इटहरी, ११ असार — ‘माया तिमी उपमेयर उठ्नुपर्छ । तिम्रो माहोल छ, घरमा कुरा गर,’ इटहरीका पूर्वमन्त्री रामकुमार सुब्बाले माया रायमाझीलाई वैशाख पहिलो साता फोन गरेर आग्रह गरे । राजनीतिमा लागेकैले श्रीमानको हत्या भएको आँखैअगाडि देखेकी रायमाझीलाई यस्तो प्रस्ताव मन परेन । उनले ठाडै भनिन्, ‘राजनीतिमा लागेकैले मैले श्रीमान् गुमाएँ, अब म पनि राजनीतिमा आउँदिन ।’
एक वर्षअगाडि आफ्नो एक्लो छोराको व्रतबन्धको निम्ता दिन पूर्वमन्त्रीको नम्बर आफ्नो मोबाइलमा सेभ गरेकी रायमाझीले व्रतबन्ध स्थगित भएको खबर दिनका लागि फोन गर्न पाइनन् । तर सुब्बाबाटै फोन आउँदा भने उनी शुरुमा अचम्मित भइन् । उसै पनि राजनीतिका कारण भोगेको पारिवारिक वियोग र त्यसमाथि घरभित्रै खुशी भएर बसिरहेको अवस्थामा उपमेयर उठ्न रायमाझीलाई कुनै जाँगर थिएन । घरमा सासू–ससुराले पनि उपमेयर उठ्ने कुरामा सहमति दिएनन् ।
राप्रपा इटहरीका नेताहरूले उनको परिवारलाई सम्झाइबुझाइ गरेपछि भने घरभित्र बसिरहेकी रायमाझीलाई उपमेयर उठ्न अचानक ऊर्जा भरिएर आयो । राजनीतिक कारणले पारिवारिक वियोग भोगेका रायमाझीका सासूससुराले पनि बुहारीलाई उठ्न हौसला दिन थाले ।
अन्नतः इटहरीमा राम्रो प्रभाव पार्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपमेयरमा माया रायमाझीको नाम सार्वजनिक ग–यो । ‘मैले मेरो उम्मेदवारी दिनुको अर्थ मेरा श्रीमानले गरेको इटहरीको विकासको योगदानलाई सम्झाउनु हो,’ आफ्नो उम्मेदवारीको अर्थ बुझाउँदै कम र नम्र बोल्ने रायमाझीले भनिन्, ‘पारिवारिक वियोगले एक्लै घर हाँक्ने महिलाले नगर हाँक्न सक्छन् भन्ने बुझाउन पनि उपमेयरमा मेरो उम्मेदवारी आएको हो ।’
छोटो प्रेम र लामो पीडाको त्यो कथाकुरा २०५७ सालको हो । माया बाँस्तोला उनका दुई दाजुहरू र एक दिदीको साथमा काठमाडौंको घरमा बसेर पढ्दै थिइन् । आमाबुवा भने पाँचथर फिदिमको घरमै बस्थे । पुसको समय थियो । माया बाँस्कोटा आमाबुवा भेट्न फिदिम आइन् ।
काठमाडौंको पाटन बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने माया बाँस्कोटा घर आउँदा फिदिममा फूटबल प्रतियोगिता भइरहेको थियो । प्रतियोगितामा मेची पहाडदेखि पूर्वी तराईका धेरै फूटबल टीमहरूको व्यापक सहभागिता थियो । घर आएकी माया फूटबल हेर्न गइन् । त्यसबेला इटहरीको फूटबल टिम र फिदिमको फूटबल टीमबीच प्रतिस्पर्धा भइरहेको थियो ।
आफ्नो टीमको हूटिङ गर्ने माया बाँस्कोटा र इटहरीको टीमको कोचिङ गर्ने गीतानिधि रायमाझी एउटै लाइनमा बसेर आ–आफ्नो टीमको पक्षमा हौसला बढाइरहेका थिए । सँगसँगैजसो बसेका बाँस्तोला र रायमाझीका आँखा जुधे । बाँस्तोलालाई त केही लागेन तर रायमाझीले बाँस्कोटालाई एकै नजरमा मन पराएछन् । मन पराउनु मात्रै के भन्नु, सिधै एकजना दाइमार्फत कुरा नै चलाएछन् ।
‘उहाँले त हाम्रो हरि थापा दाइलाई मसँग प्रेम प्रस्तावको कुरा राख्नुभएछ’, पुरानो प्रेम प्रसंग कोट्याउँदै माया भन्छिन्, ‘हरि दाइले त हाम्रो ग्रुपका सातजना केटामा सबैलाइ भन्न सक्छु, तर मायालाई भन्न सक्दिनँ भन्नुभएछ । उहाँले किन त्यसो भन्नुभयो भने मेरो स्वभाव प्रेम गर्ने खालको थिएन ।’
गीतानिधि रायमाझीले आफूलाई मन पराएको पत्ता लगाएपछि माया इटहरीको मामाघर आइन् । जेठा मामा अग्निप्रसाद सिटौलाकोमा आएकी उनले इटहरीका गीतानिधिका बारेमा धेरै कुरा सुनिन् । उनी राम्रो नेता भएको र सबैको सहयोगी भएको सुनिन् । यो सबै सुनेपछि भने मायाको मन फेरियो ।
अर्थात् पाँचथरको आफ्नो गाँउमा आएर आफूलाई मन पराउने गीतानिधिलाई मायाले गीतानिधिकै शहर इटहरीमा आएर मन पराउन थालिन् । दुुवैले मन पराएको समय एउटै शहरमा हुनुले उनीहरूको संवाद बढ्यो । अन्ततः २०५७ साल मंसिर ४ गते माया र गीतानिधिको प्रेमविवाह भयो ।
माया र गीतानिधिको प्रेमको संयोग मात्रै हैन, राजनीतिको संयोग पनि उस्तै भयो । मायाका पति इटहरीमा राप्रपाका प्रखर र प्रभावशाली नेता थिए । गीतानिधि र मायाको प्रेमविवाह भएको अर्को वर्ष छोरा जन्मियो । उता गीतानिधिले भने छोरा नजन्मिदै उनको नाम जुराइसकेका थिए – समर्पण । तर उनै समर्पण चार वर्ष पुग्न नपाउँदै बुवाको हत्या भयो ।
माया र गीतानिधिको भेटको पाँच वर्ष पुग्न नपाई गीतानिधिको हत्या भयो । राजनीतिक पृष्ठभूमिका कारण गीतानिधिको हत्या भएको हो । २०६२ साल वैशाख ३१ गते गोली हानी हत्या गरिएका गीतानिधि लडेको देख्ने माया नै पहिलो व्यक्ति थिइन् । ‘त्यो दिन घरमा म र छोरा मात्रै थियौं,’ इटहरी चोकको पश्चिम लाइनमा रहेको बसपार्क छिर्ने घुम्तीमा रहेका आफ्नो घरछेउमै हत्या गरिएका पति सम्झँदै माया भन्छिन्, ‘उहाँलाई गोली लागेको देख्ने र उठाउने मै थिएँ ।’
फिदिममा फुटबल हेर्दा गीतानिधिसँग एउटै लहरमा रहँदा आँखा जुधेको प्रसंग निकाल्दा आएको अनुहारको उज्यालो पति हत्या प्रसंगमा आउँदा खर्लप्पै हरायो । ‘भन्न त उहाँलाई माओवादीले मारिएको भने र त्यो नै २०६२ सालको सबैभन्दा ठूलो हत्या प्रकरण थियो’, आफूलाई सम्हाल्दै रायमाझी भन्छिन्, ‘उहाँको योगदान र सामाजिक भूमिका अब म पूरा गर्छु ।’
‘राजनीतिमा म हुने कुरा बोलेर उठ्दैछु’माया रायमाझीले एकल महिला र एकल अभिभावक भएर बसेको १२ वर्ष बढी भयो । बाईस वर्षमा पतिवियोगको पीडामा रहेकी रायमाझीले दोस्रो विवाह गरिनन् । बरू आफ्नो एक्लो छोरा समर्पणको पढाइलेखाइ र अभिभावकत्वमा लागिपरिन् । सामान्य भोट हाल्नेबाहेक उनको राजनीतिक सक्रियता पनि थिएन । उनले पाटन मल्टिपल क्याम्पस पढ्दा विद्यार्थी राजनीति गरिनन्, न त इटहरीमा आएपछि नेता पतिको आग्रहमा राप्रपाको महिला संगठनमै बसिन् ।
‘मेरो श्रीमानले मलाई आफ्नो भाषण सुन्न आऊ भन्नुहुन्थ्यो र तिमी पनि कुनै समितिमा बस भन्नुहुन्थ्यो’, विगततिर फर्कंदै रायमाझी भन्छिन्, ‘तर अहिले म आफैं भाषण गर्दै र भोट माग्दै हिँडेको छु ।’
गृहिणी र राजनीतिकर्मीबीच के कुरा फरक हुँदो रहेछ भन्ने प्रश्नमा रायमाझी भन्छिन्, ‘राजनीतिमा नहुने कुराहरू पनि बोल्नु पर्दोरहेछ तर म चाहिँ हुने कुरा मात्रै बोलेर उठ्दैछु,’ स्कूले हुँदा फिदिममा तीनपटक वक्तृत्वकला प्रतियोगितामा भाग लिएकी रायमाझीको त्यो बेलामात्रै थियो माइक समातेको अनुभव । अहिले पुनः माइक समातेर भाषण गर्दै हिँड्दा उनी प्रतिस्पर्धामै छिन् ।
‘त्यो बेला तीनजनाको निर्णायक मण्डलीबाट म प्रथम हुन्थें’, इटहरीको उपमेयरका उठेको प्रसंग उठाउँदै उनी भन्छिन्, ‘तर यसपटक भने ७७ हजार ६ सय ७७ जना जनताहरू मेरा निर्णायक हुनुहुन्छ । हेरौं के हुन्छ ?’
घरदैलोमा जाँदा स्थानीयले दिएको हौसला देख्दा जित्छु जस्तो लाग्ने रायमाझी बताँउछिन् । तर राजनीतिमा नसक्ने कुराहरू पनि सक्छु भनेर नभन्ने र धेरैको घरदैलोमा नपुग्नाले हार्छु जस्तो पनि लाग्ने उनले बताइन् ।
चुनावको जीतहारको गणितभन्दा आफ्नो पतिको पुरानो योगदान सम्झाउन र आफूजस्तो एकल महिलाले पनि नगर हाँक्न सक्छन् भन्ने बुझाउनु आफ्नो उम्मेदवारीको सन्देश भएको उनी बताउँछिन् ।
‘माया रायमाझीले जित्नु सबै एकल महिलाले जित्नु हो, माया रायमाझीले जित्नु भनेको सबै एकल अभिभावहरूसँग हुर्केका सन्ततिले जित्नु हो’, राजनीतिक भाषामा उनी भन्छिन्, ‘र माया रायमाझी जित्नु भनेको सबै घरका गृहिणीहरूले जित्नु हो ।’
Advertisment
Advertisment