सरकारले महावीर पुनले खोल्न थालेको आविश्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै उनको बारेमा धेरैथरि हल्ला भए । पुन कुनै न कुनै रुपमा चर्चामै हुन्छन् ।
उनको बारेमा धेरै हल्लाहरु सार्वजनिक भए । यसको बारेमा छिट्टै बोलिहाल्नु उपयुक्त थिएन । नाम चलेका लेखक र बुद्धिजीवीले कुरै नबुझी विचार व्यक्त गर्दा सामाजिक संजाल प्रयोगकर्ताहरुलाई उत्तेजित भए ।
मैले बिगतमा पनि महावीर पुनसंग राष्ट्रिय अविष्कार केन्द्र र त्यसको नियमित परिचालनको लागि भनेर कल्पना गरिएको १० मेगावाटको हाइड्रो प्रोजेक्टको निर्माण र संचालनको बारेमा निरन्तर इमेल मार्फत उनीसंग कुरा गरिरहेको थिएँ ।
उनले कन्सेप्ट पेपरको रुपमा तयार गरेका केही डकुमेन्टहरु मसंग पनि छन् । उनले धेरैपटक सहयोगको आश गरेका थिए । खासमा राज्यले लिनुपर्ने यसप्रकारको पहललाई उनी आफैले बोकेर हिँड्नु सकारात्मक र जिम्मेवारीपूर्ण कदम थियो ।
तर रोमन म्यागासेसे पुरस्कार र विभिन्न अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारको बिजेताको रुपमा रहेका महावीर पुनलाई पछिल्लो समयमा राज्यले केही गर्दैन र चाँहदैन भन्ने भान राम्रैसंग परेको छ, उनले आफू भन्दा अरु कोहि आफ्नै तहमा जिम्मेवार हुनै सक्दैन जस्तो मानेका छन् ।
आम मानिसको रुपमा उनका धारणाहरु र प्रतिक्रियाहरु सहि होलान, तर एउटा अभियन्ताको रुपबाट हेर्दा उनमा बढी नै उत्तेजना र घमण्ड आएको हो कि भन्ने कुरा अनुभव गर्न सकिन्छ ।
यसमा दुईवटा कुरा संगै जोडिएका छन्, राष्ट्रिय अविष्कार केन्द्र र हाइड्रो परियोजना । जसमध्ये हाइड्रो परियोजना पुरै नाफामूलक परियोजना हो भने अविष्कार केन्द्र महावीर कै भनाईमा गैरनाफामूलक प्रतिष्ठान हो ।
राज्यले उनको ब्याक्तिगत योजनालाई पुरै साथ दिनको लागि कानुनको सहारा लिनुपर्छ र कानुन अनुसार उनले माग गरेको पचास करोड राज्यले सोझै दिन सक्दैन । बरु बिबिध शीर्षकमा थोरै थोरै रकम बिनियोजन गर्न सक्छ ।
कुनै पनि संस्था या त नाफामूलक हुन्छन, या त गैर नाफामूलक हुन्छन् । महावीरसंग जोडिएर आएको मुख्य बिरोधाभाष यहि हो । उनले उत्पादन गरेको बिजुली बेच्दा नाफा नहुने भन्ने कुरा पनि भएन र संचालन गरिएको अविष्कार केन्द्रबाट उत्पादन गरेका बैज्ञानिक सामाग्रीबाट नाफा नआउने कुरा पनि भएन ।
तर आजसम्म उनको अभियान चाहिँ दान दक्षिणा (जुन पुँजीको कुनै अर्थशास्त्रीय महत्व हुँदैन) केन्द्रीत छ । दानबाट प्राप्त गरेको रकमले कमाउने अतिरिक्त रकमको भविष्य चाहिँ हामिले आजसम्म परिकल्पना गरिसकेका छैनौं ।
मैले ठमेलमा उनीबाटै संचालित एउटा क्याफेमा उनीसंग भेट्दा स्पष्ट अनुभव गरेको कुरा यहि हो । उनी मेहेनेती र उद्देश्य प्रती कटिबद्ध मान्छे हुन् । उनलाई सहयोग गर्नेहरुको ओइरो पनि लागेको छ । मलाई एउटा कुरा याद आयो, पूर्व पत्रकार रवीन्द्र मिश्रले परोपकारी अक्षय कोष खडा गर्न भनेर भयंकर अभियान चलाएका थिए । दान दक्षिणा कै आधारमा कोष खडा पनि भयो । तर उनको काम कोष खडा मात्र गर्ने देखियो, खडा भएपछी त्यो खडा को खडै रहिरह्यो, कसैको दुखमा झुकेन ।
महावीरको यो अभियान पनि एकपटक खडा भैसकेपछि खडा को खडै नरहने बिश्वास गर्न सकिँदैन । त्यसको लागि नेपालको हकमा पर्याप्त कानुनी जटिलताहरु देखिन्छन् ।
उनकै भनाईलाई सापटी लिने हो भने नेपालको कानुन पुरै परिवर्तन गर्नुपर्ने देखिन्छ, जुन सम्भव छैन । एउटा अविष्कार केन्द्रको लागि मात्र कानुन परिवर्तन गर्ने भन्ने हुँदैन ।
हामिले बिज्ञान र प्रबिधीमा बिकास चाहेका छौं, तर सुचना क्षेत्रमा देखिएको अनियन्त्रित बिकासले कैयौं देशहरुको गुप्तचर बिभागहरुलाई रुवाएको छ । हामिले बिकाससंगै त्यसको उपयुक्त ब्यबस्थापन गर्ने बाटोहरुको खोजी गर्नुपर्छ ।
सुचना प्रबिधीको बिकासमा कुनै प्वाल हुनुहुँदैन, जसले सुचना चुहाओस र देशलाई बिदेशी एजेन्टहरुसंग बन्धक राखोस । एउटा सिंगो राज्यले महावीर पुनलाई मात्र यसको जिम्मेवारी दिनुपर्छ भन्ने बिषयमा पंक्तिकार सहमत छैन ।
समाधान के त भन्ने कुरा आउँछ । महावीरले कानुन सम्मत ढंगबाट थोरै थोरै सहयोग जुटाएर भए पनि राष्ट्रिय अविष्कार केन्द्रलाई र त्यसको परिचालनको लागि भनेर कल्पना गरिएको हाइड्रो योजनालाई ब्यक्तिगत रुपमा आफ्नै नाममा दर्ता गरेर चलाउन प्रयास गर्नुपर्छ र राज्यलाई कहिँ कतै मुछ्नु हुँदैन ।
किनभने राज्यको कानुनले राष्ट्रिय अविष्कार केन्द्र बनाउनुपर्छ भन्न सक्छ, त्यसको जिम्मा महावीर पुनलाई नै दिनुपर्छ भन्न सक्दैन ।
उनको प्रयास हेरेर राज्यले केही रकम उनलाई सहयोगको रुपमा दिनुलाई उनले अन्यथा मान्नुपर्दैन । तर उनले राज्यको कानुनले भनेको बाहेक अन्य काम गर्न पाउँदैनन् ।
विशेष गरेर बैज्ञानिक अनुसन्धानका धेरै आयामहरु ब्याक्तिगत चासोको बिषय होइन, राष्ट्र र अन्तर्राष्ट्रिय चासोको बिषय पनि हुन्छ । संसारमा यस्ता अविष्कार केन्द्रहरु ब्यक्तिले निजि रुपमा चलाएको उदाहरण धेरै कम छन् ।
उनले पब्लिसिटी स्टन्टको लागि जग्गा बेच्ने कुरा, मेडल बेच्ने कुरा गर्नुपर्दैन । बरु उनले बनाउने भनेको हाइड्रोलाई व्यावसायिकरण गर्दिए हुन्छ । दस मेगावाटको जलविद्युत परियोजना दान दक्षिणामा बन्दैन । परियोजना संचालनबाट आएको मुनाफाको निश्चित प्रतिशत राष्ट्रिय अविष्कार केन्द्रको लागि खर्च गर्ने भनेर उनले जलविद्युत आयोजनाका सेयरधनीहरुलाई मनाउन चाहिँ सक्छन् ।
त्यसो त अहिले देशबिदेशबाट उठेको रकमलाई पनि सेयरकै रुपमा राखेर त्यसबाट प्राप्त हुने पुरै नाफा केन्द्रमा लगाउन सकिन्छ ।
अाविष्कार केन्द्रको परियोजनाको कल्पना महत्वाकांक्षी छ । यो कुनै संकायमा सिमित हुँदैन, असिमित कामको लागि राज्यको कानुन बाधक हुन्छ । राज्यका निर्णयहरुलाई चुनौती दिएर उनले जनतासंग खर्बौं रुपैया उठाए पनि त्यसको निर्माण र संचालन गर्न सक्दैनन् ।
उनीमाथी कहिले कहिले आरोप लाग्ने गर्छ, उनी सिआईए का मान्छे हुन भनेर । त्यस्तो तथ्यहीन कुरालाई पनि घाममा सुकाइदिउँ । उनी एउटा कर्मठ, इमान्दार र अति महत्वाकांक्षी मानिस हुन् ।
यस आलेखमा उनको अति महत्वाकांक्षाले प्रभाव पार्ने बिषयमा मात्र स्पष्ट पारिएको छ । उनको तीव्र महत्वाकांक्षाले प्रभाव पारेको मान्छेहरुको भीडको आडमा राज्यसंगै समानान्तर कानुन खडा नहोस भनेर सम्बन्धित पक्षले बेलैमा होस पुर्याउनु पर्ने देखिन्छ ।
पुनको तस्वीर विकिपिडियाबाट साभार गरिएको हो ।
Advertisment
Advertisment