फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मंसिर १४, २०७५
युरोप महादेशमा पर्ने एक शक्तिशाली र सुन्दर देश हो इटाली । इटाली आफ्नै मौलिक सभ्यता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यही सौन्दर्यले भरिपूर्ण देशमा डोलोमाइट्स (इटालेली भाषामा डोलोमिटी भनिने) पहाडले भौगर्भिक, ऐतिहासिक र प्राकृतिक महत्त्व राख्दो रहेछ । डोलोमाइट्स इटालीको उत्तरपूर्वमा पर्नेे बेलुनो, साउथ टायरोल र ट्रेन्टिनो प्रान्तको पहाडी श्रृंखला रहेछ । प्राकृतिक स्रोत व्यवस्थापनमा यो पहाडी श्रृङ्खलाका आफ्नै मौलिक विशेषता रहेका छन् ।
भ्रमणको सन्दर्भ पादोभा विश्वविद्यालय, इटालीबाट वन पर्यावरण तथा व्यवस्थापनसम्बन्धी विषय र समय थियो सन् २०१८ अक्टोबर ९ देखि ११ गतेसम्म । यही समय र सन्दर्भले डोलोमाइट्सको पर्यावरण तथा वन व्यवस्थापन सम्बन्धी विषयमा भ्रमण गर्ने मौका जुर्यो । समयको गतिले मानिसलाई कहाँदेखि कहाँ पुर्याउँदो रहेछ भन्नै नसकिने । अस्तिसम्म नेपालको घुम्टे, गाजा, निलुवा, पञ्चासे, तीनचुले, सोले, ढोरपाटनका डाँडापाखामा रमाउने ठिटो एकाएक डोलोमिटीमा पुग्नु आश्चर्यको विषय त छँदै थियो । शरीर र आँखा डोलिमिटीमा रमाएपनि मन उनै घुम्टे र सोलेमा थियो । नेपाल र इटाली अनि घुम्टे र डोलिमिटीलाई तुलना गरिरहेको थियो ।
समुद्रमाथिको विशाल शहर भेनिसदेखि नजिकै रहेकोे लिनारो भन्ने स्थानबाट दुई प्राध्यापकसँग सोह्रजना विद्यार्थीको भ्रमण टोली डोलोमिटीतर्फ लम्क्यो । प्राचीनकालदेखिका पुराना चर्च, थोत्रा बिल्डिङ, अहिलेका गगनचुम्बी पुल, पहाड छेडी बनाएका मोटरबाटो जस्ता प्राचीन र आधुनिक विकास र विनाशका दृश्यावलोकन गर्दै यात्रा अगाडि बढिरह्यो । यात्रामा पादोभा विश्वविद्यालयका प्राध्यापक मारियो पिभिडोरी र प्राध्यापक मार्को कारिअर अनि स्कटल्यान्ड, रुस, इटाली, जर्मनी, नाइजेरिया, चीन, इथियोपिया, ताजकिस्तान लगायतका देशबाट पढ्न आएका विद्यार्थी साथीहरू थिए । यात्राका क्रममा सबैको मुहार हँसिलो थियो । सबैले भित्री मनको भाव व्यक्त गर्न नसकेपनि ‘वाउ, हाउ नाइस’ भन्ने सबैको साझा भाषा थियो । सबैको हाउभाउमा मेरा जस्तै ‘सेम टु घुम्टे’ जस्ता वाक्यहरू उनीहरूका मुखबाट पनि निस्किन्थे ।
बीचबीचमा प्राध्यापकले कस्तो लाग्यो, केकस्ता विशेषताहरू पायौ जस्ता प्रश्न पनि गरिरहन्थे । यात्राकै क्रममा पिआभे नदीको किनारमा पुग्दा एउटा प्राकृतिक विपत्तिको दृश्यावलोकन भयो । प्रा. मारियोले इटालीमा भएको दुःखद पहिरोको घटना सुनाए । हाम्रो यात्रा भएकै अक्टोबर ९ को दिन ५५ वर्षअगाडि सन् १९६३ मा त्यो दुःखद घटना भएको रहेछ । उत्तरी इटालीमा विद्युत् आपूर्ति गर्न पिआभे नदीमाथि ८७५ फिट अग्लो बाँध बनाइएको रहेछ । उचित भौगर्भिक स्थानको छनौट नभएका कारण उक्त बाँधमाथि रहेको चट्टान खसेर लोङ्गारोना गाउँका रहेका सम्पूर्ण घर बगाई दुईहजारभन्दा बढी मानिसको ज्यान गएछ । अदालतमा सो बाँध बनाउने इन्जिनियरलाई मुद्दा पेश हुँदा त्यसको अदालती फैसला हुनुपूर्व नै उनले आत्महत्या गरेका रहेछन् । मारियो घटनाको विवरण सुनाउँदा सुनाउँदै स्तब्ध भए र सबैलाई भावविह्वल बनाए ।
भौगोलिक, भौगर्भिक, सामाजिक र वातावरणीय पक्ष राम्रोसँग ख्याल नगरी विकास निर्माण गर्दा हुने मानवीय क्षतिको डरलाग्दो रूप त्यो घटना थियो । सो घटना सुनेर मलाई मेरै गाउँ ठाउँले झस्कायो । हिजोआज त मेरो गाउँमा विकासको लहर आएको छ । विकासको नाममा जुन भूगोलमा पनि मोटरबाटो खनिन्छ । जस्तो भूभागमा पनि जलविद्युतको सपना बाँडिन्छ । सडक खन्न डोजर बाह्रै महिना चल्छ । भूक्षय कति भो, कतिका घरबास र खेतबारी उठिसके त्यो हिसाबकिताब भएको छैन । कमजोर भूगोल भएको मेरो गाउँ ठाउँले यस्तो नरसंहार कहिल्यै भोग्न नपरोस् भनी भगवानलाई सम्झे । गाउँको विकास गर्छु भन्ने बिचरा अभियन्ताहरू कतै दैवी विपत्तिसँगै आत्महत्या गर्नुपर्ने परिस्थिति मेरो देशमा नआओस् भन्ने मनमनै परिकल्पना गरें ।
यात्राको क्रम चलिनैरह्यो । बाटोमा फेला परेका सल्ला र धुपीका रुखहरू प्रा. मारियो र प्रा. मार्कोले चिनाउँदै लगे । कति ठाउँमा बस रोकी डढेलो लागेका डाँडाहरू देखाउँथे उनीहरू । हेलिकप्टरबाट वन डढेलो निभाएको कथा सुनाउँथे । सय वर्षपहिले र सय वर्षपछिको बारेमा अनुमान लगाउन लगाउँथे । आपूmलाई भने गाउँमा डढेलो लाग्दा माटो र पातपतिंगरले डढेलो निभाउन दौडेको कुराले झसंग पार्दथ्यो । वन्यजन्तु र वनबीचको सम्बन्धका बारेमा घटना सुनाउँथे उनीहरू । कतै मांसाहारी जनावर लोप भएर हरिणले जंगल नाश गरेका घटना सुनाउँथे, कतै जंगली जनावर र मानवबीचको द्वन्द्वका घटनाहरू सुनाउँथे । मलाई यी सबै मेरै गाउँघरका कथा र व्यथा हुन कि जस्तो लाग्थ्यो ।
करीब चार घन्टाको यात्रापछि हामी डोलोमिटीको विशाल क्षेत्रमा पुगियो । तीनवटा प्रान्तमा पर्ने डोलोमिटी भनेका त नाङ्गा पत्रेदार पहाडहरू पो रहेछन् । अनगिन्ती संख्यामा जता पुग्यो उस्तै नाङ्गा चुचुरो देखिने । काटीकुटी मेरै गाउँका घुम्टे पहाडजस्ता तर मेरो गाउँको घुम्टे जस्तो बलियो होइन । खोइ, घुम्टे लेकको सम्झनाले उस्तै पो लागेको हो कि कुन्नि ।
डोलोमिटीकै पुछारमा रुखविरुवाको उमेर पत्ता लगाउने र रुखबाट विगतबारे अध्ययन गर्न मिल्ने पादोभा विश्वविद्यालयको अनुसन्धान केन्द्र रहेछ । प्रा. मारियोले यही केन्द्रअगाडि लन्च खाँदै अफ्रिकी प्लेट र युरोपेली प्लेटको घर्षणबाट तीन सय मिलियन वर्षअघि यो डोलोमिटी बनेको कुरा सुनाए । अनुसन्धान केन्द्र नजिकका वनमा घुमाउँदै विविध प्रजाति, क्षत्र घनत्व, प्रतिहेक्टर रुख संख्या, उमेर, विगत, वर्तमान र भविष्यबारे अनुमान गर्न लगाए । वन जंगल घुमेर बेलुका छ बजे मात्रै डोलोमिटी नामकै होटलमा आराम गरियो ।
अर्को दिन अक्टोबर १० गते बिहानको ब्रेक फास्टपछि डोलोमिटीको अध्ययन जारी रह्यो । डोलोमिटीको मानव वस्ती कति सुन्दर ! पर्यटन व्यवसाय कस्तो राम्रोसँग मौलाएको । हरेक घरमा अघिपछि माथि तल जता हेरेपनि राता र पँहेला रंगका रंगीन फूलहरू रोपेका । सडक, चोक र कुनाकन्दरा समेत कति सफा ! भिराला मैदानमा स्किइङ खेल्ने ठाउँ बनाइएका । हरेक ठाउँमा साइक्लिङ गरी पुग्न मिल्नेगरी बनाइएका । अझ वन जंगल पनि व्यवस्थित बनाई पर्यटन प्रवर्द्धन गरिएका । ती नाङ्गा डोलोमाइट्सका पहाडहरू हेर्नलाई कति व्यवस्थित ठाउँ बनाइएको ! तर मलाई भने मेरै गाउँका डाँडाकाँडा, घोडाबाँधे र घुम्टे पहाड यी डोलोमाइटभन्दा धेरै राम्रो लाग्यो । म र मेरो गाउँलाई प्रकृतिले वरदान दिएर मात्र के गर्नु, घरका गमला र वरिपरि फूल रोप्ने अनि सरसफाइ गर्न कहिल्यै सिकाइएन । प्रकृतिलाई पर्यटनसँग जोड्नलाई मेरो ठाउँका नेतालाई गफ गर्न आएपनि काम गर्ने छाँट नै आएन । मेरो गाउँ पनि कसरी बनोस्, माथिल्लो घरे जेठोदेखि पुछाराघरे कान्छोसम्म डोलोमिटी जस्तै ठाउँका होटेलमा भेटिन्छन् । अनि त मेरो गाउँ पनि कसरी डोलोमिटी जस्तै बनोस् । हुन त गाउँमा बूढा भएका बुबाआमाले धन्न यतिसम्म त गरेका छन् । खै प्रा. मार्कोले वन जंगलको अनुमान लगाएजस्तो मेरो गाउँको अनुमान लगाउने हो भने त अबको बीस वर्षपछि मेरो गाउँमा कस्तो होला । सम्झँदा पनि मन झसंग हुन्छ ।
कोर्टिनाको गाउँ हेर्दै घुम्दै करीब २,२०० मिटरको पासो जिआउमा पुगियो । अनेकथरीका नाम भएका डोलोमाइट्सका पहाडहरू देखिए । प्राध्यापकहरूले त्यस पासो जिआउबाट बोटबिरुवा चिनाउँदै ओरालो झारे । मेडिटेरेनियन क्षेत्र भएकोले मेरो गाउँको वन जंगलभन्दा प्रजातिहरू नै बेग्लै थिए । हेर्दै जाँदा गुराँसका साना प्रजाति यहाँ भेटिँदा अचम्ममा परें । प्राध्यापक मार्कोले मलाई ‘तिम्रो देशमा जत्रा ठूला र धेरै गुराँस प्रजाति होइन यहाँ त साना दुई प्रजातिका पाइन्छन्’ भने । मेरो गाउँमा त अनेकथरीका फूल फुल्ने ठिक्क उचाइका गुराँस पाइन्थे तर यहाँ त कस्तो वामपुड्के गुराँसका प्रजाति । पाइनस मुङ्गो प्रजातिका पुड्के सल्लाहरू पनि । जति हेरे पनि जहाँ घुमे पनि मेरै गाउँको पालेवनमा पाइने जति प्रजातिका वनस्पति नभेटिने ।
प्रा. मार्को पनि सगरमाथा क्षेत्रका रुखहरूको उमेरबारे अध्ययन गर्न नेपाल आएका रहेछन् । त्यसैले त पढाउँदा हिमालय क्षेत्रको उदाहरण दिँदै भन्ने गर्दथे । पाँच किलोमिटर लामो मोटरबाटो हिँड्दै विविध किसिमका वनजंगलको अध्ययन गर्दै थकित भई उही सान भिटोको होटेलमा आई वास बसियो ।
पादोभा फर्किने दिन अनुसन्धान केन्द्रमा मार्कोले रुखहरूको उमेर पत्ता लगाउने विधिका बारेमा सिकाए । अनि फेरि रुखबिरुवा हेर्दै डाँडोमा पुग्दा इटाली र अस्ट्रियाबीच भएको पहिलो विश्वयुद्धकालका रुखहरू र उतिबेलाको परिवेशबारे सुनाए । वन, जंगल, बाटो र सुन्दर बस्तीले मेरो मनलाई लिनारो पुगुन्जेल आनन्द दिलाइरहे ।
डोलोमाइट्समा पत्रेदार चट्टानहरू मात्र नभएर इतिहास पनि जोडिएको थियो । भूगोल अनि प्रकृति पनि बिल्कुलै भिन्दै थियो । सबैभन्दा मननयोग्य कुरा त प्रकृतिको सही व्यवस्थापन थियो, जसले गर्दा डोलोमाइट्सको पर्यटनलाई प्रवर्धन गरिरहेको थियो ।
डोलोमाइट्सको तीन दिनमा धेरै कुरा देखियो । जे देखे पनि यहाँभन्दा मेरै गाउँ वरिपरिका हरिया डाँडाकाँडा अनि घुम्टे पहाड नै राम्रो । मेरै गाउँमा यहाँका भन्दा धेरै प्रजातिका बोटबिरुवा अनि वन्यजन्तुहरू । तर किन मेरो गाउँ पनि डोलोमाइट्स जस्तै बन्न सकेन आफैं एकछिन घोत्लिएर सोचें । आखिर प्राकृतिक स्रोतसाधनको सही उपयोग तथा मानवीय स्रोत व्यवस्थापन नै विकासको मुख्य आधार रहेछ ।
आफूसँग सुनको थाल भए पनि मेरो गाउँ परनिर्भर छ । डोलोमिटी जस्ता ठाउँहरूबाट विप्रेषण (रेमिटान्स) नपुगी खान लाउन नै पुग्दैन । दिगो प्राकृतिक स्रोत व्यवस्थापन कार्य नजान्दा मेरो गाउँ विनाशतर्फ धकेलिएको छ । काम गर्ने माथिल्ला घरे ठुलारेदेखि तल्लो घरे कान्छोसम्म डोलोमाइट्स जस्तै कुनाकन्दरामा पुगुन्जेल मानवीय स्रोत मेरो गाउँले कसरी पाउनु ।
अनि कसरी बनोस् त मेरो गाउँ डोलोमाइटभन्दा राम्रो । हे पशुपतिनाथ, मेरो देशलाई प्रकृतिले सबै थोक दिएको छ, अब तिमीले हामीलाई प्राकृतिक स्रोत व्यवस्थापन गर्ने सद्वुद्धि देऊ ।
डोलोमाइट क्षेत्रका थप तस्वीहरू :
थापा पादोभा विश्वविद्यालय इटालीमा प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययनरत छन् ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...