×

NMB BANK
NIC ASIA

‘धनपति’की नायिका सुरक्षा पन्त : व्यक्ति एक, प्रतिभा अनेक

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १६ माघ-सुटिङको तयारीमा रहेको चलचित्र ‘धनपति’की नायिका सुरक्षा पन्त सरल व्यवहार, दृढ आत्मविश्वास र फराकिला सपनाहरूको आभामा छरिएकी झैं लाग्छिन् ।

टेलिभिजन प्रस्तोता, कवि, स्केच कलाकार र अभिनेत्रीका दायरामा उनले आफूलाई फिँजारेकी छिन् । झट्ट हेर्दा उनी व्यावसायिक अभिनेत्री हुन् भन्ने पनि लाग्दैन । तर उनका ओजिला कुराहरूले उनको सुन्दर सोच झल्काउँछ ।
उनलाई इन्जिनियर पनि बन्नु छ अनि कलाकार पनि ।

दुई वर्षअघि आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’ मा अभिनय गरेपछि उनलाई केही चलचित्रबाट अभिनयका लागि प्रस्ताव आयो । तर उनलाई चलचित्रमा अभिनय गर्ने रुचि खासै लागेन ।

विद्यालय तहमा पढाइमा अब्बल पन्त बुटवलको न्यु होराइजन स्कूलमा पढ्दा प्रायः प्रथम हुन्थिन् । पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उनी सधैं अगाडि हुन्थिन् । स्कूलमा कार्यक्रम सञ्चालन गर्नु, गेम खेल्नु, स्केच गर्नु उनका लागि रुचिका विषय थिए ।

‘शायद मैले विद्यालयमा सिकेका सीपले अहिलेको सिकाइलाई सहज बनाइरहेका छन्,’ आँखा छोप्नै लागेको कपाल कानपछाडि घुसार्दै सुरक्षा भन्छिन्, ‘परिवारले मलाई डाक्टर या इन्जिनियर बनाउन चाहन्थ्यो । तर मेरो मनले सधै मिडिया क्षेत्र रोज्नका लागि कर गरिरहेको हुन्थ्यो ।’

तर मन मारेर भएपनि उनलाई परिवारको चाहना पूरा गर्नु थियो । त्यसैले उनले इन्जिनियरिङ पढ्न थालिन् । ‘डाक्टरी पढ्नुभन्दा बरू इन्जिनियरिङ पढ्यो भने आफ्नो सृजनशील खुबीलाई कतै अभिव्यक्त गर्न सकिन्छ कि भन्ने लागेर इन्जिनियरिङ पढें,’ उनी बताउँछिन् ।
जे पढेपनि उनको मनमा मिडियाप्रतिको लगाव तीव्र थियो । त्यसैले उनी मिडियामा आउन ठूलो रहर गर्थिन् । काठमाडौं टेकेपछि होस्टेलमा बसेर इन्जिनियरिङ पढ्ने ध्याउन्नमा लागिन् । तर उनको रहर र पढाइको यात्रा कतै नमिलेको हो कि भन्ने उनलाई लाग्न थाल्यो ।
सुरक्षालाई कविता फुराउन, स्केच बनाउन, फिल्म हेर्न र अभिनेताको नक्कल गर्नमा रुचि थियो । ‘इन्जिनियरिङ पढ्ने हो । सधै उही कुरा रट्ने बाहेक केही नयाँपन छैन । अनुभव नभए पढेको आधारमा मात्र फिल्डमा गएर जागिर गर्न पनि सकिन्न,’ स्नातक तह सिध्याइसकेकी सुरक्षा पढाइप्रति रोष प्रकट गर्दै थप्छिन्, ‘कुनै दिन म इन्जिनियरिङ छोड्न पनि सक्छु ।’

काठमाडौंको होस्टेलको बसाइँ । इन्जिनियरिङको पढाइ । छरिएका सपनाहरूलाई जम्मा गर्दागर्दै उनको समय बितिरहेको हुन्थ्यो । एसएलसीको रिजल्टमा विद्यालयमा छात्रातर्फ प्रथम बनेकी पन्तको प्लस दुईको मार्कशीट पनि राम्रा अंकहरूले भरिए । त्यसै आधारमा हेर्दा चाहिँ स्नातकको मार्कशीटमा उनले आफूलाई ‘टप’ भित्र राख्न सकिनन् । मध्यममा पो झरिन् । ‘पढाइमा भन्दा पनि म मिडियामा आकर्षित भएँ । त्यसबेलामा मलाई लभ लाइफ, परिवार तथा करिअरलाई लिएर अलिक बढी नै चिन्ता भएको थियो,’ उनी मुस्कुराउँदै भन्छिन् ।

बर्सेनि इमेज च्यानलले ‘इमेज भिजे हण्ट’ प्रतिस्पर्धाका आधारमा टिभीको कार्यक्रम प्रस्तोता (भिजे) चयन गर्थ्यो । उनले पनि आफ्नो सपना पूरा गर्ने उद्देश्यले प्रतियोगितामा भाग लिइन् किनकि उनलाई आफूसँग कला छ भन्ने कुरामा विश्वास बढिसकेको थियो ।

‘इमेज भिजे हण्ट’ को शीर्ष तीनमा पुगेपछि उनी बाहिरिइन् । आफूले शो छोड्नुको कारण स्पष्ट पार्दै उनी भन्छिन्, ‘टप तीन मा पुगेपछि उहाँहरूले मसँग फुल टाइम माग्नुभयो । तर त्यतिखेर मेरो इन्जिनियरिङको पढाइ चलिरहेको थियो । समय मिलाउन गाह्रो भयो ।’

लगत्तै उनलाई सगरमाथा टेलिभिजनले कार्यक्रम सञ्चालनको प्रस्ताव ग–यो । केही वर्ष त्यही च्यानलमा रहेर कार्यक्रम चलाइन् । ‘फोन इन कार्यक्रम थियो । ती कार्यक्रमले नै मेरो व्यक्तित्व विकास गर्न सहज बनायो,’ उनी थप्छिन्, ‘पछि मैले ‘इमेज भिजे हन्ट’ चलाउँदा आलोक नेम्वाङ दाइले चलचित्र ‘अझै पनि’का लागि अफर गर्नुभयो । रहरले नै मैले पहिलो चलचित्रमा अभिनय गरें ।’

आलोक नेम्वाङले उनलाई भनेका रहेछन्, ‘सधैं नेपाली चलचित्र राम्रा बनेनन् भनेर विरोध मात्र गर्छौ । एकपटक चलचित्रमा काम गरिहेर न, कस्तो हुने रहेछ ?’
आफूले चलचित्रका लागि ब्रेक पाएको महसूस भयो उनलाई । चलचित्रमा क्षेत्रमा त आइन्, तर उनलाई चलचित्र दुनियाँ आफ्ना लागि सुहाउँदो क्षेत्र लागेन ।

‘म अभिनयका लागि आउँदा जुन जोश थियो, त्यो एक्कासि सेलायो । केही पैसा लगानी गर्दैमा राम्रो कलाकार भइन्छ भन्ने सोच भएका कलाकारको बिगबिगी रहेछ । अफवाह धेरै फैलिने रहेछ,’ चिसो हुनै लागेको चिया सुरुप्प पार्दै उनले सुनाइन् ।

काठमाडौंले उनलाई अझ जिम्मेवार बनाइदियो । उता घरबाट बिहेको दबाब जोडतोडका साथ आउन थालेको थियो । त्यस अवस्थालाई स्मृतिको कुनाबाट झिकेर जस्ताको तस्तै पस्कँदै उनी भन्छिन्, ‘एकातिर आफ्ना सपना छन्, अर्कोतिर घरबाट बिहेको दबाब छ । परिवार छोड्ने कि करिअर छोड्ने भन्ने स्थिति नै आयो भन्या ।’ उनले विवाहबारे भनिन्, 'मैले हुन्छ मात्र भन्नुपर्छ केटा त लाइन लागेर अाउँछन् ।'

अन्ततः उनले आफ्नो युवाहठलाई छोडिनन् । ‘समाजले डाक्टर र इन्जिनियर पढ्न नसकेका मानिस मिडियामा आउँछन् भन्ने सोच्छ । तर मिडियामा आउन नसक्ने डाक्टर इन्जिनियर बन्छन् झैं लाग्छ मलाई त,’ उनी थप्छिन्, ‘हाम्रो समाजको डिजाइन नै गलत छ के । कलाकारिता त्यति सहज छैन नि ।’

आफ्नो पढाइ र कलाकारितालाई सँगसँगै लैजाने ध्याउन्न छ उनको । कहिलेकाहीँ आफूले लेखेका कविताको भावमा हराउने पन्त चलचित्र ‘अझै पनि’ पछि आफूलाई चित्त नबुझेर नै फिल्ममा नआएको बताउँछिन् । यद्यपि ‘धनपति’ उनको दोस्रो चलचित्र भने होइन ।

पन्तको दोस्रो चलचित्र ‘सुस्केरा’ को भर्खरै छायांकन सकिएको छ । नेपाली चलचित्रको धारभन्दा भिन्दै रहेको चलचित्रमा आफूले काम गरेको उनी बताउँछिन् । ‘धनपति’बाट जस्तै ‘सुस्केरा’बाट पनि म साँच्चिकै आशावादी छु । चलचित्र कलात्मक बनेको छ । प्रेमलाई पृथक् रूपमा प्रस्तुत गरिएको छ ।’
नेपाली चलचित्रको माहोल अझै राम्रो बनिसकेको छ भन्ने उनलाई लाग्दैन । पृथक् खालका चलचित्र नेपाली दर्शकले नरुचाएपनि यस्ता चलचित्र बन्नुपर्छ भन्ने लाग्छ सुरक्षालाई । ‘नेपाली दर्शक आर्ट फिल्मभन्दा मसालेदार फिल्ममा आर्कषित हुनुहुन्छ । तर आर्ट फिल्म बन्नुपर्छ अनि हेरिनुपर्छ,’ उनी भन्छिन् ।

युवावस्थामा उनीसँग के गर्ने भन्ने कुनै योजना थिएन । इन्जिनियरिङ त पढ्दै थिइन्, तर उनी आफंैले पढेको विषयमा खुशी थिइनन् । परिवारको खुशीका लागि पढेको विषयले उनलाई त्यति धेरै खुशी दिन सक्ने कुरा पनि भएन ।

अहिले भने उनले आफ्नो जिन्दगीको यात्राको सुन्दर स्केच बनाएकी छिन् । अहिले परिवारको पनि साथ पाएकी छिन् । अलमलमा अल्झिने उमेर पनि बिस्तारै पार हुँदै गयो । उनी भन्छिन्, ‘अहिले जिन्दगीको आफ्नै योजना बनेको छ । इन्जिनियरिङमा मास्टर्स गर्छु । त्यसपछि इन्जिनियर नै बन्छु भन्ने छैन । फरकखालको कुनै प्रोजेक्ट गर्छु । अभिनयलाई त जिन्दगीभर छोड्दिनँ ।’

तस्वीरः अशोक महर्जन

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x