प्रहरी भन्छ - विप्लव कार्यकर्तामाथि फायरिङ भ्रम मात्रै

प्रतीकात्मक तस्वीर
बैशाख २, २०७६

धनगढी- कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ खरुवाखेरामा सोमवार दिउँसो प्रहरीले हवाई फायर गरेको भन्ने कुरा भ्रम मात्रै रहेको प्रहरीले ठोकुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक आभूषण तिम्सिनाले निराधार हल्ला फिजाइएपछि वास्ताविकता बारे बुझ्न आफू घटनास्थलमा पुगेको बताए ।

प्रहरीलाई गोली ठोक्न आदेश नभएको बताउँदै प्रहरी उपरिक्षक तिम्सिनाले भने, ‘पहिलो कुरा त प्रहरीलाई गोली ठोक्न आदेशै छैन । गोली ठोकीहालेमा घुंडामुनी गोली हान्ने हो । यो हल्ला मात्रै हो ।’


ADVERTISEMENT

कैलारी गाउँपालिका वडा नं. ६ का वडा सदस्य तथा खरुवाखेराका स्थानीय महावीर चौधरीले गोली चलेको बारे आफूहरूलाई थाहा नभएको बताए । जबरजस्ती गोली चल्यो भनेर स्थानीयमा आतंक सिर्जना गर्ने काम भएको उनको भनाइ छ ।

उता, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कैलाली जिल्ला जनसरकार प्रमुख करन थारुले दिउँसो २ बजेतिर प्रहरीले गोली फायर गरेको दाबी गरे । लोकान्तरलाई प्रतिक्रिया दिँदै उनले विप्लव कार्यकर्ताको आशंकामा प्रहरीले दिउँसोको समयमा खेतमा गहुँ काटिरहेका स्थानीय केही यूवाहरुमाथि गोली चलाएको आरोप लगाए ।

प्रहरीले घटनालाई ढाकछोप गर्न लागेको जिकिर गर्दै उनले जनतालाई आतंकित गर्ने कार्य नरोकिए प्रशासनविरुद्ध कडा जवाफ दिने चेतावनी समेत दिए ।

 

बैशाख २, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस