गत सोमवार पशुपतिनाथको दर्शन गर्न जाँदै थिएँ । मन्दिरको दक्षिणी द्वारमा (शङ्कराचार्य मठनजिक) मानिसको ठूलै भीड देखिएकाले नजर त्यतातिर तानिए ।
भीड निकै आक्रोशित थियो भने नजिकै रहेको प्रहरी बीटकी बहिनी सबैलाई सम्झाई बुझाई गर्दै तितरवितर गर्ने प्रयास गर्दैै थिइन् । बुझ्दै जाँदा थाहा भयो एकजना सज्जन पशुपतिनाथभन्दा इशु ठूला देवता हुन् भन्दै बाइबलको प्रचार गर्दै हिँडिरहेका रहेछन् र भीड त्यसैको विरोधमा जम्मा भएको रहेछ । यो आफैलाई प्रत्यक्ष दृष्टिगोचर भएको धर्मपरिवर्तनको एउटा घटना हो ।
त्यस्तै यससम्बन्धी अर्को घटना पनि कम्ती मार्मिक छैन । कुरो आफ्नै छिमेकी गाउँको हो, जहाँ क्रिस्चियन मिसनरीद्वारा सञ्चालित एउटा सानो स्कूल छ । करीब डेढसय जति स–साना भाइबहिनीहरू पढ्दै आएका यस स्कुलमा कुनै पनि शुल्क लाग्दैन । पढाइ पनि अङ्ग्रेजी माध्यममा हुने भएकाले प्रायः सबै अभिभावकहरू आफ्ना नानीहरूलाई त्यहीँ पढाउन चाहन्छन् तर भुक्तभोगीहरूका अनुसार त्यहाँ नानी पढाउन चाहने अभिभावकले सकेसम्म प्रत्यक्ष रूपमै क्रिश्चियन धर्म अँगाल्नुपर्ने हुन्छ भने नभए पनि त्यसप्रति प्रतिबद्धता भने जनाएकै हुनुपर्छ । लाग्छ हाम्रो यहाँ भइरहेको धर्मपरिवर्तनको स्वरूप बुझ्न यीभन्दा अन्य उदाहरण आवश्यक छैन ।
हुन त हाम्रो मुलुकमा धर्मपरिवर्तनको समस्या नयाँ होइन । पञ्चायतकालमै पलाउन शुरु गरेको यसको ऐंजेरु प्रजातन्त्र पुनःस्थापनापछि पनि रोकिएन । झन् गणतन्त्र स्थापनापछि त यो यसरी फैलिएर गयो कि ठाउँ कुठाउँ उपस्थिति देखिन थाल्यो । त्यसैमाथि नेपालको संविधान २०७२ मा भएको धर्मनिरपेक्षताको प्रावधान त उसका लागि कति बढी ऊर्वर साबित भइदियो भने त्यसैको कारण हिजो गणितीय हिसाबले बढिरहेको धर्मपरिवर्तन समस्याको ग्राफ बढेर ज्यामितीय हुन पुगेको छ ।
निवर्तमान पोपले भ्याटिकन सिटी मुख्यालयबाट हजार वर्षमा समग्र एसियामा क्रिस्तानीकरणकोे साम्राज्य खडा गर्ने गरी कार्य गर्न आफ्ना क्रिस्चियन मिसिनरीहरूमा परिपत्र गरेको समाचार केही वर्षअघि नै पत्रपत्रिकामा आइसकेको थियो । साथै यसका लागि खर्बौं डलर खर्चिनुपरे पनि चिन्ता गर्नु हुँदैन भनेका थिए उनले भन्ने समाचार पनि कतिपय पाठकका मनमा अझै ताजै हुनुपर्छ । हाल उनका उत्तराधिकारीहरू सोही आदेश तामेलीका लागि दौडधुप गरिरहेका छन् । यसका लागि उनीहरूले साम, दाम, दण्ड, भेदका नीति अपनाउन बाँकी राखेका छैनन् ।
आज संसारमा चौतर्फी प्रहारको मार खेप्न बाध्य कुनै संस्कृति छ भने हिन्दू संस्कृति नै छ भन्नुपर्ने अवस्था छ । आज झोलामा बाइबलको ठेली र हातमा चकलेटको पुडिया लिएर गाउँघर छिरेका छद्मभेषी भेडियाहरूले जुन मात्रामा सिधासाधा जनताको मनमथिङ्गल भाँड्ने काम गरिरहेका छन्, सोही मात्रामा हाम्रा कतिपय राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताहरू उनीहरूकै बोलीमा लोली मिलाएर बाख्रीको पुच्छर काट्ने काम गरिरहेका छन् ।
नेपालमा धर्मनिरपेक्ष राष्ट्रको माग न जनताको थियो न जनआन्दोलनले नै त्यो भनेको थियो । तैपनि नेताहरूले रातारात हचुवाको भरमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर झण्डै पचासी प्रतिशत जनताप्रति घोर बेइमानी त यसै पनि गरेकै थिए, संविधानसभाबाट जारी भएको संविधानमा समेत त्यसैलाई निरन्तरता दिएर थप बेइमानी गरेका छन् ।
यद्यपि उनीहरूले संविधान जारी गर्ने बेला गाउँगाउँमा पुगेर जनताको सुझाव लिने काम नगरेका होइनन् तर ती तमाम प्रपञ्च हात्तीको दाँतबाहेक केही हुनै सकेनन् । उनीहरूले यसको नाममा राज्यकोषबाट करोडौं सिध्याउने काम त गरे तर हात लागी भने शून्य नै रह्यो । यस सम्बन्धमा जनताको तर्फबाट आएका सुझावहरू संविधानसभा भवनको कुन कुनामा थुप्रिन पुग्यो कसैले पनि पत्तै पाएनन् । बहुसंख्यक जनताको सुझाव त हिन्दूराष्ट्रकै पक्षमा थियो तर संविधानमा लेखिने काम भने धर्मनिरपेक्षताको भयो । यसैबाट प्रस्ट हुन्छ कि हाम्रा नेताहरू कसको इशारामा काम गरिरहेका छन् भन्ने कुरा ।
प्रत्यक्ष रूपमा क्रिस्चियन मिसिनरीहरू जनहितमै देखिएका छन् । स्कूल बनाएका छन्, क्याम्पस बनाएका छन् । अस्पातालहरू खोलेका छन्, औषधालयहरू स्थापना गरेका छन् र गरीब नेपालीका छोराछोरीलाई स्वास्थ्य र शिक्षाको निःशुल्क सेवा दिइरहेका छन् तर अप्रत्यक्ष रूपमा भने त्यसको विनिमय हुने काम धर्मसित भइरहेका छन् । त्यसैले यसलाई मितलाई एक जोर हलो पनि सित्तैमा र मितको एकपाथी धान पनि सित्तैमा भन्ने नेपाली उखानसित तुलना गर्नु बढी मनासिब हुनेछ ।
भनिरहनु परोइन, आज हामी सबैका निम्ति युरोप र अमेरिका स्वप्ननगरी हुुँदै आएको छ । हामी सबै पाएसम्म उतै जान चाहन्छौं । उनीहरूले शिक्षित जनशक्तिलाई पनि आकर्षक तलबभत्ता दिएर उतै तानिरहेका छन् अनि अशिक्षित र अर्धशिक्षितलाई पनि सोही अनुसारको सुविधा दिएर तान्ने प्रयास गरिरहेका छन् । (एकलाखभन्दा बढी भुटानी शराणार्थी, जो हिन्दू नै थिए, लाई त उतै पुनर्वास नै गराइसकेका छन्) तर यी सबै हाम्रै मायाले वा हाम्रै हितकै उद्देश्यले भएका भने होइनन् । कसैले त्यस्तो ठानेको छ भने त्योभन्दा ठूलो भ्रम अर्को हुने छैन ।
यो त मात्र हिन्दूहरूको संख्या कम गराउन सुनियोजित ढङ्गले चालिएको दीर्घगामी कदम मात्र हुन् । उद्देश्य पूरा हुनासाथ उनीहरू त्यसैगरी लखेटिन सक्छन् जसरी ३०० वर्षभन्दा पहिले भुटान छिरेका नेपालीहरू लखेटिएका थिए ।
सबैलाई थाहा भएकै कुरा हो राष्ट्र बन्न भूगोल पनि चाहिन्छ र भाषा, धर्म, संस्कृति र संस्कार पनि चाहिन्छ तर उनीहरूले सङ्घीयतामार्फत भौगोलिक विखण्डनको बिउ त यसै पनि रोपिसकेकै छन् । सिके राउतहरू यसैको एउटा मोहोरा हुन् भने हाल ठाकुरजीहरूको ठिसठिसलाई पनि यसैभित्र राखेर हेर्न सकिन्छ । बाँकी रहेका धर्म, संस्कृति तथा संस्कारमाथि पनि विभिन्न तरिकाले प्रहार गर्ने काम भइरहेका छन् । हाल जुन रूपले धर्मपरिवर्तनको क्रम बढ्दै गएको छ, यही क्रम जारी रहने हो एक दिन आफ्नै पहिचान खोज्न पनि इतिहासको पाना पल्टाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
भगवानको कृपाले त्यस्तो अवस्था नआओस् तर कदाचित् आयो भने त्यतिबेला पनि नाम त नेपाल नै रहनेछ र शासनपद्धति पनि अहिलेको जस्तै लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र नै हुनेछ । चुनाव पनि हुनेछ । बहुमत र अल्पमतको कुरा पनि गर्नेछन् तर उद्देश्य भने क्रिस्तानी राज्य नै हुनेछ । मुलुकका प्रायः सबै हिन्दूहरू क्रिस्चियन हुन बाध्य हुनेछन् वा बाध्य पारिनेछ । जो जसले चाहँदैनन्, उनीहरूलाई पनि प्रलोभनको पुडिया देखाएर तान्ने काम हुनेछ ।
यस्तो अवस्थामा पनि यावत् समस्यालाई झेल्दै ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ भन्ने मान्यतामा अडिग रहने निकै कम हुनेछन्, जसलाई अछुतको व्यवहार गरी राज्य सत्ताले बूट बजार्न थाल्नेछ । यसतर्फ शरीरमा घाउ लाग्दा पनि ऐय्यासम्म नभनी मौन समर्थन गर्दै हिँड्नेहरूको जति चाँडै ध्यान पुग्न सक्यो त्यति राम्रो हुने देखिन्छ । अन्यथा विगतले सराप्ने र आगतले धिक्कार्ने अवस्था आउन सक्छ ।
Advertisment
Advertisment