्ता पनि म बुझ्छु । हामी सबै यो यथाशक्य चाँडो अन्त्य होस् भन्ने चाहन्छौं ।
यी दुई नेताहरूको यो संवादको अध्ययन गर्दा कतै पनि तिक्तताको अनुभव हुँदैन । युक्रेन युद्धमा भारतको अडान कसैबाट पनि लुकेको छैन ।
कूटनीतिक संवादमार्फत युद्ध अन्त्य हुनुपर्ने भारतले पहिलो दिनदेखि भन्दै आएको छ । तर त्यससँगै रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाउनुपर्ने र उसलाई एक्ल्याउनुपर्ने अमेरिका नेतृत्वको पश्चिमको उर्दीलाई भारतले लगातार अवज्ञा गर्दै आएको छ ।
पश्चिमलाई निराश पार्ने गरी वास्तवमा भारतले सिद्धान्तनिष्ठ तटस्थताको प्रशंसनीय अडान लिँदै आएको छ । त्यो अडानका पछाडि भारतको दीर्घकालीन रणनीति रहेको छ । पंक्तिकारले भारतको यस रणनीतिका विषयमा पहिले पनि सामग्री तयार पारिसकेको छ ।
पढ्नुहोस् यो पनि:
अनि शान्तिको पक्षमा उभिएर आफूलाई विश्व राजनीतिको एक जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गर्ने भारतको प्रयास स्वागतयोग्य छ । संसारभरिका विकासशील तथा मध्यम/सामान्य शक्ति भएका मुलुकहरूसँग सुमधुर सम्बन्ध कायम राख्नका लागि पनि भारत शान्तिको पक्षमा उभिन जरूरी छ । शान्तिको पैरवी गर्नु भारतको नरम शक्ति (सफ्ट पावर) प्रक्षेपणको उम्दा माध्यम हो भनी अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्को तर्क गर्छन् ।
चीन, रुस, इरान तथा अन्य शक्तिहरूसँग मिलेर विश्वलाई बहुध्रुवीय बनाउने लक्ष्य भारतले लिएको छ । त्यसका लागि बहुपक्षीय संलग्नताको रणनीतिलाई भारतले अंगीकार गरिरहनेछ । त्यसैले भारत क्वाड र जी७ का साथै एससीओ र ब्रिक्समा उत्तिकै सहजताका साथ उपस्थिति जनाउँछ ।
बरू पश्चिमलाई भारतको यो नीति पाच्य भइरहेको छैन जस्तो देखिन्छ । त्यसैले गत साता ब्लूमबर्ग पत्रिकामा सुधी रञ्जन सेन र विभुदत्त प्रधानले तयार पारेको सामग्रीमा पुटिनसँग भेट गरेर मोदीले अमेरिकाको आक्रोश निम्त्याउन सक्ने उल्लेख छ ।
ब्लूमबर्गका अनुसार, रुससँग सैन्य उपकरणका लागि लगभग पूर्णतः निर्भर रहेकाले सम्बन्ध तोड्न गाह्रो हुने भनी भारतले अमेरिकालाई बताएको छ र अमेरिकाले त्यसमा विश्वास गरेको पनि छ । तर अब अमेरिका र उसका पश्चिमी साझेदारहरूमा भारतप्रतिको धैर्यता गुम्न थालेको देखिन्छ ।
उनीहरू पुटिनको कमाइ कटाउनका लागि रुसी तेलमा अधिकतम मूल्य निर्धारण लगायतका उपाय अपनाउन खोजिरहँदा भारतले रुसको सरकारी कोष भर्ने गरी कारोबार गरिरहँदा अमेरिकीहरू चिढिएका छन् । अमेरिकाले सुझाव दिएबमोजिमको मूल्य निर्धारणलाई भारतले अपनाउन मानिरहेको छैन ।
उता जर्मनीकी परराष्ट्रमन्त्री आन्नालेना बाएरबोकले आफ्ना जनताबाट विरोध हुन सक्ने भए पनि रुसविरुद्धको प्रतिबन्ध जारी राख्ने भनिरहँदा भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले रुससँग छुट मूल्यमा तेल किनिरहने बताएका छन् । भारतका विदेशमन्त्री एस जयशंकरले पनि भारतीय जनतालाई महंगो तेल किन्न बाध्य पार्ने स्थितिबाट मुक्ति दिनका लागि सस्तो रुसी तेल किनिरहने भनी विश्वभरिका मञ्चमा बोल्दै आएका छन् ।
पश्चिमलाई खुशी नबनाउने यस निर्णयसँगै भारतले रुसी नेतृत्वको भोस्तोक–२०२२ संयुक्त सैन्य अभ्यासमा सहभागिता जनाउँदा अमेरिकासँगै जापान पनि चिढिएको छ । शायद भारतप्रतिको असन्तुष्टिलाई व्यक्त गर्नका लागि अमेरिकाले भारतको कट्टर शत्रु पाकिस्तानलाई एफ–१६ लडाकू विमानको स्तरोन्नतिका लागि ४५ करोड डलर बराबरको प्याकेज उपलब्ध गराउने निर्णय लिएको छ । अमेरिकाको त्यस निर्णयलाई भारतले विरोध गरेको छ ।
पश्चिमी प्रभुत्वलाई पूर्ण स्वीकार गरी उसकै खटनमा चल्नुपर्ने अपेक्षालाई यसरी भारतले बारम्बार लत्याइरहँदा उसविरुद्ध नकारात्मक भाष्य निर्माण हुने सम्भावना छ । भारतीय विश्लेषक एसएल कण्ठनले भारतविरुद्ध अमेरिकाले बनाउन सक्ने सम्भावित भाष्यका बारेमा चर्चा गरेका छन् ।
भारतलाई हिन्दू फासिवादी मुलुक भन्ने अनि कश्मीरमा उसले नरसंहार गरिरहेको आरोप लगाउने काम अमेरिकाले गर्न सक्छ । अमेरिकी सञ्चारमाध्यममा दलितहरूको पीडाका विषयमा असंख्य लेखहरू आउन सक्छन् । जम्मा दुई महिनामा अमेरिकाको प्रोपागान्डा मशिनले भारतलाई खलनायक बनाइदिन सक्छ ।
यससँगै विश्लेषक कोरीब्कोका अनुसार, चीनको रणनीतिक जोखिमका बारेमा बारम्बार बताइरहेर भारतलाई तर्साउने कोशिश पनि अमेरिकाले गर्न सक्छ । यस्तो स्थितिलाई आकलन गरेको भएर नै भारतले गलवान हिंसापछि पनि चीनसँगको आर्थिक सम्बन्ध कायम राखिरहेको हो र चीनलाई चिढ्याउने कुनै पनि कदम नचालिरहेको हो ।
भारतको यो सिद्धान्तनिष्ठ अडान नै मोदी–पुटिन वार्तामा झल्किएको हो । युक्रेनविरुद्ध रुसले चलाएको विशेष सैन्य कारवाहीलाई भारतको समर्थन छैन तर त्यसैको बहानामा भारतले रुससँगको सम्बन्ध तोड्दैन ।
यस अडानलाई मन नपराएको अमेरिकाले भारतलाई पूर्ण रूपमा आफ्नो पक्षमा लाग्नका लागि दबाब दिएमा भारत कत्तिको दह्रो गरी उभिन सक्ला, भविष्यले देखाउनेछ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...