वैदिक ऋषिमुनिहरूको चर्चा गर्दा महर्षि नारायण पनि विर्सनै नसकिने नाम हो । हुन त उनको नाम वेदमा भन्दा इतिहास र पुराणमा बढी आएको छ । त्यस्तै स्थान पनि ऋषिमुनिको पंक्तिमा भन्दा सर्वोपकारक उपास्यदेवको रूपमा लिने गरिएको पाइएको छ तर वैदिक संहिताका अनुसार उनी वैदिक मन्त्रद्रष्टा ऋषिहरूको पंक्तिमा देखिएका छन् ।
विशेषगरी ऋग्वेद दशौं मण्डलको ९० औ सूक्त उनै महर्षि नारायणद्वारा साक्षात्कार भएका मन्त्रहरूको सँगालो मानिन्छ । परम आदिपुरुष वा आदिसत्ताका सञ्चालक पुरुष शक्तिको प्रशस्तिमा गाइएको यस सूक्तमा कुल १६ वटा मन्त्र छन् । पुरुषसूक्तको नामले परिचित यो सूक्त जति पावन मानिएको छ त्यति नै महत्वको देखिएको पनि छ । कुनै पनि वैदिक यज्ञ अनुष्ठानमा विशेष श्रद्धाका साथ गाइने यस सूक्तले मन्त्रद्रष्टा ऋषिमुनिहरूद्वारा दीर्घ साधना मार्फत बोध गरेका विराटपुरुषको स्वरूप, उनका कार्य क्षेत्र र विशेषता आदिका बारेमा विसद वर्णन गर्ने प्रयास गरेको छ ।
परम योगी, ज्ञानी, गुणी, ध्यानी, मानी, आदि विविध विशेषणले सुसम्पन्न देखिएका महर्षि नारायणको उल्लिखित सूक्त बाहेक अर्को सूक्त पनि भेटिएको छ । ऋग्वेदमै भेटिएको यस सूक्तलाई उनकै नाम दिएर नारायण सूक्त भनिएको पाइन्छ । परामादित्य पुरुषको प्रशस्तिमा गाइएको यस सुक्तलाई कतै कतै उत्तर नारायण सूक्त भनिएको पनि पाइन्छ । जम्मा छवटा मात्र मन्त्र रहेको यस सूक्तमा पनि समग्र विश्वब्रह्माण्डको आदि शक्ति, सत्ता र तिनका विशेषता वर्णन गर्ने प्रयास भएको पाइन्छ । सृष्टि, सत्ता र मानिसको उद्विकासको क्रमसँगै मानवीय कर्तव्य र दायित्वलाई समेत सूक्ष्मरूपले केलाउने प्रयास गरेको यस सूक्तले संसारका आदिपुरुषलाई अजायमान पनि भनेको छ र बहुधाभिजायमान पनि मानेको छ । यस सूक्तले उनको व्यक्तित्व, बौद्धिकता र विशेषता वर्णनमा जे जस्ता तर्क र अभिमत प्रस्तुत गरेको छ सारा इतिहास र पुराणले त्यसको पूर्णतः भेउ पाउन नसकेको प्रष्टै अनुभूत गर्न सकिन्छ । उदाहरणका लागि उनीबारे वेद र पुराणमा देखिएको भिन्नता वा मतभेदलाई लिन सकिन्छ ।
जस्तो महर्षि नारायणको भनिएको उल्लिखित ऋग्वेदीय नारायण सूक्तमा जुन किसिमको अजायमान र बहुधाभिजायमान पुरुष शक्तिको चर्चा गरिएको छ पौराणिक दर्शनका अनुसार त्यो भनेको अरु कोही नभएर उनी आफै महर्षि नारायण नै हुन् भन्ने प्रतीत हुन्छ । पौराणिक ग्रन्थहरूमा पनि महर्षि नारायणको नामसम्म त उल्लेख भेटिन्छ तर यसबाहेक खासै चर्चा भेटिन्न । यसबाट पनि उल्लिखित अभिमत नै पुष्ट हुन आउँछ । पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार यी नारायण भनेका त्यस्ता नारायण हुन् जसको न आदि छ न अन्त्य नै भेट्टाउन सकिन्छ । उनलाई अजन्मा भएकाले अनादि पनि भनिन्छ र अमर भएकाले अनन्त पनि भनिन्छ । सृष्टिको मूल स्रोत पनि उनै हुन् र मूल आधार पनि उनी नै मानिएका छन् ।
अझ वेदान्त दर्शनले त उनको विशेषता वर्णन गर्दै कतिसम्म भनेको छ भने हामीले संसारमा जे जस्ता स्वरूप र विशेषता देख्दै आएका छौं ती सबै उनकै विविध रूप हुन् । खाने पनि उनै हुन् । खुवाउने पनि हुन् । खाइने पनि उनै हुन् । गर्ने पनि उनै हुन् । गराउने पनि उनै हुन् । अनि जे गरिएको त्यो पनि उनकै स्वरूपका विविध कडी हुन् । पौराणिक ग्रन्थहरूमा जुन विराट पुरुषको चर्चा भएको छ त्यो भनेको पनि उनै हुन् र हिरण्यगर्भको नाममा जसको चर्चा भएको छ त्यो भनेको पनि उनै हुन् । कतिले उनलाई ब्रह्म भनेका छन् भने कतिले ईश्वर भनेका छन् । त्यस्तै कसैले बुद्ध भनेका छन्, कसैले अर्हत भनेका छन् । यस बाहेक कर्ता, कर्म र क्रियाको रूपले हेर्ने पनि धेरै नै छन् ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार उनी जतिबेला जहाँ जस्तो रूपमा प्रकट हुनुपर्छ त्यतिबेला त्यहाँ त्यस्तै रूपमा प्रकट हुन सक्छन् र जहाँ जति बेला जस्तो काम आइलाग्छ त्यसलाई फत्ते गर्न पनि सक्छन् । उनी नरममा नौनीभन्दा नरम छन् । कडामा चट्टानभन्दा पनि कडा छन् । साधु, सन्त र सज्जनका लागि जति उपकारी र सहयोगी बनिरहेका हुन्छन् दुष्ट र दुर्जनहरूका लागि त्यति नै असहयोगी र असहिष्णु बनिरहेका पनि हुन्छन् । उनका आफ्नै गोडा छैनन् तैपनि हिड्ने र हिडाउने काम गरिरहेका छन् भने आफ्नै आँखा र कान छैनन् तैपनि देख्ने, देखाउने र सुघ्ने, सुँघाउने काम गर्दै आएका पनि छन् । उनी आफू खाँदैनन्, अरुलाई खुवाउँछन् तर अरुले खाँदाखाँदै आफू भने अघाइरहेका हुन्छन् । एकै साथ यस्ता अनगिन्ती विपरीतधर्मी काम गर्न सक्ने यिनका काम पनि अनेक छन् र काम अनुसार नाम बन्ने भएकाले नाम पनि अनेक छन् ।
महर्षि नारायण वैदिक ग्रन्थहरूमा उल्लेख भए अनुसार विशुद्ध महर्षि मात्र हुन् कि पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार अनन्त सत्ता र शक्तिका अधिष्ठान ईश्वर वा भगवान् पनि हुन् त्यो त उनै जानून तर उनी चामात्कारिक विशेषताले विशिष्ट व्यक्तित्व भने पक्कै हुन् । त्यसैले त उनी जहाँ जसले जतिबेला इच्छा गर्छन् त्यहीं पुग्न पनि सक्छन् र जे जस्तो चीजको चाहना गर्छन् त्यसलाई सोही रूपमा पु¥याउन पनि सक्छन् । महारानी द्रौपदीलाई वस्त्रको आवश्यकता पर्दा उनी आफै वस्त्र बनेर त्यसको आपूर्ति कर्ता बनिरहेका देखिएका छन् भने खाने चीजको आवश्यकता पर्दा त्यसैको आपूर्ति गरिहेका अवस्थामा फेला परेका छन् ।
वैदिक सूक्तहरू बाहेक नारायणका नाममा एक स्मृतिग्रन्थ पनि फेला परेको छ । महर्षि दुर्वासा र उनको संवादको रूपमा आएको यस स्मृतिग्रन्थमा नौ अध्याय र २०० वटा श्लोक रहेका छन् । विशेषगरी मानिसको कर्तव्य र अकर्तव्यमा बढी जोड दिइएको यस स्मृतिग्रन्थले मानिसले के कस्तो काम गर्न हुन्छ र के कस्तो काम गर्न हुँदैन भन्ने कुराको सम्यक दिग्दर्शन गरेको मात्र छैन गर्न हुन्न भनिएको काम गर्नेको के कस्तो दुर्दशा हुन्छ र त्यसबाट मुक्त हुन उसले के कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरालाई समेत रामै्रसँग केलाउने काम गरेको छ ।
समाजमा शान्ति, सदाचार र सद्भाव कायम गरी सबैको हित र समुन्नति गर्नुलाई नै जीवनको एक मात्र उद्देश्य बनाएका नारायणले संसारलाई दिने काम त प्रशस्तै गरेका छन् तर संसारबाट आफैले भने केही पनि लिएका छैनन्, वा लिन चाहेका छैनन् । कदाचित लिहाले पनि दिनकै लागि लिएका छन् जे जति लिएका छन् त्यसमा कम्तीमा दशगुणा थपेर दिने गरेका छन् । यस्ता सर्वशक्ति र सर्वगुणले सम्पन्न नारायणका भौतिक स्वरूप त हामीले देखेका छैनौं तर आध्यात्मिकरूपले भने उनले अहिले पनि सर्वभूतको कँडकँडमा रहेर सारा संसारको प्रशासन गरिरहेका छन् ।
Advertisment
Advertisment