कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
पुस १४, २०७९
करीब डेढ महिना अगाडिको कुरा हो । मुलुकमा चुनावी माहोल जोडतोडले तातेको थियो । चिया पसलदेखि चोकसम्म जताततै चुनावी चर्चा सुनिन्थ्यो । चुनावले नछोएको शायदै कोही हुँदो हो ।
एकदिन घरबाट निस्किएर ‘अफिस’ जाँदै थिएँ । बिहान साढे ९ बजेतिर बाटोमा एक आफन्त भेटिनुभयो । उहाँ दुई-चारजना वृद्धहरूको बीचमा घाम ताप्दै चुनावी गफमा हुनु हुँदोरहेछ ।
सामान्य शिष्टाचारपछि म पनि चुनावी बहसमा मिसिएँ । अनि सोधें, ‘यसपालि यो क्षेत्रमा कसले जित्ला जस्तो छ ?’ ती आफन्तले व्यंग्य गरिहाल्नुभयो, ‘माओवादीले पो जित्ला जस्तो छ त... !’
तत्कालीन सत्ता गठबन्धनबाट उक्त क्षेत्रमा माओवादीकै उम्मेदवार थिए । तर, उहाँले व्यंग्य गर्नुभएको हो भन्ने बुझ्न मलाई गाह्रो परेन किनकि अरू बेलामा पनि माओवादीका विषयमा मलाई यसैगरी व्यंग्य गरिरहनुहुन्छ ।
तर, अरूलाई हामीबीचको कुरा के थाहा ? उहाँको कुरा भुइँमा खस्न नपाउँदै एक वृद्धले प्रतिवाद गरे, ‘कहाँ जित्छ माओवादीले ? यहाँ यस्तो स्वतन्त्रको चर्चा छ । त्यही पनि यस्ता युवा (मलाई संकेत गरेर)सँग माओवादीका कुरा ? यी सबैले स्वतन्त्रलाई भोट हाल्छन् ।’
काठमाडौंमा माओवादीले जित्छ, अनि यहाँ भेटिने कोही युवा माओवादी हुनसक्छ भनेर जो कोहीलाई विश्वासै नहुने । मेरा लागि यो कुनै नौलो घटना थिएन, त्यसकारण कुनै प्रतिक्रिया जनाइनँ । ती आफन्त र म एकअर्कालाई हेरेर थोरै मुस्कुरायौँ, अनि म अफिसतिर लागें । यो त एउटा सामान्य उदाहरण मात्र हो, मैले यस्ता धेरै परिस्थिति भोगेको छु ।
एकपटक यस्तै एउटा जमघटमा जोडतोडले राजनीतिक बहस चलिरहेको थियो । उनीहरूको विचार फरक–फरक रहेको प्रस्टै बुझिन्थ्यो, तर जब माओवादीको विषय आयो, सबै एकमत । ‘यी फटाहाहरू, जंगलीहरू, १७ हजार मान्छे मारे, देशका लागि के गरे ?’ माओवादीको आलोचनामा धाराप्रवाह भाषण दिन सक्ने ।
भीडबाटै एकजना बोल्यो, ‘त्यही भएर शहरमा सिलो खोज्दा पनि माओवादी भेटिँदैन त ।’ सुनिरहनै सकिनँ, अनि जवाफ दिएँ, ‘माओवादीका कमजोरी मात्र छैनन्, देशमा यो परिवर्तन ल्याएको शक्ति पनि हो नि !’
त्यसपछि सबैले मलाई एकैपटक हेरे, मानौं अर्कै ग्रहबाट कुनै अनौठो प्राणी झर्यो । ‘यहाँ माओवादीको समर्थन गर्ने मान्छे अझै पनि भेटिन्छ र ?’ त्यहीँ रहेको एउटा व्यक्ति बोल्यो । ‘एलियन त हुन्छ भन्थे, माओवादी पनि भेटिने रहेछ’, अर्कोले व्यंग्य मिसायो । त्यसपछि मैले माओवादीलाई ‘शहरको एलियन’ भन्ने गरेको छु ।
एलियन अर्थात् अर्कै ग्रहको प्राणी । एलियन हुन्छ भन्छन्, तर आजसम्म देखेको कसैले छैन । आजभोलि काठमाडौं शहरका लागि माओवादी पनि त्यस्तै हो । यहाँ माओवादी पनि छन् भन्छन्, तर भेट्न मुस्किल पर्छ । आलोचनात्मक हिसाबले नै सही, तिनले गरेको व्यंग्य वास्तविकतानजिक थियो । सोही कारण कार्यकर्ता नै नभए पनि आफूलाई जान्ने भएदेखि नै माओवादीको समर्थक रहेकाले म पनि एलियन नै भएँ ।
....
यो शहरी दुनियाँबाट अलगथलग रहेर माओवादीलाई अटुट समर्थन गरिरहनुमा पनि कारण छ, जसलाई यहाँ बाँड्नु उचित नै हुन्छ ।
मेरो जन्म २०४६ को राजनीतिक परिवर्तन कै आसपासमा भएको हो । मैले जान्ने/बुझ्ने हुँदा देशमा माओवादी जनयुद्ध शुरू भैसकेको थियो । अनि हाम्रो परिवार र आफन्त पनि माओवादी समर्थक ।
म सानै थिएँ । हाम्रोमा माओवादी जनयुद्धमा होमिएको कुनै न कुनै योद्धा नआएको दिन नै हुन्थेन । घरमा ढोका लगाएको छ र कोही छैन भने कहिले घाँसको भारीको छेल परेर लुकेको हुने, कहिले वस्तुभाउको थलोमा ।
सेनाको ठूलै ब्यारेक घरबाट मुस्किलले ४/५ किलोमिटरको दूरीमा थियो । घरमा आउने नौला मान्छेलाई हामी मामा भन्थ्यौं ।
वल्लोपल्लो घरका कसैले देखिहाल्यो भने पनि मामा भनेर चिनाउने भएकाले अहिलेसम्म बाँचेका त्यतिबेलाका कतिपय माओवादीलाई हामी मामा नै भनेर सम्बोधन गर्छौं । महिला हुँदा चाहिँ कसैलाई दिदी वा कसैलाई अर्कै कुनै साइनो लगाउँथ्यौं ।
आर्मीको ब्यारेक र हाम्रो स्कूल नजिकै थियो । ब्यारेकबाट कोही आर्मी निस्किँदा हामी झस्किन्थ्यौं । घर पुगेर ती मामा अथवा दिदीहरूलाई भगाउन वा लुकाउन हतारो हुन्थ्यो । बच्चा देखेर कहिलेकाहीँ आर्मीहरूले सोध्थे, ‘हाम्रा साथीहरू आउनुहुन्न घरमा ?’ हामी सकेसम्म जवाफ नदिई तर्किन्थ्यौं । जवाफ दिनै परे ‘कोही पनि आउँदैन हाम्रोमा त’ भनेर हिँड्थ्यौं ।
अहिले लाग्छ, त्यतिबेला आर्मीहरूले हाम्रो त्यो व्यवहारमा किन शंका गरेनन् ? शायद बच्चा भनेर ध्यान दिएनन् होला ।
त्यतिबेलादेखि माओवादीहरूकै कुरा सुनियो । उनीहरूले नै ल्याएका पुस्तक पढियो । उनीहरूले नै भोगेको दुःख देखियो । आज राति हाम्रै घरमा बास बसेको मान्छे भोलि शहीद भयो रे भन्ने खबर आउँथ्यो । त्यस्ता कैयन होनाहार योद्धाहरूले ज्यान गुमाएको देख्यौं अथवा थाहा पायौं ।
युद्धको दुई पाटो हुन्छ, जुन कुरा बाहिरबाट अरू मानिसहरूले महसुस गरे, त्यो हामीले महसुस गर्न पाएनौं । जुन कुरा हामीले महसुस गर्यौं, त्यो उनीहरूले महसुस गर्न पाएनन् शायद ।
२०६२/०६३ को जनआन्दोलन भयो । माओवादी शान्ति प्रक्रियामा आयो । म थप अध्ययनका लागि काठमाडौं आउने बेला भएको थियो । त्यतिबेला आफूलाई माओवादी समर्थक भन्दा गर्व महसुस हुन्थ्यो ।
प्रचण्डको पहिलो प्रधानमन्त्रीत्वकालमा एकपटक कुनै मिडियाले मलाई ‘भक्सपप’मा तत्कालीन सरकारबारे केही सोधेको थियो । मैले धाराप्रवाह भाषण दिएको थिएँ । आलोकाँचो बेला, कुन मिडिया हो ख्याल गर्न पनि भुलेछु । त्यो मेरो भनाई कतै बज्यो कि बजेन, सुन्न पाइनँ । अहिले थकथक लाग्छ ।
त्यसयता झण्डै डेढ दशकभन्दा बढी समय बित्यो । माओवादीका हरेक आरोहअवरोह अनि टुटफुट नियालेको छु । आफ्नै आँखाअगाडि माओवादीकै नाममा राजनीति गरेर कतिपयले जीवनशैलीमा ठूलै परिवर्तन ल्याएको पनि देखेको छु । घर तथा गाडी जोडेको पनि देखेको छु । माओवादी हुँ भनेर मान्छेलाई धम्क्याएको, तर्साएको, चन्दा उठाएको पनि देखेको छु । कहिलेकाहीँ सोच्छु, हामीले बच्चा हुँदा देखेका र आजसम्म दिमागमा अमिट छाप छाड्न सफल माओवादी त यी हुँदै हैनन् ।
कलेजमा विद्यार्थी राजनीतिमा थोरै जोडिन खोजेको थिएँ, तर गाउँमा उतिबेला भेटेका जस्ता माओवादी शहरमा भेटिएनन् । सोही कारण आफ्नो तर्फबाट माओवादी विद्यार्थी संगठनलाई सहयोग र समर्थन गरें, तर सदस्यता लिइनँ । पार्टीको सक्रिय राजनीतिमा पनि आफूलाई जोडिनँ, पढाइ अगाडि बढाइरहें । पढाइ सकेर जागिर गरिरहेको छु । र, अहिले पनि आफ्नो जागिरसम्बद्ध पेशागत संगठनमा समेत आबद्ध छैन ।
किन हो कुन्नि २०५० को दशकमा देखेका माओवादीको छाप दिमागबाट आजसम्म पनि मेटिन सकेको छैन । चुनाव आउँदा माओवादीलाई नै भोट हाल्न मन लाग्छ । माओवादीका अधिकांश नेतासँग त आश लाग्न छाडिसक्यो, तर अध्यक्ष प्रचण्ड सरकारमा हुँदा केही आशा पलाउँछ । प्रधानमन्त्रीका रूपमा प्रचण्डको दोस्रो कार्यकाललाई पनि नजिकबाट नियालेको हुँ । त्यतिबेला उनले काम गर्नै खोजेको हो भन्ने मेरो बुझाइ छ । तर, समय निकै छोटो थियो । आफ्नो वचनबद्धता पूरा गर्न पनि शेरबहादुर देउवालाई सरकारको नेतृत्व छाडेर छिट्टै बाहिरिनुपर्यो । प्रचण्डले अलि समय पाएको भए केही गर्ने रहेछन् भन्ने लागेको थियो ।
माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई पनि मलाई निकै मन पर्थ्यो । बाबुरामले केही गर्छन् भन्ने आशा शुरूदेखि नै थियो । अर्थमन्त्रीका रूपमा आशा जगाएकै हुन्, तर प्रधानमन्त्री बनेको समय सही थिएन । तैपनि काठमाडौंका सडकलाई फराकिलो बनाए । त्यही सडक चौंडा गर्न घर भत्काएको कुरालाई लिएर काठमाडौंले माओवादीलाई बिर्सिन थाल्यो । तर, थोरै भए पनि हामीलाई आवतजावतलाई सहज भएको छ ।
यसपटक चुनावबाट पार्टी कमजोर भयो । माओवादीकै कतिपय नेताले अब सरकारको नेतृत्व गर्ने हैन, प्रतिपक्षमा बसेर जनतामा जानुपर्छ भनेको सुनें । तर, म त्यो कुरामा कहिल्यै ‘कन्भिन्स’ हुन सकिनँ, किनकि अब माओवादीले जति चिल्ला कुरा गरे पनि शहरी जनमतले उसलाई सुन्नेवाला छैन । जनताले खोजेको ‘डेलिभरी’ नै हो । माओवादीले देशमा परिवर्तन ल्यायो, तर जनताको जीवनमा परिवर्तन ल्याउन सकेन ।
हुन त दुई दशकयताका बिरलै त्यस्ता सरकार होलान्, जसमा माओवादी सहभागी नभएको होस् । गर्ने भए पहिला पनि गर्थे भन्ने स्वाभाविक प्रश्न छ । तर, मलाई अझै पनि थोरै आशा छ, प्रचण्डले नेतृत्व गर्ने सरकारसँग । प्रचण्डले कम्तीमा २ वर्ष सरकारको नेतृत्व गरेको हेर्ने रहर छ । यो अन्तिम मौकामा पनि केही गर्न सकेनन् भने त्यतिबेलै सोचौंला ।
हुन त सोच्ने मेरो काम हैन, तर पनि अनायासै सोच्छु, शहरले माओवादीलाई किन यसरी बिर्सियो ? सर्वहारा वर्गबाट टाढा हुँदै गएको माओवादी किन निम्नमध्यम र मध्यम वर्गको हुन सकेन ? मेरो वरिपरिका कुनै पनि मानिस किन माओवादीको नाम सुन्न समेत तयार छैन ? माओवादीले के त्यस्तो गर्न सक्छ, जसबाट शहरी निम्नमध्यम र मध्यम वर्गको समस्या समेत समाधान हुन्छ ?
धेरै सोचेपछिको मेरो निष्कर्ष छ, गर्नुपर्ने काम निकै छन् । पहिलो त नेताले आफूलाई सुधार्नुपर्ने छ । जनतासँग फेरि जोडिनुपर्ने छ । दुःखी तथा गरीबको आवाज बोल्नुपर्नेछ । तर, यी अलि ‘भेग’ कुरा भए । देखिनेगरी दुईवटा काम गर्नुपर्ने छ, अनि बल्ल शहरले र निम्नमध्यम तथा मध्यम वर्गले माओवादीलाई सम्झिन थाल्ने छ ।
ती दुई कुराबारे यहाँ उदाहरणसहित चर्चा गर्नेछु :
****
मैले चिनेको एक व्यक्ति हुनुहुन्छ । उमेरले म भन्दा त्यस्तै ५/७ वर्ष जेठो । विवाह भएर बालबच्चा भइसकेका थिए । एउटा ठिक्कको व्यापार थियो । खुसीसाथ आफ्नो परिवार पालिराख्नुभएको थियो । जीविका चलाउन खासै समस्या थिएन । बिल्कुल एउटा हाँसीखुसी निम्नमध्यम वर्गीय परिवार थियो ।
दिन सधैँ एउटै कहाँ हुँदोरहेछ र, खुसीमा कसको आँखा लाग्यो कुन्नि, त्यो परिवार देख्दादेख्दै सडकमा आयो । आज मागेर गुजारा चलाउनुपर्ने स्थितिमा पुगेको छ । भयो के भने, घरमूलीलाई एउटा गम्भीर रोग लाग्यो । परिवारका सदस्यले शुरूमा ‘प्राइभेट’ अस्पतालमा लगेर उपचार गरे । भएभरको बचत र आफन्तसँग सापटी माग्न मिल्ने जति पैसा त्यहीँ सकियो ।
रोग अझै निको भएन । त्यसपछि सरकारी अस्पतालमा सारियो । देख्दादेख्दै पसल बेचे । घरजग्गा बन्दकीमा राखे । पछि त्यही पनि कतिपय बिक्री गरे । अहिले बेच्न बाँकी केही छैन । ऋण माग्न बाँकी मान्छे कोही छैन । एउटा खुसीसाथ चलिरहेको निम्नमध्यम वर्गीय परिवार सडकमा आएको छ ।
त्यो घटना देखेपछि मलाई जहिले पनि चिन्ता लाग्छ, यो हाँसो अनि खुसी दिन नलाग्दासम्म रहेछ । दिन लाग्यो भने हाम्रो हातमा केही नरहने रहेछ । संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हक भनेको छ तर अस्पताल गरिब उत्पादन गर्ने कारखाना बनिरहेको छ ।
म मात्र हैन, धेरै निम्नमध्यम वर्गीय परिवारको चिन्ता यही हो । जिन्दगी चलिरहेको छ । खान लगाउनलाई दुःख छैन । सानोतिनो बचत पनि होला, तर यो दिन नलाग्दासम्म हो । त्यसरी दिन लाग्यो भने यहाँ धेरै परिवार उसैगरी धर्मराउने छ । रोग लाग्ने व्यक्ति त बचाउन नसकिए मरेर जाला, तर बाँच्ने सिंगो परिवारले वर्षौंसम्म त्यसको आर्थिक भार र प्रभाव झेल्नेछ । एउटा रोगसँग जुध्ने आर्थिक ताकत धेरैसँग देख्दिनँ म । जुन आजको मध्यम, निम्नमध्यम र विपन्न वर्गको साझा चिन्ता हो ।
यो प्रसंग यहाँ किन उल्लेख गरेको भन्नुहोला । मलाई यहाँ राज्यको भूमिका हुनुपर्छ भन्ने लाग्छ । राज्यले हरेक नागरिकसँग कमाइमा पर्याप्त आयकर असुलोस्, खुसीखुसी तिर्न तयार छौं । थोरै गाँस काट्न राजी छौं । बरु, विलासिताका सामान कम प्रयोग गरौंला । जति छ, त्यसैमा खुसी हौंला । तर, रोग लाग्दा राज्यले उपचार गरोस् । बचाउन सकिने मान्छे आर्थिक अभावकै कारण मर्नु नपरोस् । बाँच्नेहरू आर्थिक भारले थिचिनु नपरोस् ।
निजी अस्पताल रहिरहून्, त्यहाँ पैसा हुनेले उपचार गर्छन् । सरकारी अस्पतालमा हरेक उपचार सुविधा उपलब्ध होस् । बेड पाउन नेतालाई फोन गर्नु नपरोस् । समयमा उपचार पाइयोस् । हुनेसँग पैसा लिए भयो, नहुनेको उपचार राज्यको दायित्व होस् । त्यसका लागि स्वास्थ्य बीमालाई नै प्रभावकारी बनाएर हरेकका लागि अनिवार्य गर्ने हो कि आयकर बढाएर सामाजिक सुरक्षामार्फत् खर्च गर्ने हो, त्यो राज्यले सोचोस् ।
यो असम्भव कुरा पनि हैन । सामाजिक सुरक्षाको यो मोडल विकसित र विकासशील धेरै देशरूले अपनाएका छन् । त्यहाँ सम्भव हुन्छ भने हाम्रोमा किन हुन सक्दैन ? अवश्य हुनसक्छ, तर आवश्यकता छ इच्छाशक्तिको ।
आजको निम्नमध्यम वर्गले खोजेको यही हो । देशका विपन्न नागरिकप्रति राज्यको दायित्व पनि यही हो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले यति गर्यो भने शहरमा एलियन मात्र हैन, माओवादीहरू पनि भेटिन थाल्नेछन् ।
****
अब दोस्रो प्रसंगमा जाऔं । मेरा एक आफन्त हुनुहुन्छ, १५/२० वर्ष भयो खाडीमा पसिना चुहाउन थाल्नुभएको । अब त नेपाल फर्कने हैन ? भन्यो, अझै केही वर्ष दुःख गर्छु भन्नुहुन्छ । उहाँको कमाइको अधिकांश हिस्सा छोराछोरीको पढाइमा खर्च भएको देखेको छु ।
विदेशमा गएर कमाएको पैसाले छोराछोरीले राजधानीमा शिक्षादिक्षा लिए । हरेक महिना कमाएर पठाएको पैसा स्कूल तथा कलेजलाई ‘फी’ बुझाउँदैमा सकिन्छ । आर्थिकरूपमा खासै उन्नति भएको देखेको छैन । तर, छोराछोरीले राम्रो पढेका छन् । सबै कम्तीमा १२ सम्मको अध्ययन सकाएर राम्रो देश पठाउन पाए घर फर्किन्थें भन्ने उहाँको धोको छ । अब उहाँ आफ्नो लक्ष्यनजिक हुनुहुन्छ । विदेश पुग्न एउटै मात्र सन्तान बाँकी छ ।
मैले जान्दा नेपालमा उहाँको ठिक्कको जागिर थियो, काठमाडौंमा औसत निम्नमध्यम वर्गीय व्यक्तिले कमाउनेभन्दा बढी नै तलबको । तर, त्यो कमाइले ३ छोराछोरीको ‘स्कूल फी’ धानेन । राम्रै स्कूलमा पढाऊँ भन्ने धोकोले विदेशिनुपर्यो । छोराछोरीकै अध्ययनका लागि भनेर उहाँले यो बीचमा भोगेको पारिवारिक बिछोडको पीडा कसले बुझ्ने ? उहाँका बालबच्चाले आफ्नो बुवालाई बिरलै मात्र देख्न पाए । एउटा श्रीमती श्रीमान्बाट दशकभन्दा बढी समयसम्म टाढा रहनुपर्यो ।
कतिले घरजग्गा बेचेर छोराछोरी पढाएको देखेको छु । कतिले यसैगरी विदेश गएर पसिना बगाएका छन् । चिनेजानेका जति पनि व्यक्ति श्रम बेच्न विदेशिएका छन्, तिनका श्रीमती र बालबच्चा काठमाडौं वा अन्य शहरमा डेरा गरेर बसेका छन् । उद्देश्य एउटै छ, छोराछोरीको राम्रो शिक्षादिक्षा ।
विदेशमा कमाएको पैसा महिनैपच्छिे स्कूल/कलेजमा ‘डिपोजिट’ गर्नुपर्छ । दुःख गर्न सक्ने उमेर सकिँदा पैसा पनि स्कूल/कलेजमै बुझाएर सकिन्छ । अरू इच्छा/आकांक्षा पूरा गर्ने कुरा त सपना मात्र भएका छन् ।
यहाँ पनि राज्यको भूमिका चाहिने हैन र ?
अधिकांश सरकारी स्कूल कामै नलाग्ने अवस्थामा पुगेका छन् । निजी स्कूलमा अचाक्ली महंगा छन् । फेरि शहरमा त छोराछोरी कस्तो स्कूलमा पढ्छन्, अनि कुन देशमा छन् भन्ने कुरा इज्जतसँग जोडिन थालेको छ ।
जहिल्यै सोच्छु, एउटा यस्तो सरकार आओस्, जसले हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याओस् । सरकारी स्कूलमा पढाउने शिक्षकलाई आफ्ना छोराछोरी त्यहीँ पढाउनुपर्ने बाध्यकारी व्यवस्था गरोस् । सरकारी कोषबाट सेवा सुविधा लिने हरेकका छोराछोरी सरकारीमै पढून्, जसले गर्दा सरकारी स्कूललाई गुणस्तरीय बनाउन तिनले ध्यान पुर्याउने थिए ।
राज्यले सरकारी स्कूलहरूलाई भौतिक सुविधासम्पन्न बनाओस् । सरकारी स्कूलमा नियमित अनुगमन होस् । अधिकांश अभिभावकले अंग्रेजी माध्यममा पढाउने चाहना राख्न थालेका छन्, सोही कारण सरकारी स्कूलमा पनि अंग्रेजी माध्यममा पढाउने व्यवस्था गरियोस् । ग्लोबलाइजेसनको युगमा मातृभाषा मात्र भनेर कहीँ पुगिन्न । हामी सानो छँदा हजुरबा/हजुरआमाले अंग्रेजीलाई 'गाईखाने विद्या' भन्नुहुन्थ्यो, अहिले त्यो गाईखाने विद्या कति अपरिहार्य भइसकेको छ, भनिराख्नै पर्दैन ।
सक्नेसँग थोरबहुत फी लिँदा पनि हुन्छ, नसक्नेका लागि सम्पूर्ण रूपमा निःशुल्क शिक्षा उपलब्ध होस् । त्यसका लागि शिक्षा र स्वास्थ्य दुवैमा खर्चने गरी आयकरको दायरा बढाउँदा हुन्छ । हरेकले दुःख गर्ने यही शिक्षा र स्वास्थ्यका लागि हो, त्यो कुरा राज्यले जिम्मा लिन्छ भने नागरिकहरूले हाँसीहाँसी बढेको आयकर तिर्नेछन् । शिक्षा र स्वास्थ्य सामाजिक सुरक्षाको एउटा हिस्सा होस् । अनि निजी स्कूललाई केही गर्नै पर्दैन, सरकारी स्कूल गुणस्तरीय हुँदा पनि कसैलाई निजीमा पढाउन मन लाग्छ भने पढाऊन् ।
गुणस्तरीय शिक्षाकै लागि निजी स्कूल खोज्नुपर्ने अवस्था नरहोस् । सबै सरकारी स्कूल उत्कृष्ट हुनुपर्यो । यो सम्भव पनि छ । त्यसका लागि बुटवल र काठमाडौंका केही नमूना सरकारी स्कूललाई उदाहरणका रूपमा लिन सकिन्छ ।
****
यति हुँदा शहरका सबै समस्या ‘छु मन्तर !’ हुन्छन् भन्न खोजेको हैन । समस्या त धूलोधुवाँ र प्रदूषणको पनि छ । लोडसेडिङ त अन्त्य भयो, तर अझै बिजुलीको बिल सस्तिएको छैन । प्राधिकरण महिनामै यति नाफामा गयो भनेर पढिरहेका छौं । बिजुलीको बिलमा थोरै सहुलियत दिने हो भने हरेक घरपरिवारले राहत महसुस गर्ने थिए । ग्यास छाडेर विद्युतीय चुल्होमा आकर्षित हुने थिए ।
सवारी साधनमा पनि विद्युतीयलाई प्राथमिकता दिन ढिला भइसकेको छ । भित्रिएका सवारी अचाक्ली महंगा छन् । राज्यले भन्सारमा अझै छूट दिएर विद्युतीय सवारी भित्र्याउन जोड दिने हो भने पेट्रोलमा बाहिरिने अर्बौं रकम देशमै रोकिने थियो ।
समस्या र सुधार गर्नुपर्ने ठाउँ त अरू पनि छन् । यो एलियनलाई एकपटक भेटेरै भन्न मन छ, तर फेरि त्यहाँ (बालुवाटार) सम्म पुग्ने बाटो पो थाहा छैन । जेहोस्, नवनियुक्त प्रधानमन्त्रीले यति पढिदिनुभयो भने पनि चित्त बुझ्ने छ । काम नै गरे त झनै राम्रो भइहाल्यो ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...