मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् ।
८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइमा रहेको तिब्बतको मानसरोवर र त्योभन्दा झण्डै १०० मिटर माथिको कैलाश पर्वत परिक्रमा गर्ने ठाउँ दार्चेनसम्म पुगेर सकुशल फर्किएकी वीरेन्द्रनगर–१२ की नन्दकला सुवेदीको यात्रा संस्मरण रोचक छ ।
उनको यात्रा नयाँ पुस्ता र उमेर ढल्किँदै गएकाहरूका लागि उत्पे्ररणा बन्नसक्छ । मानसरोवरका साथै नन्दकलाले भारत र पाकिस्तानका विभिन्न ठाउँको यात्रा गरिन्, नेपालका त कुनै ठाउँ बाँकी रहेनन् ।
सबैभन्दा पछिल्लो यात्रा हो मानसरोवर । सबै यात्राका संस्मरण समेटेर उनले एउटा नियात्रा संग्रह नै प्रकाशन गरिन्, त्यो पनि ९३ वर्षको उमेरमा । १९८७ माघ १ गते दैलेखको पराजुल पोखरीपाटामा जन्मिएकी नन्दकलाको परिवार सुर्खेतको नेवारे बसाइँ सरी आयो ।
‘अठासी वर्षमा मानसरोवर’ पुस्तक उनका ४ छोरा र ५ छोरीले प्रकाशन गरेका हुन् । प्रौढ कक्षाबाट सिकेका अक्षरहरूको संगतले उनले कृति नै लेखिन् । नियात्रा समाज नेपालका अध्यक्ष प्रतिक ढकालले भूमिकामा लेखेका छन्, ‘नन्दकला आमाका उमेरका मानिसहरू हिँड्ने त कल्पना पनि गर्न सक्तैनन्, नातिनातिनासँग झर्कोफर्को गर्दै घरकै पिँढी कुरेर बसेका हुन्छन् अधिकांश । आमा त यो उमेरमा आएर पनि अक्षरकै सगरमाथा बन्नुभयो, अनुभवकी आमा अब अक्षरकी पनि आमा हुनुभयो ।’
उनले २०७८ असारमा पुराना भजन तथा तीज गीत संग्रह बजारमा ल्याइन् । जसमा २४ वटा भजन र २५ वटा तीजका मौलिक गीत छन् । भजन र तीजका गीतमा उनलाई विशेष रुचि लाग्थ्यो । उनी आफैंले कथेर पनि गाउँथिन् । भाका चाहिँ कुनै उस्तै हुन्थे, कुनै भिन्नै पनि हुन्थे ।
माघ १ गते ९३औं जन्मदिन पारेर उनको नियात्रा संग्रह ‘अठासी वर्षमा कैलाश मानसरोवर’ सुर्खेतमा विमोचन गरिएको थियो । मानसरोवर यात्रापछि कान्छा छोरी ज्वाइँ नन्दु उपे्रतिले उनलाई लेख्न पे्ररणा दिइरहे, जो नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत हुन् ।
‘कालले घिसारेर लग्नु अघि
रुन छाडी केइ लेख साथी
राखी छाड्नु केइ चिनो यो शून्य जगत्मा
सुकाएर नपठाउनु त्यसै भाव मनमा’
युगकवि सिद्धिचरण श्रेष्ठको यस कवितांशलाई अनुशरण गर्दै पुस्तक लेखेर आफ्नो शेषपछि नन्दकलाले परिवारलाई मात्र नभई नेपाली यात्रा साहित्यलाई उपहार दिएर प्रशंसनीय काम गरेकी छन् । चीन–तिब्बत, नेपाल तथा भारतका विभिन्न ठाउँ, शहर बजार, गाउँ, तीर्थस्थल, देवालय, मठमन्दिर, साथीसंगी एवं परिवारजनसँग यात्रा गर्दाका नौला कुराहरू उनले आफ्नै कथ्यशैलीमा बुनेकी छन् ।
उनी कर्णाली राजमार्गको बाटो हुँदै जुम्ला र राराताल पुगिन् । जीवनमा एकपटक मुक्तिनाथ पुग्नुपर्छ भन्ने सुनेकी उनी मुक्तिनाथ पनि पुगेकी थिइन् । त्यहाँ मुस्ताङ बजार पार गरेपछि बास पाउन मुस्किल भएको रोचक प्रसंग छ । स्वर्गद्वारी, लुम्बिनी, मनकामना, देवघाट पुगेका प्रसंग छन् । उनीसँग दैलेखको पञ्चकोशी र भारतको हरिद्वार, केदारनाथ, ऋषिकेश, दिल्ली, लालकिल्ला, गान्धी निवास, भारत गेट यात्राका अनेकन स्मरणीय क्षण छन् ।
प्रौढकक्षा पढेर प्रौढ कक्षाकै गुरु
२०२६ सालमा सुर्खेतमा प्रौढकक्षा आयो । उनको काँखमा काइँली छोरी हुर्कंदै थिइन् । पानीपधेंरो, घाँस दाउरा आउँदा–जाँदा बाटोमा समेत पढ्ने गर्थिन् । दियालो बालेर मध्यरातसम्म पढ्थिन् । २०२८ सालमा प्रौढ शिक्षा पढाउने मास्टर चाहिएछ । त्यो सुनेर उनी पनि जिल्ला शिक्षाको अफिसमा गइन्, अरु साना उमेरका केटीहरू पनि पुगेका थिए । त्यतिबेला शिक्षाको हाकिम भएर काठमाडौंकी रमादेवी श्रेष्ठ आएकी थिइन् । नन्दकलाको लेखपढ क्षमता देखेर उनले चकित हुँदै बधाई दिइन् । छनौटमा परिन् ।
उनी भन्छिन्, ‘प्रौढ कक्षा पढेर प्रौढ कक्षाकै गुरु बनें, प्रौढ कक्षा पढाउँदा पाएको मासिक १८० रुपैयाँ तलबले छोराछोरी पढाउन सजिलो भयो । नेपाल परिवार नियोजन संघ सुर्खेतको मोटिभेटर हुँदै संघको जिल्ला कोषाध्यक्ष समेत भइन् । राजनीतिमा उनी सुर्खेत नगर पञ्चायतको वडा सदस्य चुनिएकी थिइन् ।
पोखरामा नेपाल परिवार नियोजन संघको केन्द्रीय सम्मेलन हुँदा उनी सुर्खेतबाट गएकी थिइन् । पोखरामा तत्कालीन राजा वीरेन्द्रका काका हिमालयको घरमा पुगेर चिनजान गर्दै एक रात त्यहीँ बास बसिन् । वीरेन्द्रकी काकी कमल शाह संघको अध्यक्ष र कान्छी भाइबुहारी पे्रक्षा कोषाध्यक्ष भएका थिए । कमल शाहले ‘आज यतै बसौं’ भनेपछि हिमालय गृहमै एक रात बसेको उनी स्मरण गर्छिन् ।
उनी भन्छिन्, ‘भोलिपल्ट डुंगा चढेर फेवाताल घुम्नुका साथै वाराही मन्दिर दर्शन गर्यौं, महेन्द्र गुफा, विन्दवासिनीदेवी दर्शन गर्यौं, पोखराबाट काठमाडौं घुम्न गयौं ।’
अठासी वर्षमा कैलाश मानसरोवर
नन्दकला परिवारसहित नेपाल, भारत र पाकिस्तानका धेरै ठाउँ घुमिसकेकी थिइन् । चीनको मानसरोवर कैलाश पर्वत घुम्ने धोको पूरा हुन पाएको थिएन । श्रीमान् छँदै जाने इच्छा थियो, अधुरै थियो । उनका साइँला छोरा ट्राभल एजेन्सीसँग जाने चाँजोपाँजो मिलाउँदै थिए । ८८ वर्षको वृद्धलाई लिन सकिँदैन भन्ने जवाफ आयो ।
‘बाटोमा केही गाह्रो परे, उपचार गर्नुपरे सबै आफैं गर्ने गरी छोराहरूले कागज गरे, अरु यात्रुहरूको भन्दा ६० हजार रुपैयाँ बढी तिरेर जाने गरी कुरा मिल्यो,’ नन्दकला भन्छिन्, ‘जाने मिति नजिकिँदै गर्दा भतिजाको निधन भयो । जुठो परेपछि यात्रा रोकियो, बल्लतल्ल मिलेको मौका गुम्ने त्रास बढेको थियो । ३ हप्ताजति पर्खेर अर्को समूहमा जान मिल्ने चाँजोपाँजो मिलाएछ ट्राभल एजेन्सीले ।’
२०७५ साउनको अन्तिममा काठमाडौंबाट टोखा देवीघाट, स्याफ्रुबेसी हुँदै केरुङको बाटो भएर सुवेदी परिवार मानसरोवरको यात्रामा हिँड्यो । नेपाल–चीन सीमा क्षेत्र केरुङमा उनीहरूसँगै अन्य तिर्थालूहरू पनि थपिए । महेन्द्रनगरका ४ जना मान्छे थपिए । नन्दकलाले यात्रा वृतान्तमा लेखेकी छिन्, ‘साँझ तिब्बतको ब्रह्मपुत्र नदीको किनार सांगा पुग्यौं, बाटोमा ठूल्ठूला पाटनहरू देखिन्थे, भोटे कुकुरहरू वरपर दौडिरहेका थिए, चौंरी घोडाहरू चरिरहेका थिए, गोठालाहरू पनि देखिन्थे कतै कतै, गाडीबाट देखेको दृश्य सारै राम्रो थियो, अक्सिजन कम होला कि भनेर नेबुलाइजर बोकेका थिए छोराबुहारीले । बेला–बेला त्यसबाट औषधि राखेर वाफ लिन लगाउँथे ।’
मानसरोवर पुग्दा उज्यालै थियो । संसारै ढाकेजस्तो ठूलो ताल देखियो । माथि चमचम चम्केको कैलाश पर्वत महादेव शंकर भोलेको घर । तालको छेवैमा बस्ने व्यवस्था गरिएको थियो । नन्दकलालाई सास फेर्न गाह्रो भयो । ‘नेबुलाइजर जोडेर बसेपछि अलि सजिलो भयो, सासै फेर्न नसकेर मरिहाल्छु कि जस्तो भएको थियो, जुनी फर्किएजस्तै भयो,’ उनी सम्झिन्छिन्, ‘बिहान उठेर बाहिर निस्किँदा पूर्व दक्षिणतर्फ स्वर्ग झरेजस्तै सुन्दर ताल देखियो । मनै चंगा भयो । तालको पानी साह्रै चिसो । छोए हातै चुँडिएलाजस्तो । तालमा नुहाउँदा फोहोर हुन्छ भनेर अलिअलि छेउमा बारेर नुहाउने बनाइएको रहेछ । कैलाश पर्वतलाई हिउँले नै हिउँले ढाकेको थियो ।’
जान सक्नेहरू गौरीकुण्डसम्म पुग्छन्, नन्दकला दार्चेनसम्म पुगिन् । त्यहाँ पुग्न मानसरोवरबाट गाडीलाई कैलाशतिर २–३ घण्टाजति लाग्दो रहेछ । दार्चेन हुँदै यमद्वारसम्म पुग्यो नन्दकलाको टीम । यमद्वारमा छिरेपछि मृत्युपछि यमद्वारमा छिर्नुपर्दैन भन्ने जनविश्वास रहेछ । यमद्वारभन्दा माथि २ दिनको बाटोपछि गौरीकुण्ड छ ।
यात्रामा सम्धिनी गुमाउँदा ...
सपरिवारसहित नन्दकला पूर्वी नेपालको यात्रामा निस्केकी थिइन् । साथमा उनकी साहिँली सम्धिनी पनि थिइन् । २०४५ फागुनको कुरा हो । इलाम, दार्जिलिङ, सिक्किम घुम्ने योजनामा थिइन् । इलामको पशुपतिनगर खाना खाएर सकुशल सुतेकी सम्धिनी भोलिपल्ट ओछ्यानमै मृत भेटिइन्, आधा रातमा कुराकानी गरेर सुतेकी सम्धिनी बित्दा उनलाई अचम्म लाग्यो, पत्याउनै गाह्रो भयो, सबैका आँखामा आँसु बगे, बोल्ने कुरा केही आएन, सासु आमासँगै सुतेकी छोरी ज्ञानुले बितेको पत्तै नपाएकी रहिछन् । ‘आफैं खाटमा सुतेकी सम्धिनीलाई बोकेर आँगनमा ल्याएर सुताएँ, सम्धिनी भनिरहें, बोल्नुभएन, ममात्रै बोलिरहें,’ त्यो दुःखान्त क्षण सम्झिँदै उनी भन्छिन्, ‘छोरा बुहारीले आमालाई बोकेर काठमाडौं ल्याए, हामी पनि नाइट बसको टिकट काटेर काठमाडौं आयौं ।’
दिदीहरू हराए
लखनउ हुँदै पूर्वतिर गंगासागर पुगेर नुहाउने योजना बन्यो । दार्जिलिङ, जनकपुर हुँदै फर्किने । २०४० सालतिरको कुरा हो । सिलिगुडी पुग्दा सँगै गएका २ जना साथी हराए । परेन त फसाद ? कता खोज्नु ? बुवाछोरा दिदी र ज्वाइँलाई खोज्न निस्किए । धेरै बेर खोज्दा समेत नभेटेपछि अध्याँरो अनुहार लगाएर रित्तै फर्किए ।
‘सिलिगुडीमा अलिअलि सामान किनेर दार्जिलिङ जाने योजना थियो, दिदीहरू हराउँदा सातो गइसक्यो । सिलिगुडीबाट पानीट्यांकी जाने गाडी चढ्यौं । कतै हामीभन्दा अगाडि नै आइपुगेकी त भनेर यताउति आँखा दौडायौं, देखिएनन् । काँकडभित्तामा पनि खोज्यौं, भेटाएनौं । बुवाछोरा भोलिपल्ट बिहानै खोज्न फेरी सिलिगुडी पुगे । दिनभरी खोज्दाखोज्दै हैरान । नेपाल–भारतको पुलिसले कतै देखेनौं भन्छ । हार खाएर फर्किनुभएछ । घर फिर्ने पैसा पनि सकिने लाग्यो । जनकपुरको कनैया धर्मशालाबाट सुर्खेत परिवार नियोजनको अफिसको नम्बर पत्ता लगाएर फोन गर्यौं । अहिलेजस्तो सबैको हातमा फोन, मोबाइल थिएनन् । दिदीहरू घर आइसकेको खबर सुनेपछि ढुक्क भयौं,’ नन्दकला सुनाउँछिन्, ‘सिलिगुडीमा हराएका दिदीहरूले पानीट्यांकी जाने, नेपाल जाने भन्ने कुरा कानमा पर्नासाथ हाम्रो याद नगरी हतार–हतार त्यही कराउने गाडीमा चढेर घरतिर लागिहालेछन् ।’
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...