इटहरी, १३ साउन — इटहरी–२० तरहराको बहुभाषिक प्राविमा दश बजेपछि पुग्दा त्यहाँका कक्षा चारका विद्यार्थीहरू एकै स्वरमा पढ्दै थिए– केए क.., केएचए ख.., जीए ग.., एनजीए ङ... ।
बोर्डमा बहुभाषिक लेखिएको भएपनि पछिल्ला दिनहरूमा त्यहाँ आदिवासी भाषाका कक्षाहरू बन्द भएका छन् भने अंग्रेजीका कक्षाहरू भने शुरु भएका छन् ।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर सम्बाहाम्फेले भने, ‘हामीले एकताका नेपालीसहित अन्य चार आदिवासी भाषाका कक्षाहरू सञ्चालन गरेको यो विद्यालयमा आजकल ती कुनै पनि भाषाका पढाइ सञ्चालनमा छैनन् ।’
पछिल्लो समय भाषा र पहिचानको मुद्दा जोडतोडका साथ उठेका बेला यस्ता मातृभाषा अध्ययन हुने विद्यालयमा विद्यार्थीको कमी हुनुले जोडतोडका साथ मुद्दा उठान गर्नेहरू पनि आफ्ना बालबालिकामा मातृभाषा सिकाइमा खासै रुचि राख्दैनन् भन्ने देखिएको छ ।
२०५१ सालको फागुन ११ गते साबिकको हाँसपोसा–२ तरहराको बहुभाषिक प्राविको उद्घाटन तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए ।
नेपालका लोकप्रिय र पहिलो कम्युनिस्ट प्रधानमन्त्रीले गरेको समुद्घाटन र समुदायले देखाएको उत्साहप्रद अपनत्वले विद्यालयले छोटो समयमै राम्रो फड्को मा–यो । त्यसबेलाको नेपालकै एक्लो बहुभाषिक विद्यालय भनेर चिनिएको विद्यालयले शुरुवाती दिनबाटै लिम्बू भाषा कक्षा शुरु ग–यो ।
२०५२ सालबाट शुरु भएको लिम्बू भाषाको कक्षाको निरन्तरताको केही समय नबित्दै २०५४ बाट राईको चाम्लिङ भाषाको पढाइ समेत थपियो । चाम्लिङ भाषा कक्षा पढाइको केही समयपछि २०५५ बाट मगर र तामाङ भाषा कक्षाहरू पनि विद्यालयले शुरु ग–यो ।
उत्साहजनक शुरुवात तर निरन्तरतामा समस्याचारवटा आदिवासी भाषाहरू, एउटा नेपाली भाषा र अर्को अंग्रेजी भाषा पढाइ गर्ने बहुभाषिक प्राविको लोकप्रियता चुलिएर गयो । एकसय हाराहारीका विद्यार्थीहरूबाट शुरु गरिएको विद्यायलमा २०५६ सालमा आइपुग्दा तीनसय बढी विद्यार्थीहरू पुगे । राम्रो खेलमैदान र प्रशस्त जग्गा भएको विद्यालयमा तरहराका स्थानीय मात्रै हैन इटहरी र आसपासबाट समेत विद्यार्थीहरू पढ्न आएको सम्झना सुनाउँछन् तत्कालीन लिम्बू भाषा शिक्षकको रूपमा विद्यालय आएका र हाल प्रधानाध्यापक रहेका टेकबहादुर सम्बाम्फे ।
कतिसम्म आकर्षण थियो भने सम्बन्धित भाषाका विद्यार्थीहरू बाहेकका विद्यार्थीहरू समेत चाख मानेर अध्ययन गर्थे । ऐच्छिक विषयका रूपमा राखिएका लिम्बू, चाम्लिङ, मगर र तामाङ विषयहरू सम्बन्धित समुदायका विद्यार्थीहरूले त पढ्थे नै । तीभन्दा अलग समुदायका क्षेत्री, ब्राह्मण तथा अन्य भाषिक समुदायका विद्यार्थीहरूले भने आफ्नो रोजाइले ती भाषाहरू पढ्थे ।
‘चारवटा भाषामध्ये एउटा रोजेर पढ्ने अवस्थामा धेरैले लिम्बू भाषा नै छानेर पढ्ने गर्थे’, लिम्बू भाषा शिक्षकको रूपमा विद्यालयका शुरुवाती दिनमा पढाउने टेकबहादुर सम्बाहाम्फे भन्छन्, ‘अझ क्षेत्रीबाहुनहरूले त लिम्बू भाषा नै रोज्थे र लिम्बू केटाकेटी भन्दा राम्रोसँग लिपि लेख्न समेत सक्थे ।’
सजिलो लिपि र धेरै अक्षरका कारण लिम्बू भाषा सिक्न र सिकाउन सजिलो भएको सम्बाहाम्फे बताउँछन् । भन्छन्, ‘सिरीजंगा लिपि नै भएको राई जातिको चाम्लिङ भाषा पनि विद्यार्थीहरूले सहजै सिकेको पाएँ ।’
शुरुवाती चरणमा विद्यार्थीहरूमा र अभिभावकहरूमा मात्रै हैन बहुभाषिक शिक्षा पढाउने सवालमा समुदायहरू र स्वयं शिक्षकहरू पनि जागरुक बनेको सम्बाहाम्फे बताउँछन् ।
‘शुरु शुरुमा किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खाले पनि आर्थिक सहयोग गर्थ्यो ।’ स्थानीय सरकार र संस्थागत जातीय समुदायको आर्थिक सहयोगका आधारमा सञ्चालित लिम्बू र चाम्लिङ भाषाका कक्षाका अतिरिक्त मगर र तामाङ भाषाका कक्षाहरू चलाउन भने दरबन्दीका शिक्षकले नै आफ्नो तलब काटेर राहतका शिक्षकलाई सहयोग गरेरसम्म पढाए । त्यस्तो आत्मीयता र हौसलाले उठेको बहुभाषिक कक्षाहरू आजकल भने बन्द छन् ।
‘२०५६ सालसम्म त निक्कै राम्रोसँग विद्यालय चलेको थियो र विद्यार्थीहरू पनि व्यापक बढेका थिए’, संबाम्फे भन्छन, ‘तर त्यसपछि क्रमशः विद्यालयमा विद्यार्थी संख्याहरू घट्न थाले र विद्यालयमा हाल ६० जना हाराहारमा मात्र विद्यार्थीहरू छन । ’दुइ स्थायी र तीन राहत दरबन्दी रहेको बहुभाषिक प्राविमा अघिल्लो साल साठीको संख्यामा विद्यार्थी भएको र यो पटक पनि त्यो भन्दा धेरै विद्यार्थीको भर्ना नहुने देखिएको संबाम्फे बताँउछन् ।
‘अंग्रेजी शिक्षाले घटायो बहुभाषिक विद्यार्थीहरू’बहुभाषिक प्रावि तरहरालाइ चाँहिने लिम्बू, चाम्लिङ, मगर र तामाङ भाषाका पाठ्यपुस्तकहरूको अभाव थिएन । नेपाल सरकारले कक्षा आठ सम्मका थुप्रै मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तकहरू बनाएकोले त्यसमा समस्या थिएन ।
समस्या तत्काललाइ बिषय शिक्षकहरूको पनि थिएन । जसोतसो गरेर गाविस, जातिय संस्थाहरू र दरबन्धिका शिक्षकको आर्थीक तथा नैतिक सहयोगले बहुभाषीक कक्षाहरू राम्रोसँग संचालनमै थिए । अंग्रेजी भाषाका विभिन्न निजी बोडिङहरूको संचालनसँगै बहुभाषीक कक्षाहरूमा प्रत्यक्ष असर पर्न थाल्यो । सम्बन्धित समुदायका अभिभावकले पनि आफ्ना बच्चाहरूलाइ निजी अंग्रेजी विद्यालयमा भर्ना गर्न थाले ।
‘अबको आधुनिक जमानामा हरेक कुराहरू अंग्रेजीमा हुन्छ र त्यो नसिकि हुन्न को अब पछाडी फर्केर आफ्नो भाषा पढ्छ भन्ने कुराहर अभिभावकहरूबाट आँउन थाल्यो’, दश बर्ष अगाडी मात्रै स्थायी भएका शिक्षक संबाहाम्फे भन्छन्, ‘हामीले घरघरमा गएर बच्चाहरू भर्ना गर्नुहोस भनेर भन्दा पनि उहाँहरू मान्नु भएन तर आधुनिक भनिने जापान, कोरिया र चीनले भने आफ्नै भाषाका कक्षाहरू विद्यालयमा पढाँउने कुराहरू भने उहाँहरूले बुझ्न चाहानु भएन ।’
संबाम्फेले ५२ सालबाट दश बर्ष लिम्बू भाषा पढाए । यस्तै चाम्लिङ भाषा पनि चार बर्ष हाराहारी पढाइ भयो । मगर र तामाङ भाषा भने तीन बर्ष हाराहारी मात्रै संचालनमा रह्यो । तरहराको बहुभाषिक विद्यालय खुल्दा कुनै निजी बोर्डिङ पनि खुलेका थिएनन र बहुभाषिक विद्यालय भरिभराउ थियो । तर, अहिले विद्यालयका वरिपरि आधा दर्जन विद्यालयहरू खुलेका छन र बहुभाषीक विद्यालय भने खाली जस्तै छ ।
कुनै बेला बहुभाषीक विद्यालयमा स्वयंसेवी शिक्षकको रूपमा पढाएका नवराज मैनाली पनि विद्यालयले राम्रो गर्न खोज्दा खोज्दै पनि अभिभावकहरूको असहयोगले विद्यालयको बहुभाषिक शिक्षा जस्तो धेरै महत्वपुर्ण शिक्षा कार्यक्रम धरापमा परेको बताँउछन । ‘म शिक्षक हुँदा विद्यालयका अन्य साथीहरूसँगै हामीले घरघरमा गएर हात जोडेर विद्यार्थीहरू माग्यौ तर लिम्बू, चाम्लिङ, मगर र तामाङ समुदायकै अग्रजहरूले आफ्नो बच्चाहरू बोडिङमा हाल्नुभयो ।’
प्रशस्त जग्गा, खुल्ला र फराकिलो खेलमैदान, अनुभवि शिक्षक, पायक पर्ने स्थानको अवस्थिती र राम्रो पढाइ हुँदाहुँदै विद्यार्थीहरू आँउन छाडेपछि हाल बहुभाषीक प्राविले प्रारम्भिक कक्षाहरूमा अंग्रेजी नै पढाइ सुरु गरेको छ । ‘हामीलाइ थाहा छ बच्चाले आफ्नो प्रारम्भिक कालमा आफ्नो मात्रीभाषानै पढ्नुपर्छ तर हामीले कक्षा एक र दुइमा बाध्यताले अंग्रेजी बिषय हाल्न बाध्य भएका छौँ’, संबाम्फे भन्छन, ‘यो सब विद्यालयमा आँउने विद्यार्थीहरूको संख्या बन्द नहोस भनेरै हो ।’
मातृभाषा कक्षामा सबैतिर उस्तै समस्यासुनसरीमा ऐछिक बिषयका रूपमा मातृभाषा पठनपाठन गराँउने धरानमा पब्लीक उच्च मावी र किराँतेश्वर प्रावि छन् । यस्तै धरानकै पिण्डेश्वर विद्यापिडमा पनि लिम्बू भाषाका कक्षा पनि संचालन गर्ने नितीगत व्यवस्था छ । धरान बाहेक सुनसरीको सिमरियामा रहेको सारदा प्राविमा थारु भाषाको कक्षा पनि पढाइ हुन्छ । तर कतैपनि उत्साहजनक रूपमा विद्यार्थीहरू भर्ना र वृद्धि नभएको स्वयं विद्यालयहरू बताँउछन । निजी स्कुलमा पढाँउने आर्थिक अवस्था र अवसर नभएका तथा गाँउका विपन्नहरूले मात्रै बढिजसो मात्रीभाषाका कक्षामा आफ्ना छोराछोरी भर्ना गर्नेगरेको पाइएको छ । अझ समाजका अगुवा र नेतृत्व भनिएकाहरू आँफै आफ्ना सन्तानलाइ निजी अंग्रेजी विद्यालयमा भर्ना गराँउने विद्यालयहरू गुनासो गर्छन ।
‘बहुभाषा कक्षा बढाँउन सरकार र समुदाय दुवै गम्भिर हुनुपर्छ’तरहरामा संचालन भएर निरन्तरता पाँउन नसकेको आदिवाषी भाषाहरू पढाँउने बहुभाषीक कक्षाहरू जस्तै अन्य सुनसरीका कक्षाका कार्यक्रमहरू पनि समयमै ध्यान पुर्याएर जोगाँउनु पर्ने सरोकारवालाहरू बताँउछन् ।
इटहरीका कवि देवान किराँती भाषीक अध्ययनलाइ आर्थीक उपार्जनसँग जोड्ने सारकारी नितीगत व्यवस्था र आफ्नो भाषाप्रतिको प्रमे बढाँउन सम्बन्धित समुदायको जागरुकताले मात्रै नेपालको मात्रीभाषा शिक्षा र बहुभाषीक पढाइ राम्रो र दिगो हुने बताँउछन ।
भन्छन, ‘आज कोरियन र जापानिज भाषा कक्षाहरू संचालनमा छन तर यो देशका आफ्ना मात्रीभाषाहरू संचालनमा कुनै उत्साह छैन किनभने त्यि भाषाहरूलाय सरकारले आर्थीक उपार्जन सँग जोडेर पठनपाठन गराँउने कुनै कार्यक्रम ल्याएन र सम्बन्धित समुदायले पनि अनौपचारिक रूपमै आफ्नो भाषा जोगाउन लागी परेनन ।’मात्रीभाषाको पक्षमा कविताबाटै आवाज उठाँउने किराँती बहुभाषा कक्षा बढाँउन सरकार र समुदाय दुवै गम्भिर हुनुपर्छ भन्ने तर्क गर्छन ।
भाषाशास्त्री प्राध्यापक डाक्टर टंक न्यौपाने पनि नेपालमा नेपाली बाहेक बोलिने नेपालेली भाषाहरूलाइ समयमै संरक्षण र शिक्षासँग जोड्नुपर्ने बताँउछन । भन्छन, ‘कुनै पनि देशमा बहुभाषा, बहुलिपी र बहुजाती हुन ससस्या हैन अवसर हो र नेपालमा यो अवसर छ त्यसो प्रसस्त उपयोग गर्नुपर्छ ।’
शिक्षक, विज्ञ र सरोकारवालाले भनेजस्तै सरकार र समुदायले मिलरे आफ्नो भाषा र लिपीको संरक्षण गर्दै बहुभाषिक विद्यालयहरूको निर्माण र निरन्तरता जरुरी छ । डाक्टर लबदेव अवस्थीको अध्यक्षतामा नेपाल सरकारले बनाएको भाषा आयोगले समेत यस विषयमा चासो दिनुपर्ने जानकारवालाको भनाइ छ ।
यदि वेलैमा सरकार र समुदायले यस विषयमा ध्यान नदिनेहो भने पुनः बहुभाषि प्रावि तरहरा जस्तै अन्य कुनै मातृभाषा पढाइ हुने विद्यालय पुग्दा विद्यार्थीहरू पढ्दै हुनेछन– केए क.., केएचए ख.., जीए ग.., एनजीए ङ... ।
Advertisment
Advertisment