कोरोना संकट : यसरी उकास्न सकिन्छ नेपालको अर्थतन्त्र

परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लोकान्तरकर्मी देवकोटा आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि त्यसको रोकथाम र न्यूनीकरणका लागि सबैभन्दा उत्तम विकल्पका रूपमा लकडाउनलाई लिइएको छ ।

लकडाउनका कारण विश्व अर्थतन्त्रको अवस्था नाजुक बन्न पुगेको छ ।


Advertisement

नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । झण्डै ३ महिना लामो लकडाउनका कारण यतिखेर मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ भने स्वास्थ्य क्षेत्र पनि निकै नै प्रभावित भएको छ ।

मानिसको आवातजावत, आपूर्ति व्यवस्था, ढुवानी लगायतका काम ठप्प भएका छन् । सेवा क्षेत्रअन्तर्गत होटल, पर्यटन लगायतमा ठूलो असर पारेको छ । 


Advertisement

महामारीका कारण निर्माण क्षेत्रमा पनि ठूलो असर पर्न गएको छ । निर्माण सामग्री र कच्चा पदार्थहरू बाह्य मुलुकबाट आयात गर्नुपर्ने हुँदा समयमा नआउने वा उत्पादन नै बन्द हुने जस्ता समस्या देखिएका छन् ।

नेपालमा उद्योगधन्दामा पनि भौतिक दूरी कायम राख्नुपर्ने लगायत कारणले करीब–करीब ७५–८० दिन बन्दको स्थितिमा पुगे । जसका कारण अर्थतन्त्रका हरेक क्षेत्रमा ठूलो असर पुग्यो । परिणामस्वरूप उत्पादन घट्न पुगेको छ ।

कुनै कार्यालयमा काम गर्ने वा स्वरोजगार भएका धेरै नागरिकले रोजगार गुमाउनुपरेको अवस्था छ । कतिपय आफ्नो उद्योग व्यवसाय ठप्प भएर बेरोजगार बन्नुपरेको अवस्था छ ।

मानिसको दैनिक गुजारा गर्ने माध्यममा महामारीले प्रत्यक्ष रूपमा असर गरेको छ । जसका कारण बजारमा उत्पादित वस्तुको खपत हुन सकेको छैन ।

विशेषगरी किसानले उत्पादन गरेका वस्तुहरू खपत नहुने, नष्ट हुने र खपत भएका वस्तुको मूल्यमा पनि सन्तुलन नहुने समस्या देखिएको छ ।

उद्योगलाई पनि विदेशबाट कच्चा पदार्थ ल्याउनुपर्ने हुँदा समयमा कच्चा पदार्थ नआइपुग्ने लगायतका समस्याहरू पर्दै आएका छन् । यसकारण पनि उत्पादन क्षेत्रमा ठूलो असर परेको छ ।

कोरोना महामारीका कारण सबैभन्दा ठूलो असर सेवा क्षेत्रमा परेको देखिन्छ । हवाइ क्षेत्रमा उडान भएको छैन भने पर्यटन क्षेत्र, यातायात क्षेत्रमा यसले ठूलो असर परेको छ ।

बैंकिङ क्षेत्रमा पनि आफूले गरेको लगानी नउठेर समस्या परेको छ । शेयर बजारको पनि हालत नाजुक अवस्थामा नै पुगेको छ । यसरी अर्थतन्त्र नै एकदम अप्ठ्यारो अवस्थामा पुगेको छ । 

क्षतिको आकलन नै असहज

नेपालले गत वैशाख मसान्तसम्म करीब–करीब १ खर्ब ३१ अर्बजति नोक्सानी व्यहोरिसकेको भन्ने केन्द्रीय तथ्यांक तथ्यांक विभागले सार्वजनिक गरेको छ तर अहिले नेपालको नोक्सानी कति पुग्यो भन्ने तथ्यांक कुनै पनि निकायले आकलन गर्न सकेको अवस्था छैन र आकलन गर्न शुरू पनि गरेको छैन ।

यसरी हाम्रो जस्तो कमजोर अर्थतन्त्र, पुँजीगतभन्दा चालू खर्च धेरै भएको, पुँजीगत खर्चका लागि पनि हामीले ऋण लिनुपर्ने अवस्थामा रहेको मुलुक अहिले अप्ठ्यारो अवस्थामा पुगेको छ ।

नेपालमा मुख्यतः अन्तर्राष्ट्रिय व्यापार, पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्रा, विप्रेषण (रेमिट्यान्स) बाट आउने विदेशी मुद्रा, ऋण तथा अनुदानबाट आउने विदेशी मुद्रा यी ४ वटा विदेशी मुद्राका स्रोतबाट आर्जन हुन्छ । ती स्रोतहरू सुकेका छन् । अझै भनौं, कमजोर भएका छन् । यसले गर्दा भविष्यमा हामीले पहिले लिएको ऋणको सावाँ ब्याज तिर्न पनि अहिले ऋण लिनुपर्ने अवस्था यही हिसाबले आउन सक्ने देखिन्छ ।

लकडाउनका कारण सामाजिक क्षेत्र, सेवा प्रवाह क्षेत्र, पूर्वाधार निर्माण, उत्पादन तथा खपत क्षेत्र, आपूर्ति क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रमा लगायत सबै क्षेत्रमा असर परेको छ । समग्र रूपमा नेपालको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा नराम्ररी असर पर्न गएको छ । 

यसबाट कसरी अगाडि बढ्ने ?

कोरोना भाइरस संसारकै समस्या हो, नेपालको मात्रै होइन । यसबाट अगाडि बढ्नलाई २/३ वटा उपायहरू अपनाउनुपर्ने हुन्छ ।

पहिलो उपाय संक्रमणलाई रोक्ने र संक्रमण भएकालाई उपचार गर्ने सिर्जनशील तरिकाले जानुपर्ने हुन्छ ।

सम्पन्न मुलुकहरू र आर्थिक क्षेत्र चलायमान राख्न सक्ने मुलुकहरूको अनुशरण गर्नुभन्दा हाम्रो परिवेश, हाम्रो छरिएको बस्ती, औद्योगिकीकरण नभएको समाजमा त्यहीँ हिसाबले हामीले आफ्नो सिर्जनशील उपायले जानुपथ्र्यो तर सरकार शुरूदेखि नै त्यसरी अगाडि बढ्न सकेन । सरकारले अरूको अनुशरण गर्दा हाम्रो अर्थतन्त्रमा धेरै नै आहत पुग्न गयो । संक्रमण रोक्ने उपायहरू सिर्जनशील तरिकाले चेतना बढाएर गर्नुपर्ने हुन्छ । 

संक्रमित व्यक्तिको उपचार पनि स्वास्थ्य पूर्वाधारको पर्याप्तता नभएको कारणले गर्दा त्यसमा पनि सिर्जनशील उपायहरू अपनाउनुपर्ने हुन्छ ।

व्यक्तिहरूको ज्यान पनि जोखिममा नजाने र राज्यको साधनस्रोतले पनि ध्याउने हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ । उदाहरणका लागि, कोरोना संक्रमण पनि भयो तर स्वास्थ्य अवस्था जटिल छैन भने घरमै एकान्तबास (क्वारेन्टीन) मा राख्ने वा आइसोलेसनमा राख्ने । संक्रमितको अवस्था जब गम्भीर हुन्छ वा हुन सक्छ तब मात्रै अस्पतालमा पुर्‍याउने  मोडल अपनाउनुपर्ने हुन्छ । 

अर्को उपाय भनेको राहत कार्यक्रम हो । चाहे दैनिक ज्यालादारी मजदुरी गरेर खानेहरू हुन्, चाहे निजी क्षेत्रमा रोजगारी गरेर अहिले रोजगारी गुमाएकाहरू हुन्, चाहे आफ्नो पसिना, धनसम्पत्ति लगानी गरेर साना तथा मझौला उद्योग तथा व्यवसाय गर्नेहरू हुन् अथवा बैंकको ऋण लिएर उत्पादन बढाएर राज्यलाई कर तिरेका उद्यमीहरू हुन् । यी सबैमा अहिले आहत भएको छ ।

सबै क्षेत्रका लागि सरकारले राहत सिर्जना गर्न सक्नुपर्छ । गरीब वर्गका करीब ५ लाख परिवारलाई आगामी ३ महिनासम्म परिवारको आकारअनुसार कम्तिमा ५ हजारदेखि १५ हजारसम्मको राहत दिन सक्यो भने ती परिवारलाई दिन करीब ५ अर्ब मात्रै खर्च हुन्छ ।

१५ अर्ब चाहिँ हामीले ३ महिनामा खर्च गर्ने र राहत पनि निर्ब्याजी ऋण २ वर्षपछि त्यहीँ परिवारले कमाइ गर्न थालेपछि मासिक रूपमा स्थानीय सरकारलाई चुक्ता गर्ने शर्तमा आवश्यकता हेरी अहिले निर्ब्याजी ऋण उपलब्ध गराउन सकिन्छ । यसो भएमा उपभोक्ताको हातमा नगद हुन्छ । उपभोक्ताले नगद खर्च गर्छन्, विद्यालयको शुल्क होला, विद्युत् महशुल होला, तरकारी, फलफूल, लत्ताकपडाजस्ता वस्तुमा खर्च गर्छन् ।

यसो हुँदा नगद प्रवाह हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ । 

यसले सरकारको राजस्व पनि बिस्तारै बढ्दै जान्छ भने अर्कातिर उनीहरू भोकभोकै मर्नुपर्ने अवस्था पनि रहन्न । यसो हुँदा सामाजिक र राजनीतिक सन्तुलन पनि कायम रहन्छ । उद्यमी गरेका वर्गहरू, सबैजसो निजी क्षेत्रलाई कर तिर्ने प्रावधानमा सहज बनाउने, उनीहरूले किस्ताको ऋण तिर्ने प्रावधानमा सहज बनाउने वा पछि तिर्ने व्यवस्था गरिदिने र कर्मचारीलाई तलब दिने कुरामा सहजीकरण गरेमा राहतको महसूस हुन्छ । 

यस्तै युवा वर्गलाई रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने हुन्छ । कृषिमा अनुदान, मल बिउ दिने जस्ता काम मात्र गरेर हुँदैन आधुनिक प्रविधि, आधुनिक सीपजस्ता कुराहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ । उत्पादनलाई बीमा गरेर बजारको सुनिश्चित गरी निजी क्षेत्र र किसानको समूहसहित स्थानीय सरकार मिलेर बजारको व्यवस्था गर्न सक्नुपर्छ । यसो गर्दा ठूलो मात्रामा रोजगारीको सिर्जना हुन जान्छ । 

अर्को महत्त्वपूर्ण कुरा भनेको निर्माण हो । अहिले अधुरा रहेका योजनामा बेरोजगार युवाहरू, उपभोक्ता समूह र स्थानीय सरकारले समन्वय गरेर काम गराउन सकेमा युवाको ५–६ महिनाको रोजगारी सुनिश्चित हुन्छ । यसो हुँदा युवाहरू विदेश पनि जाँदैनन्, मासिक ज्यालादारीको रूपमा काम गराउन सक्नुपर्छ ।

लगानीमा वृद्धि

सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानालाई पनि राहत दिएर अहिले महामारीका समयमा जोगाउन सक्नुपर्छ । आगामी दिनमा उद्योगको लगानीमा वृद्धि गर्न सरकारले लगानीको वातावरण सिर्जना गर्न सक्नुपर्छ । जसका लागि सरकारले थप सहुलियतको व्यवस्था गर्नुपर्छ । उद्योगमा लगानी वृद्धि भएसँगै रोजगारीमा पनि वृद्धि हुन जान्छ । 

स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका सेवा क्षेत्रमा जहाँ–जहाँ सम्भव छ, सरकारले त्यहाँ लगानी गर्नुपर्छ । यसले पनि ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्छ ।

प्रविधिमा लगानी

अहिलेको समय प्रविधिको समय हो । सरकारले प्रविधिमा लगानी गरी शिक्षित युवालाई रोजगारीको दायरामा ल्याउन सक्नुपर्छ । यसका लागि छुट्टै क्षेत्र मानेर यसको विकासमा सरकारले ध्यान दिनुपर्छ । हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाए क्षमता वृद्धि, उत्पादन वृद्धि तथा समयको बचत हुन जान्छ । 

क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन

सरकारले व्यापक रूपमा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्छ । बजार मागलाई मध्यनजर गर्दै युवालाई क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै रोजगारीमा पनि वृद्धि हुन्छ । 

नीति तथा संरचनागत सुधार

विगतको १० वर्षे द्वन्द्वमा अर्थतन्त्रमा परेको असरजस्तै असर अहिले कोरोना भाइरसका कारण २ महिनामा पर्न गएको छ । यसको मतलब अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ ।

सरकारले २ वर्षमा अर्थतन्त्रलाई बलियो हुने केही काम गर्न सकेन । सरकारको २ वर्षको अनुभवअनुसार अर्थतन्त्रलाई बलियो बनाउनका निम्ति नीतिगत परिवर्तन, संरचनागत सुधारजस्ता कामहरू सरकारले गर्नुपर्छ ।

यति गरेमा आगामी दिनमा अर्थतन्त्रलाई फेरि चलायमान बनाउन सक्छौं ।

स्थानीय सरकारको भूमिका

स्थानीय सरकारले स्थानीय स्तरमा राहत सिर्जनशील तरिकाले बाँड्नुपर्ने देखिन्छ । योजना तथा कार्यक्रममा उपभोक्ता र बेरोजगार युवाको सहभागितामा तय गर्नुपर्छ । कृषिमा बीमा, बजार र आवश्यक पूर्वाधारको सुधार गर्नुपर्छ । ग्रामीण भेगमा स्वास्थ्य र शिक्षाको अवस्था सुधार्नुपर्छ, तब मात्रै युवा गाउँमा बसेर कृषिमा संलग्न हुन्छन् । 

सरकार र निजी क्षेत्रबीच सहकार्य 

निजी क्षेत्रले आपूर्ति व्यवस्थापनमा सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ । निजी क्षेत्रसँग पनि सरकारले लकडाउनका बेलामा कस्ता उपाय अपनाएर निजी व्यवसायलाई बचाउने जस्ता कुरामा ध्यान दिनुपर्छ । 

विदेशबाट जाँगर बोकेर आएका युवाको प्रयोग गरेर निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । यसका लागि सरकारले पनि वातावरण तय गर्ने, पुँजीको व्यवस्थापन गर्ने लगायतका काम गर्नुपर्छ ।

अन्त्यमा, अन्य मुलुकबाट सरकारले पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । छरिएर रहेका बस्तीमा लकडाउन गरिरहन जरूरी छैन । यस्ता बस्तीमा विद्यालय पनि सञ्चालनमा ल्याउन सकिन्छ । यद्यपी घनाबस्ती रहेका ठाउँमा अनलाइन प्रविधिमार्फत शिक्षा दिनुपर्छ । सार्वजनिक यातायातमा ५० प्रतिशत मात्रै यात्रु राख्ने व्यवस्था गरी सरकारले यस्ता यातायात पनि सञ्चालनमा ल्याउन सक्दछ । 

समग्रमा कोरोना भाइरसले शिथिल बनाएको अर्थतन्त्रलाई चलायमान बनाउन र पुनः उचाइमा पुर्‍याउनका निम्ति सरकार, निजी क्षेत्र तथा हामी सबैको भूमिका महत्त्वपूर्ण रहेको छ । 

(लोकान्तरकर्मी परिवर्तन देवकोटाले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलसँग गरेको कुराकानीमा आधारित)

परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्