माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
माघ २४, २०७९
पुस १० मा अप्रत्यासितरूपमा आफूबाट फुत्किएको सम्पूर्ण शक्ति फर्काउन संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हरसम्भव प्रयत्न गरिरहेको छ ।
ठूलो दलका रूपमा सरकार बनाउने तयारी हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा प्रधानमन्त्री भएदेखि नै कांग्रेस नेतृत्वले आफ्नो कमजोरी महसूस गरेको थियो ।
यसैले शुरूबाटै माओवादीसँग पुनः सम्बन्ध सुधारेर ‘कोर्स करेक्सन’ गर्ने र सत्ता राजनीतिको केन्द्रमा आफूलाई समाहित गर्ने प्रयत्न कांग्रेसले गर्दै आएको हो ।
यसबीचमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेको छ भने केन्द्रदेखि प्रदेशसम्म कतै पनि माओवादीविरुद्ध कुनै खालको प्रतिस्पर्धा गरेको छैन ।
माओवादीप्रति उदार हुनुको एउटै कारण हो, राष्ट्रपति चुनावसम्ममा वर्तमान गठबन्धन टुटाएर आफूअनुकूल पात्रलाई शीतल निवास पुर्याउने दाउ । राष्ट्रपतिको चुनाव आगामी फागुन २५ गतेका लागि तोकिएको छ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन गरिसक्नुपर्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले राष्ट्रपतिमा उम्मेदवारी दिने गरी पार्टीले संवाद अगाडि बढाइरहेको जानकारी दिए ।
‘पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको छ । दलहरूसँग संवाद गरेर सहमति जुटाउन नेताहरू लाग्नुभएको छ,’ उनले भने, ‘उम्मेदवार बन्न केही नेताले आकांक्षा देखाउनुभएको छ । केही समयमा कांग्रेसले उम्मेदवार अघि सार्छ ।’
माओवादीमा टिकेको आशा
देउवालाई छाडेर १० पुसमा प्रचण्डले ओलीसँग सत्ता साझेदारी गरे । तर २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि मात्रै प्रचण्डले निर्धक्कको सास फेर्न पाए ।
१६९ सांसदको समर्थन पाएर प्रधानमन्त्री बने पनि प्रचण्ड आफैं देउवासँग विश्वासको मत माग्न पुगेका थिए । देउवाले विनाशर्त प्रचण्डलाई मत दिएर कोर्स करेक्सनको बाटो अगाडि बढाए ।
विश्वासको मत एमालेसँगको गठबन्धन टुटाएर प्रचण्डलाई आफूतिर तान्ने कांग्रेस प्रयासको शुरूआती कदम थियो । कांग्रेसले विश्वासको मत दिएदेखि नै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने कुरा गर्न थालेका हुन् ।
सभामुख एमालेले पाइसकेकाले अब राष्ट्रपति पनि एमालेलाई दिने र साढे दुई वर्षपछि प्रधानमन्त्री पनि ओलीलाई बुझाउनुपर्ने अवस्थाको आकलन प्रचण्डले गरिसकेका छन् ।
यसैले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाउने मौखिक समझदारीबाट प्रचण्ड पछाडि हटिसकेका छन्, किनकी राष्ट्रपतिमा कांग्रेस र एमालेको दौडमा माओवादीसँग निर्णायक मत छ । कांग्रेसको विश्वास र राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक भएकै आधारमा प्रचण्डले एमालेलाई घुर्की लगाउने सामर्थ्य बटुलेका छन् ।
ओलीले शक्ति केन्द्रीकृत गर्दा फेरि पनि संसद् विघटन गराउने जोखिम कांग्रेसले माओवादीलाई देखाइरहेको छ । यस्तो जोखिम देखाएर कांग्रेसले माओवादीलाई आफ्नो कित्तामा तानेर राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउने संकल्प लिएको छ ।
‘यतिखेर एमाले र माओवादीभन्दा कांग्रेस र माओवादी सहकार्य बढी व्यावहारिक देखिन्छ । यस्तो नदेखिँदो हो त १६९ सांसदको समर्थन पाएका प्रचण्ड विश्वासको मत माग्न देउवाको दैलोमा पुग्ने थिएनन्,’ कांग्रेस नेता गुरु घिमिरे भन्छन्, ‘यसैले राष्ट्रपतिको निर्वाचनमा माओवादी कांग्रेस उम्मेदवारको पक्षमा उभिन्छ, किनकी माओवादीका लागि कांग्रेसलाई समर्थन गर्नु बाध्यता र सहजता दुवै हो ।’
ओलीसँगको सहकार्य प्रचण्डलाई त्यति सहज नभएको घिमिरेको विश्लेषण छ ।
‘एमालेसँग सहजता नहुने भएकैले माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरेको हो । एमालेलाई माओवादीले सरकारको भरोसा मान्दा उसले राष्ट्रपति खोज्छ, जुन माओवादी दिन चाहँदैन । आफ्नो सरकार पनि जोगिने र शक्ति सन्तुलनमा पनि प्रभाव भइरहने भएकाले माओवादीले अन्ततः कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेर जान्छ ।’
कतिपयले भने प्रचण्डले कि त आफ्नै दलको कि स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेको बताइरहेका छन् । तर घिमिरे त्यो सम्भावना कम देख्छन् ।
‘एमाले उम्मेदवारलाई राष्ट्रपति नमान्दा माओवादीले आफ्नै कुनै नेतालाई राष्ट्रपति बनाउन खोज्ने पनि एउटा विकल्प त होला । नभए स्वतन्त्र व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्ने अर्को विकल्प देखेको होला,’ घिमिरे भन्छन्, ‘तर, प्रचण्ड नेतृत्वको सरकारलाई टेको दिन पनि कांग्रेस वा एमालेमध्ये एउटा शक्ति माओवादीसँग हुनुपर्नेछ । एमालेबाट माओवादीले जोखिम देखिसकेको छ । यस्तोमा स्वतन्त्र व्यक्तिलाई अघि सार्दा माओवादीले कांग्रेस र एमाले दुवैको समर्थन पाउने अवस्था कम हुन्छ । त्यसैले व्यावहारिक हिसाबले पनि माओवादीले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउनु उपयुक्त हुन्छ ।’
राष्ट्रपतिमा कांग्रेसलाई साथ दिँदा ५ वर्ष नै प्रधानमन्त्री आफूले पाउन सक्ने बुझाइसमेत प्रचण्डको रहेको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बताउँछन् ।
‘राष्ट्रपति कांग्रेसलाई दिँदा सबै सन्तुलन मिल्ने र पाँच वर्ष शासन गर्न पाउने अवसरसमेत प्रचण्डलाई हुन सक्छ,’ दाहाल भन्छन् ।
माओवादीलाई नचिढ्याउने, साना दललाई विश्वासमा लिने
राष्ट्रपति चुनावमा माओवादी निर्णायक भएकाले उसलाई नचिढ्याउने कांग्रेसको नीति छ । पुरानो गठबन्धन भत्किए पनि देउवाले माओवादीका नेतालाई लक्षित गरेर नबोल्न पार्टी पंक्तिलाई निर्देशन नै दिएका थिए ।
यतिमात्रै होइन गठबन्धन गरेर चुनाव जिताएको माओवादी एमाले कित्तामा पुगेको भन्दै प्रचण्डको आलोचना र विरोध हुने डरले देउवाले चुनावी समीक्षासम्बन्धी केन्द्रीय समितिको बैठक तीनपटकसम्म स्थगित गरिसकेका छन् । जुन बैठक अब राष्ट्रपति निर्वाचनपछि मात्रै बस्दैछ । शेखर पक्षले चलाएको भेलालाई समेत देउवाले विशेष आग्रह गरेर रोकिदिए ।
एमालेबाहेक माओवादी र जसपाले बनाएका प्रदेश सरकारलाई कांग्रेसले विश्वासको मत दियो । तर एमालेले पाएको सरकारलाई मत दिएन ।
माओवादीले पाएको राष्ट्रिय सभा उपाध्यक्षविरुद्ध पनि कांग्रेसले कुनै उम्मेदवार खडा गरेन । देउवाले माओवादी फकाउन हरसम्भव प्रयास गरिरहँदा माओवादी र कांग्रेसका केही नेता नियमित सम्पर्कमा छन् । कांग्रेसबाट रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा नेताहरू कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायत खटिएका छन् । अन्य दलबीच विश्वासको वातावरण बनाउने गृहकार्यमा पनि यी नेता लागेको बताइन्छ ।
यतिमात्रै होइन, डा. शेखर कोइरालाले समेत यतिखेर देउवालाई नजिकबाट साथ दिइरहेका छन् । सरकारलाई समर्थन दिए पनि सहभागी नभएको जसपालाई समेत कांग्रेसले फकाइरहेको छ । मन्त्रालयमा असन्तुष्ट रहेको जनमत र रेशम चौधरीको रिहाइको मुद्दा बनाइरहेको नागरिक उन्मुक्ति पार्टीलाई पनि विश्वासमा लिने गरी कांग्रेस अगाडि बढेको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाले अन्य दलसँग सहकार्य गरेर भए पनि राष्ट्रपतिमा कांग्रेस उम्मेदवार जिताएरै छाड्ने दाबी गरेका छन् । मंगलवार नेपाल प्रेस युनियनको बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै उनले राष्ट्रपति कांग्रेसले जित्नेमा दुईमत नभएको दाबी गरे ।
‘तपाईंहरूलाई लागेको होला २५ फागुनमा के हुन्छ ? राष्ट्रपतिको निर्वाचन नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ । (कांग्रेस उम्मेदवारले) जित्ने कुरामा दुई मत छैन’, कोइरालाले भने, ‘अन्य दलसँग सहकार्य गर्नुपर्ने आवश्यकता देखेको छु । अहिले राष्ट्रपति निर्वाचनको सन्दर्भमा जुन कुरा आइराखेको छ, त्यो विषयलाई लिएर सत्तामा रहेका केही दलले कांग्रेसले भाँजो हाल्न खोजेको भनेका छन् । हामी संसद्को ठूलो पार्टी हो नि !’
प्रचण्ड नेतृत्वको सरकारमा रहे पनि एमालेसँग बढी नजिक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाहेकका दललाई विश्वासमा लिने रणनीति कांग्रेसको छ ।
राष्ट्रपति चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरू मतदाता हुन्छन् । उनीहरूको कुल मतभार ५२ हजार ६२८ हुन्छ । यसको बहुमत अर्थात् २६ हजार ३१५ मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा विजयी हुन्छ ।
एमाले, राप्रपा र रास्वपाको १९ हजार ३९० मत मात्रै छ । यीबाहेक नेकपा एस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको मत ७ हजार ७९२ छ ।
यी साना दललाई विश्वासमा लिन सक्दा १६ हजार २२१ मत भएको कांग्रेसलाई राष्ट्रपति चुनावमा सहजता हुनेछ । यसमा ७ हजार ८२४ मत भएको माओवादीले पनि समर्थन गर्दा कांग्रेसलाई राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउन कठिन हुने छैन । माओवादीलाई आफ्नो कित्तामा ल्याउँदा साना दलको सबै मत आवश्यक पर्ने अवस्था पनि रहन्न । तर, आफ्नै कारण टाढिएको माओवादीको साथ तत्काल पाउन कुनै चमत्कार हुनुपर्ने अवस्था छ ।
रणनीतिक कदम चाल्नुपर्ने दबाब
४ मंसिरको निर्वाचनपछि कांग्रेस ठूलो दल भएर सरकार बनाउन तयार भए पनि चिप्लिएको थियो । गठबन्धन बनाएर चुनावमा गएका दलहरू सरकार बनाउने बहुमतबाट केही सीटमात्रै टाढा थिए । तर एमाले र प्रचण्ड दुवैतिर खेल्न खोज्दा कांग्रेसले मुखैमा आएको सत्ता गुमाएको थियो । यतिमात्रै होइन चारवटा प्रदेशमा कांग्रेस ठूलो दल भएर सरकार बनाउन उन्मुख थियो । बाँकी प्रदेशमा पनि दोस्रो दलका रूपमा कांग्रेस बलियो थियो । तर देउवाले राष्ट्रपति पनि नछाड्ने र प्रधानमन्त्रीको आधा कार्यकालको पहिलो खण्डमा पनि आफैंसँग राख्ने जिद्दी गरेपछि सारा समीकरण बिग्रियो । सोही कारण पनि यसपटक व्यावहारिक र रणनीतिक कदम चाल्नुपर्ने दबाब देउवालाई छ ।
‘४/५ सीटले मात्रै बहुमतबाट पछाडि थियौं । हामीसँग सत्ता गठबन्धनको सहजता थियो । चुनावमा गठबन्धन गरेकै दलबीच सरकार बनाउन थोरै मत नपुग्ने अवस्था हुँदाहुँदै कांग्रेसले गठबन्धन जोगाउन सकेन । रणनीतिक रूपमा प्रभावकारी कदम नचाल्दा कांग्रेस पहिलो दल भए पनि शक्तिविहीनजस्तो बन्न पुगेको हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘एमालेसँग पनि संवाद गर्न खोज्ने र माओवादीसँग पनि संवाद गर्ने र खेल्ने कमजोरी हामीले गर्यौं । यस्तै कमजोरी गरे राष्ट्रपति निर्वाचन समेत हामीबाट फुत्किन सक्छ । यसैले व्यावहारिक र रणनीतिक मुभ चालेर राष्ट्रपति आफ्नो पक्षमा पार्न कांग्रेस सक्रिय हुनुपर्छ ।’
उम्मेदवारसहितका विषयमा रणनीतिक हिसाबले अगाडि बढ्ने तयारी कांग्रेसको छ । राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल एमालेमा असीमित शक्ति आर्जनको भोक देखिएकाले माओवादी बिच्किने अवस्थामा पुगेको तर्क गर्छन् ।
‘एमालेले राष्ट्रपति, संसद्, अदालतसहितका संवैधानिक अंगमा एकपछि अर्को गर्दै आफ्नो बलियो उपस्थिति गराउँदै आएको छ । यसैले प्रचण्डले एमालेसँग बस्न जोखिम देखेका छन्,’ दाहालले भने, ‘कांग्रेसजस्तो सहजता र सन्तुलन एमालेसँग मिल्दैन भन्ने बुझाइमा प्रचण्ड पुग्नुभएको देखिन्छ । यस्तोमा राष्ट्रपति एमालेले होइन, कांग्रेसले पाउने सम्भावना बढी छ ।’
को हो कांग्रेस उम्मेदवार ?
कतिपयले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै भावी राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चा गरेका छन् । तर, त्यो सम्भावना कम देखिन्छ ।
देउवापछि नेता विमलेन्द्र निधि उनको उत्तराधिकारी हुने बाटोमा थिए । तर १४ औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा भिडेपछि निधिले त्यो अवसर खेर फालिसकेका छन् । यसैले आफ्नो बलियो उत्तराधिकारी तयार नहुँदासम्म देउवा राष्ट्रपतिका लागि इच्छुक नहुने उनी निकट नेताहरू बताउँछन् ।
पार्टी सभापति, संसदीय दलको नेता, सांसद पद सबै जाने र पार्टीमा उत्तराधिकारीको व्यवस्था नहुँदा आफ्नो होल्ड गुमेर शेखर–गगन खेमा हावी हुने डर देउवालाई छ । सोही कारण पनि देउवा आफैं राष्ट्रपतिमा अगाडि बढ्ने सम्भावना कम रहेको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको तर्क छ ।
बरु देउवा आफैंले पार्टीमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपतिको दाबेदार रहेको बताइसकेका छन् । गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मा पनि कांग्रेसबाट राष्ट्रपतिका लागि सम्भावित नाम रहेको देउवानिकट स्रोत बताउँछ ।
यिनमा पनि सिनियर नेता हुनुको नाताले रामचन्द्र पौडेल अहिलेसम्म राष्ट्रपतिका बलिया दाबेदार हुन् ।
पछिल्लो समीकरणमा देउवानिकट रहेका पौडेल उम्मेदवार हुँदा डा. शेखर कोइराला समूहको पनि विरोध नहुने नेताहरू बताउँछन् ।
माओवादीप्रति नरम दृष्टिकोण राख्ने र अहिलेसम्म कुनै विवादमा नआएको पात्र भएका हिसाबले पनि पौडेलको नाममा सहमति जुट्ने सम्भावना रहेको कांग्रेस स्रोतको दाबी छ ।
त्यसो त नेता कृष्ण सिटौलाले आफूलाई उम्मेदवार बनाए माओवादीको विश्वास जित्न सहज हुने भन्दै देउवासमक्ष दाबी पेश गरिसकेका छन् ।
‘मेरो नाममा पार्टीले निर्णय गरोस्, बाँकी क–कसलाई मिलाउनुपर्छ मेरो जिम्मा भयो भनेर सिटौलाले देउवालाई भन्नुभएको छ,’ कांग्रेसका एक नेताले लोकान्तरसँग भने ।
तर, पौडेलको नाममा सकारात्मक रहेका देउवाले सिटौलालाई स्पष्ट जवाफ दिएका छैनन् ।
पढ्नुहोस्, यो पनि :
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...