×

NMB BANK
NIC ASIA

मुलुकलाई बेहाल बनाउन को जिम्मेवार ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

त्यसैपनि बेहाल मुलुकको अवस्था बाढीपहिरोको प्रकोप र अत्यन्त खर्चिलो चुनावका कारण कताको जिली, कताको गाँठी जस्तै भएको छ । मुलुकको हालत वास्तवमै वर्णनातीत छ । सबै मौकामा चौका हान्ने दाउमा छन् ।

त्यसैले गर्दा राष्ट्रिय जीवनका हर क्षेत्र पथविमुख बन्दै गएका छन् । प्राकृतिक स्रोतसाधनले असल र ऊर्जाशील युवाहरूको बाहुल्य हुँदाहुँदै पनि केही वर्ष यतादेखि मुलुक निरन्तर ओरालो लाग्दै गएको छ ।

मुलुकको वर्तमान अवस्थालाई लिएर हरतिरबाट असन्तुष्टि व्यक्त भइरहेको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको बहाली भएको छ किन्तु जनसामान्यले भने आफ्ना धेरै प्रश्नहरूको जवाफ पाउन सकेका छैनन् । सर्वसाधारण जनता र मुलुकमा बहाल लोकतान्त्रिक गणतन्त्रबीच समानान्तर सम्बन्ध विकसित हुँदै जान थालेको छ । मुलुकका हर्ताकर्ताहरूमा इमान्दारी र जिम्मेवारीको भावना नभएपछि यस्तै हुन्छ ।

नेतृत्ववर्ग राष्ट्रिय प्राथमिकताबाट भन्दा वैयक्तिक स्वार्थबाट निर्देशित हुने गरेको छ । मुलुक र जनताको भाग्य र भविष्य निर्माण गर्ने कार्यमा नेतृत्वको सम्वेदनशीलता अनुभव हुँदैन । नेतृत्व वर्गमा आदेश निर्देशनकै भरमा राष्ट्र निर्माण हुने बाल सुलभ सोंच छ । सल्लाहकारहरूले तयार गरिदिने आदेश निर्देशनका बूँदा वाचन गर्दा पनि आफ्नो पदीय हैसियत सीमा र सामथ्र्य पटक्कै ख्याल नराखि विद्यमान स्रोत, साधन र व्यवस्थापन क्षमता उपर विचार नपुर्याई बडो लाउके बनेर आश्वासन दिन्छन् । भनिरहन परोइन, त्यस्ता आश्वासनहरू कार्यान्वयमा ल्याउन उनीहरूले कुनै रुची देखाउँदैनन् । नेताहरू आफू पानी माथिको ओभानो बन्न खोज्दछन् । मुलुक र जनताको सर्वोपरि हितमा दिलो ज्यान लगाएर कार्य सम्पादन गर्ने कोही छैनन् । सबै आ–आफ्नै निहित स्वार्थका पछि मात्र दौड लगाइरहेका छन् ।

मुलुक र जनताको भलाइका लागि हामी स्वयम् दृढ अठोटका साथ अगाडि बढ्नुपर्ने कुरामा कुनै सन्देह छैन । कुन कुरा अकाट्य सत्य हो भने हाम्रो मुलुक बनाउन अरु कोही आउँदैनन् । यस क्रममा सवैभन्दा पहिला राजनीतिक संक्रमण अन्त्य गर्ने दिशातिर हाम्रो गतिशीलता आवश्यक छ ।

धेरैले हाम्रो मुलुकलाई लम्बिँदो राजनीतिक अस्थिरता भएको सुन्दर मुलुक भन्ने गरेका छन् । वास्तवमा यो कथन विलकुल सही छ । लामो समयदेखि यो वा उ कारणले मुलक राजनीतिक अस्थिरतामा फस्दै आएको छ । यसैको फलतः मुलुकमा कुनै पनि कार्य निर्धारित समयमै सम्पन्न हुने गर्दैनन् । कुनै पनि निकाय वा पदाधीकारीहरूले आफ्नो जम्मेवारी समयमै पूरा गरेको एटा दृष्टान्त पाउन पनि गाह्रो छ ।

दुई वर्षमै बन्नु पर्ने संविधान ६ वर्षमा बन्दछ । हतार हतारमा अन्तिम समयमा कार्य सम्पादन गरिन्छ जसको गुणस्तर अत्यन्त कमसल हुन्छ । बढ्दो हस्थिरता र अन्योलले गर्दा सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा असुरक्षाको अनुभूति हुँदै गरेको अवस्था छ ।

राजनीतिक दलहरू आउँछन्, जान्छन् । समय क्रममा पार्टीहरूको अस्तित्व लोप हुन्छ, नयाँ पार्टीहरू को उदय पनि हुन्छ नै । पार्टीहरूको अस्तित्व समाप्त हुनु कुनै ठूलो कुरा होइन । पार्टीहरूले आफ्नो सान्दर्भिकता आफैंले बनाउने हो । देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर क्रियाशील रहने पार्टीहरू ऐतिहासिक सामग्रीमा रुपान्तरित हुँदैनन् । वर्तमान राजनीतिका जीवन्त यथार्थ बनिरहन्छन् । मूल कुरा मुलुकको अस्थित्व कसै गरे पनि संकटमा पर्नु हुँदैन । अहिले राजनीतिक दलहरूको क्रियाकलाप दृष्टिगत गर्दा चित्त बुझाउन सकिने ठाउँ छैन । राष्ट्रिय हितलाई पन्छाएर दलगत स्वार्थ सुनिश्चित गर्नेतिर अग्रसर देखिन्छन्, नेताहरू । दलहरू स्वयम नै विकृति, विसंगति, र विनासका सम्वाहक बनिरहेका छन् । नेतृत्व वर्गको वर्तमान गतिविधिले मुलुकको राम्रो भविष्यको संकेत अवश्य पनि गर्दैन । त्यस्ता दलहरू र तिनका नेता मुलुक र जनताको आवश्यकता कसरी हुन सक्दछन् र !

दलहरूबाट आम जन समुदायको हितमा कार्य सम्पादन हुन छाडेको छ । राजनीति पेशा वा व्यापारमा परिणत भए पछि सार्वजनिक हितको प्रश्न गौण बन्न पुग्नु अनौठो पनि होइन् । व्यावसायिक स्वार्थसँग गाँसिएका व्यापारीहरूको राजनीतिमा पदार्पण भएको छ । राजनीतिक दलहरूले नै रातो कार्पेट विछ्याएर व्यावसायीहरूलाई आ-आफ्ना दलमा भित्र्याएका हुन् । आफ्नो व्यावसायिक स्वार्थको सम्पोषण गर्न छाडेर त्यस्ता व्यापारीले आम जनसमुदायको हितमा काम गर्ने कुरै भएन । यस्तै कारणले गर्दा राजनीतिमा मूल्यहीनताले प्रशय पाउँदै गरेको छ । सार्वजनिक पदहरू राजनीतिक बढाबढमा पर्न थालेका छन् । तत्कालीन स्वार्थलाई ध्यानमा राखी दलहरूबीच गठबन्धन हुने गर्दछ । विचार, सिद्धान्त र आचरण पटक्कै मेल नखाने पार्टीहरूबीच पनि तालमेल भएको देखिन्छ । जोसँग पनि तालमेल गर्ने यही प्रवृत्तिका कारण पार्टीहरूले आफ्नो पहिचान गुमाउँदै गएका छन् ।

तत्कालीन सुविधालाई ध्यानमा राखेर हुने राजनीतिमा मूल्य मान्यताले प्रमुखता नपाउनु स्वाभाविकै हो । नेतृत्व वर्ग निहित स्वार्थ, सत्ता र शक्तिपछि बेलगाम दौडिने भए पछि राजनीति भएपछि राजनितिमा मूल्य मान्यताको एकाकार हुनै सक्दैन । लोकतान्त्रिक मूल्य मान्यताप्रति नेतृत्व वर्गको चरम उदासिनताले गर्दा लोकतान्त्रका जरा मजवुत हुन सकेका छैनन् । सत्ता, शक्ति र निहित स्वार्थ हावी भए पछि न्याय र नैतिताको उपेक्षा हुन अस्वभाविक होइन । राजनीतिक नेतृत्वमा शक्ति र सत्ता प्रति अदम्य मोह छ । आफ्नो दलगत हैसियत विपरित ठूलो माग खोज्ने गरिन्छ । राजनीति वास्तवमा कमाई खाने भाँडो भएको छ । न्यसैले गर्दा राजनीतिमा अपसंस्कृतको प्रवद्र्धन भइरहेको छ । मूल नीति कै यस्तो गति भएपनि अन्य नीतिहरूको अवस्था कस्तो होला ! भनिरहनु नपर्ला । सपनाहरू बाँडेर जनतालाई झुक्याउने र आफ्नो निहित स्वार्थपूर्ति धन्दा जारी छ — राजनीतिमा ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दुई वर्ष पुग्नै लाग्दा पनि मुलुक संक्रमणकालीन प्रबन्धबाट संचालन भइरहेको छ । लुटको धन फुपूको श्राद्ध भनेझैं राज्य कोषबाट आफ्ना कार्यकर्ताहरूलाई रकम वितरण गरिरहेका छन् । संक्रमणकालिन प्रबन्धको आड लिएर संविधानको भावना र मर्महरू उपर चरम बल्झन भइरहेको छ । बढ्दो मूल्यविहीनताका कारण राष्ट्रिय जीवनका साथै राजनीतिक दलहरूकै जीवनमा पनि अनेकौं समस्याहरू उद्घाटित भइरहेका छन् । यी समस्याहरूको निरुपणका खातिर प्रमुख दलहरूबीच समवेन प्रयत्नको खाँचो नरहेको होइन् किन्तु प्रमुख दलहरूले नै एक अर्कासँग छत्तिसको सम्बन्ध बनाएका छन् । नेतृत्व वर्गकै चरित्र अराजनीतिक छ । एक अर्का उपर शव्द वाणको वर्षा गर्न पनि पछि हट्दैनन् शीर्ष पंक्तिकै नेताहरू । राजनीतिक दलहरूको आन्तरिक जीवन गुट, उपगुट, ग्रस्त छ । आफ्नो गुटका नेता कार्यकर्ताले अवसर नपाएको अवस्थामा अर्को गुटका नेता कार्यकर्ताले सहजै घात गर्छन् ।

बहुदलीय व्यवस्थामा राष्ट्रिय राजनीतिकका सारथी अवश्य पनि राजनीितक दलहरू नै हुन् । यस कुरामा कुनै शंका गर्न मिल्दैन पनि । तर दुर्भाग्यको कुरा के हो भने हाम्रा धेरैजसो राजनीतिक दलहरू त्यति व्यवस्थित, संगठित र एकतावद्ध छैनन् । दलहरू स्वाभाविक ढंगले सञ्चालन भइरहेका देखिँदैनन् । राजनीतिक दलहरू समाजलाई जोड्ने कडी नभएर सामाजिक विभाजनमा सशक्त आधार बनिरहेका छन् । दिशाहीन पार्टीहरूले सिंगो मुलुकलाई सही दिशामा अगाडि बढाउने अपेक्षा गर्न पनि मिल्दैन । आफ्नै दलालाई सुसङ्गठित, व्यवस्थित र उकतावद्ध गर्न असफल नेताका हातमा सत्ताको नेतृत्व पुगेपछि मुलुकको नियति आँखा नदेख्नेले अरुलाई डो-याएको जस्तै हुनु आश्चर्यको कुरा होइन् । आन्तरिक विभाजन र गुट उपगुटको अस्वस्थ खेलले थला परेका पार्टीहरूबाट कुशलतापूर्वक राज्य सञ्चालन गर्नै नसक्ने निश्चित छ ।

नेतृत्व वर्गमा अन्तर्निहित अदम्य सत्ता र शक्ति लिप्साका कारण परिवर्तनको व्यवस्थापन गर्न र मुलुकको सामाजिक, आर्थिक विकासलाई गति दिन राजनीतिक दलहरू सफल हुन सकिरहेका छैनन् । संगठित जन परिचालनको पक्ष पनि नितान्त कमजोर छ ।

पार्टीले आयोजना गरेका आम सभामा जन समूह जुटाउन लाखौं रुपैयाँ खर्च गर्नु परेको फेहरिस्त सार्वजनिक हुन्छ । राजनीति निहित स्वार्थ र लेनदेनमा आधारित हुँदै गएको छ । मन्त्रीहरू आफ्नै मन्त्रालय मातहत कर्मचारीको सरुवा बढुवामा रकम कलमबाट प्रभावित हुने गर्दछन् ।

यो भन्दा घटिया कुरा अरु के हुन सक्दछ ? नेतृत्व वर्गको यस्तै आचरणका कारण राष्ट्रिय राजनीति सिद्धान्त, मुल्य, मान्यता र आदर्शको मार्गबाट विमुख भइसकेको छ । मुलुकको मूल नीति स्वयम प्रदूषित भइसकेपछि अन्य क्षेत्रको अवस्था कहालीलाग्दो हुनु कुनै नौलो कुरा होइन । मुलुकमा अब त हाकाहाकी भ्रष्टाचार हुन थालेको छ । आर्थिक अपचलनका ठूला ठूला घटनाहरू भइरहेका छन् ।

बडो अचम्मको कुरा के छ भने भ्रष्ट व्यक्तिहकै स्वर चर्को हुने र उनीहरू छाती फुकाएर हिँड्ने अवस्था छ । अर्वौ अर्व रुपैयाँका घोटला हुँदा पनि सबैतिर विचित्र लाग्दो मौनता देखिन्छ । जसले विकराल भ्रष्टाचारको घटना उजागर गर्दछ । उनी हास्यको पात्र बनिरहेको हुन्छ । भ्रष्ट्राचार विरुद्ध न राजनीतिक दलहरू, न नागरिक समाज, न त बौद्धिक जगत कतैतिरबाट पनि सशक्त आवाज उठ्दैन । मुलुकमा केही समय यता श्रृङ्खलाबद्ध रुपमा भयावह घोटलाहरू भएका छन् । तर कोही पनि बोल्दैनन् । समयान्तरमा त्यस्ता घटनाहरू त्यत्तिकै सेलाउँदै गएका छन् । भ्रष्टाचार अव महारोग नभएर संस्कृतिकै रुपमा विकसित भइरहेको छ । नेताहरूले भ्रष्टाचार मुक्त अभियानलाई चुनावी एजेण्डा बनाउने हास्यास्पद कुरा गर्दछन् । यो प्रवृत्तिले मुलुकको डरलाग्दो भविष्यको संकेत गर्दछ ।

राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि दलका नेताहरूले आफ्नो भाषणमा उठाउने विषयमा मात्र सिमित भएका छन् । राष्ट्रिय विकासलाई नेताहरूले थेगो मात्र बनाउने गरेका छन् । राजनीति मुल्य, मान्यता र खेलका नियमबाट सञ्चालित छैन ।

हाम्रा नेताहरूले न सत्तामा पुग्न र टिकिरहन नेताहरू अन्य कसैको आशिर्वाद पाउनका लागि उछलकुद गरिरहेका हुन्छन् । नेताहरू न जनतामा आधारित राजनीति गर्दन् न जनमुखि आचरण नै । चुनावमा अन्धाधुन्द पैसा खर्च गर्ने प्रवृत्ति बढ्दो छ । सत्तामा जान नेतृत्वबीच सदैब हानथाप हुने गर्दछ । सत्ता नै राजनीतिको एक मात्र अन्तिम सत्य हो भने जस्तै गरिन्छ । त्यसैले नेतृतवको मानस सदैब अस्थिर रहने गर्दछ । त्यस्तै नेताहरूका कारण राजनीति सदा सर्वदा अस्थिर रहने गरेको तथ्य स्पष्ट छ ।

नीति, योजना र कार्यक्रम राजनीतिक दलका नेताहरूले निकै उच्चारण गरिरहने शव्दावली हुन् । तर व्यवहारमा भने राजनीतिक दलहरू नीति, योजना र कार्यक्रमबाट निकै टाढा पुगी बिल्कुलै  तत्कालीन स्वार्थबाट निर्देशित देखिन्छ । पार्टी भित्रै काखा र पाखाको व्यवहार भइरहेको स्पष्ट अनुभव गर्न सकिन्छ । विधि र पद्धतिअनुसार पार्टीहरूलाई व्यवस्थित तुल्याउनभन्दा आफ्नो गुटलाई बलियो बनाउन नेतृत्वको ध्यान केन्द्रित हुने गरेको देखिन्छ । सिंगो पार्टीलाई बलियो बनाउने सोच देखिँदैन । नेतामुखी र लहडका भरमा तदर्थवादी शैलीमा सञ्चालित पार्टीहरूबाट लोकतन्त्रको स्वास्थ्य रक्षा हुने मुलुकमा सामाजिक आर्थिक विकासले गति लिने र जनताको जीवन स्तरमा सकरात्मक सुधार आउने आशा गर्न सकिँदैन ।

(रेग्मी नेपाल सरकारका पूर्व सचिव हुन्)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x