
विश्व फुटबलको इतिहासमा केही यस्ता नामहरू छन्, जसले मैदानमा पस्नेवित्तिकै विपक्षीको सातो लिन्छन् । ‘ला सेलेस्टे’ अर्थात्, आकाशे निलो रङ्को जर्सी लगाएको उरुग्वे तिनैमध्येको एक हो ।
थोरै जनसंख्या तर, ठूलो स्वाभिमान । विश्वकपको इतिहासमा दुई पटकको च्याम्पियन उरुग्वे अब फेरि एकपटक आफूलाई विश्व फुटबलको शक्तिकेन्द्रको रूपमा स्थापित गर्ने मिसनमा छ ।
‘गारा चारुवा’ र उरुग्वेको फुटबल दर्शन
उरुग्वेको फुटबल बुझ्न ‘गारा चारुवा’ भन्ने शब्द बुझ्नु आवश्यक छ । यो उरुग्वेलीहरूको लडाइ लड्ने र कहिल्यै हार नमान्ने अदम्य साहस हो । यही भावनाले सन् १९३० मा उरुग्वेलाई पहिलो विश्वकप विजेता बनायो ।
त्यसको २० वर्षपछि सन् १९५० मा पनि यही भावनाले नै उरुग्वे विश्वलाई चकित पार्दै ब्राजिलको माराकाना रंगशालामा अर्को उपाधि थप्यो ।
स्वर्णितम इतिहास र काला अध्यायहरू
उरुग्वेको विश्वकप इतिहास उतारचढावले भरिएको छ । सन् १९३० को पहिलो विश्वकप आयोजक उरुग्वे नै थियो । त्यतिबेला फाइनलमा अर्जेन्टिनालाई हराउँदा उरुग्वेमा राष्ट्रिय उत्सव पनि चलिरहेको थियो ।
तर, त्यसपछिका केही संस्करणमा युरोपेली टोलीहरूको बहिष्कारका कारण उरुग्वे लामो समय विश्वकपबाट टाढा रह्यो । उरुग्वेको टोली १५ पटकको कोपा अमेरिका च्याम्पियन पनि हो ।
माराकानाको मौनता
सन् १९५० को विश्वकपको फाइनल फुटबल इतिहासकै सबैभन्दा नाटकीय खेल थियो । ब्राजिललाई उपाधि जित्न बराबरी मात्र पर्याप्त थियो ।
तर, दुई लाख दर्शकको सामुन्ने उरुग्वेले ब्राजिलमाथि २–१ गोलको ऐतिहासिक जित दर्ता गरायो । यो हारपछि ब्राजिलका समर्थकसमेत उरुग्वेसामु नतमस्तक बनेका थिए ।
ब्राजिलियन समर्थक यति स्तब्ध: बनेका थिए कि, अल्सिडेस घिग्जियाले पछि भनेका थिए, ‘माराकानाको आवाज बन्द गर्ने क्षमता तीन जनासँग मात्र थियो, पोप, फ्रान्क सिनात्रा र म ।’
अन्धकारको युग
सन् १९७० को दशकपछि लामो समय उरुग्वे फुटबल संघर्षको भुमरीमा फस्यो । यो अवधिमा उरुग्वेको फुटबल सुसुप्त अवस्थामा रह्यो ।
कुनै पनि ठूला प्रतियोगितामा उरुगेको दमदार उपस्थिति देखिँदैन थियो । सन् २००६ को विश्वकप छनोटमा त उरुग्वेका पाँचजना खेलाडीले अनुशासनको हद पार गरेका कारण रातो कार्डसमेत पाएका थिए ।
‘गोल्डेन जेनेरेसनुको अन्त्य
सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा चौथो स्थान हासिल गर्दा उरुग्वेले फेरि विश्वको ध्यान आफूतर्फ तान्यो ।
डिएगो फोर्लान, लुइस स्वारेज र एडिन्सन काभानीको त्रिमूर्ति स्वरूपले उरुग्वेलाई विश्व फुटबलकै बलियो टोली बनायो ।
सन् २०२२ को कतार विश्वकपमा भने टोली समूहगत चरणबाटै बाहिरियो । स्वारेज र काभानीका लागि यो नै अन्तिम विश्वकप थियो ।
काभानी (विश्वकपमा १७ खेलको कीर्तिमान), स्वारेज (६९ गोल) र डिएगो गोडिन (१६१ क्याप्स)जस्ता किंवदन्ती खेलाडीहरूको बिदाइपछि, उरुग्वे अहिले संक्रमणकालीन अवस्थामा छ ।
तर, यो टोली ‘थकित’ छैन, बरु ‘नयाँ ऊर्जा’ले भरिएको छ । मार्सेलो बिएल्साको नेतृत्वमा रहेको यो टोली युरोपका ठूला क्लबहरूमा जमेका स्टार खेलाडीहरूको जगमा उभिएको छ ।
विश्वकपमा उरुग्वेको आरोह–अवरोह
सन् १९३० मा घरेलु मैदानमा आयोजित पहिलो विश्वकपको उपाधि चुमेको उरुग्वे त्यसको चार वर्षपछि आयोजित दोस्रो र सन् १९३८ मा आयोजित तेस्रो संस्करणमा सहभागी नै भएन ।
सन् १९५० मा आयोजित चौथो संस्करणमा उरुग्वे विश्वकपमा फर्कियो र उपाधि नै कुम्लयो । त्यसपछि सन् १९५४ मा चौथो भएको उरुग्वे त्यसको चार वर्षपछि छनौट नै हुन सकेन ।
उरुग्वेको टोली सन् १९६२ को विश्वकपमा समूहगत चरणबाटै बाहिरियो भने सन् १९६६ मा क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो ।
यसैगरी, सन् १९७० मा छनोट हुन नसकेको उरुगवे सन् १९७४ मा चौथो भयो । त्यसलगत्तै फेरि अर्को विश्वकपमा उरुग्वेले छनोट चरण नै पार गर्न सकेन ।
यसैगरी, सन् १९८२ मा पनि उरुग्वेले विश्वकप खेल्ने अवसर पाएन । त्यसपछि लगातार दुईपटक उरुग्वेको टोली अन्तिम–१६ सम्म पुग्न सफल भएको थियो ।
सन् १९९४ र सन् १९९८ को विश्वकपमा उरुग्वेको लगातार अनुपस्थित रह्यो भने सन् २००२ मा समूहगत चरणबाटै बाहिरिन बाध्य भयो ।
सन् २००६ मा छनोट चरण पार गर्न नसकेको उरुग्वेको टोली सन् २०१० मा चौथो भयो । सन् २०१४ को संस्करणमा उरुग्वे अन्तिम–१६ सम्म पुग्यो ।
यसैगरी, सन् २०१८ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुग्न सफल भएको उरुग्वेको टोली सन् २०२२ मा समूहगत चरणबाटै बाहिरिन बाध्य भयो ।
प्रशिक्षक बिएल्साको ‘ट्याक्टिकल’ क्रान्ति
अहिले उरुग्वेको टोलीमा ठूलो परिवर्तनको हावा चलिरहेको छ । लुइस स्वारेज र एडिन्सन काभानीजस्ता महान खेलाडीको युग समाप्त भएसँगै, टोली यतिबेला अर्जेन्टिनाका प्रभावशाली प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा छ ।
बिएल्सा आधुनिक फुटबलका ‘किताब’ हुन् भन्दा फरक नपर्ला । ७० वर्षीय बिएल्साको ‘बिएल्सा–बल’ शैलीले उरुग्वेलाई अझ बढी आक्रामक र अनुशासित बनाएको छ ।
सन् २०२६ को छनोट चरणमा ब्राजिल र अर्जेन्टिनाजस्ता टोलीहरूलाई पराजित गर्दै उरुग्वेले आफू बिएल्साको रणनीतिमा विश्वस्त रहेको सन्देश दिइसकेको छ ।
उरुग्वेको टोलीको मुख्य शक्ति बिएल्साले सन् २०२३ देखि जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी अर्जेन्टिना र चिलीको राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।
लिड्स युनाइटेडलाई प्रिमियर लिगमा उकालेका बिएल्साले उरुग्वेलाई ब्राजिल र अर्जेन्टिनाजस्ता टोलीविरुद्ध पनि आक्रामक फुटबल खेल्न सिकाएका छन् ।
उनको मुख्य ध्यान यतिबेला अनुभव र युवा जोशको सन्तुलन मिलाएर टोलीलाई कम्तिमा पनि विश्वकपको नकआउट चरणसम्म बलियो रूपमा पुर्याउनु रहेको छ ।
उरुग्वेको अबको चुनौती भनेको क्यानाडा, मेक्सिको र अमेरिकामा आयोजना हुने विश्वकपमा आफ्नो यही लयलाई कायम राख्नु हो ।
दुई पूर्वविजेता एउटै समूहमा
आगामी विश्वकपमा उरुग्वे समूह ‘एच’मा परेको छ । यो समूहमा विश्वकपको पूर्वविजेता स्पेन पनि छ । यसपटक स्पेनलाई उपाधिको बलियो दाबेदारका रूपमा पनि हेरिएको छ ।
त्यसैले उरुग्वेका लागि स्पेन निकै बलियो प्रतिद्वन्द्वी सावित हुने पक्का छ । यसका अतिरिक्त, एसियाली प्रतिद्वन्द्वी साउदी अरेबिया र नवप्रवेशी केप भर्डे पनि यही समूहमा छन् ।
उरुग्वेले आफ्नो पहिलो खेल जुन १५ तारिखमा साउदी अरेयिबासँग खेल्नेछ । त्यसपछि उरुग्वेले २१ तारिखमा केप भर्डे र २६ तारिखमा बलियो स्पेनको सामना गर्नेछ ।
२३औँ विश्वकप र नयाँ पुस्ताको अग्निपरीक्षा
सन् २०२६ को विश्वकप उरुग्वेका लागि नयाँ पुस्ताको अग्निपरीक्षा हो । फेड्रिको भाल्भेर्डको कप्तानीमा रहेको युवा टोलीले बिएल्साको रणनीतिलाई कति हदसम्म आत्मसात् गर्छ, त्यसैले आगामी विश्वकपमा उरुग्वेको भविष्य निर्धारण गर्नेछ ।
उरुग्वेको नयाँ पुस्ताको नेतृत्व ‘रियल म्याड्रिडुका मिडफिल्डर फेडेरिको भाल्भेर्डले गरिरहेका छन् । सन् २०१७ मा ‘डेब्यू’ गरेयता ७१ पटक राष्ट्रिय जर्सी लगाइसकेका भाल्भेर्ड च्याम्पियन्स लिगदेखि ला लिगासम्मको उपाधि उचालिसकेका खेलाडी हुन् ।
मिडफिल्डमा उनको उपस्थिति गोल, असिस्ट र डिफेन्सिभ कभरेजका लागि सधैं भरपर्दो मानिन्छ रक्षापंक्तिमा एट्लेटिको म्याड्रिडका जोसे मारिया जिमेनेज (९७ क्याप्स) र बार्सिलोनाका रोनाल्ड आराउजोको जोडी उरुग्वेको ‘पर्खाल’ बनेर उभिने पक्का छ ।
सन् २०१३ देखि टोलीको अभिन्न अंग बन्दै आएका जिमेनेजको अनुभव र युवा स्टार आराउजोको फुर्तिलो रक्षांँक्तिले विपक्षी टोलीलाई गोल गर्न निकै सकस पार्ने देखिन्छ ।
‘ला सेलेस्टे’ फेरि एकपटक विश्व फुटबलको आकाशमा चम्किने तयारीमा छ । इतिहास उनीहरूको साथमा छ, अब केवल भविष्य कोर्नु बाँकी छ ।
विश्वकपमा उरुग्वेसँग जोडिएका केही रोचक तथ्य :
० सर्वाधिक गोलकर्ता : उरुग्वेको विश्वकप इतिहासमा ओस्कर मिगुएजले आठ गोल गरेका छन् । उनी विश्वकपमा उरुग्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
० एक हातका हिरो : सन् १९३० को विश्वकपमा हेक्टर क्यास्ट्रोले जबको प्रदर्शन गरेका थिए । उनले गोल पनि गरेका थिए । उनको जन्मजात एउटा हात थिएन । तर, उनको खेल कौशलले विश्वलाई चकित पारेको थियो ।
० अनौठो अनुशासनहीनता : सन् १९३० को विश्वकपअघि गोलरक्षक एन्टोनियो माज्जालीलाई होटलबाट भागेर परिवार भेट्न गएको आरोपमा टोलीबाटै निकालिएको थियो ।
० सफलताको उदाहरण : उरुग्वेले यति सानो देश भएर पनि दुई पटक विश्वकप जितेको छ, जुन जनसंख्याको आधारमा अन्य कुनै पनि देशका लागि एउटा दुर्लभ उदाहरण हो ।
० ला सेलेस्टेको अर्थ :उरुग्वेको राष्ट्रिय फुटबल टोलीको उपनाम ला सेलेस्टे हो, जसको अर्थ ‘आकाशे निलो’ हुन्छ ।
विश्वकप फुटबलबारे यसअघिका शृखला :
- विश्व फुटबलको पर्याय ब्राजिल : २४ वर्षे खडेरी तोड्दै छैटौं स्टारको खोजीमा ‘साम्बा ब्वाइज’
- विश्व फुटबलको महाशक्ति अर्जेन्टिना: ‘मेसी युग’को उत्कर्ष र चौथो उपाधिको महाअभियान
- बोस्नियाको रोलर-कोस्टर यात्रा : युद्धको विभीषिकाबाट १२ वर्षपछि विश्वकपमा पुनरागमन
- २२ औं फिफा विश्वकप-२०२२ : कतारमा लेखिएको फुटबलको महाकाव्य, जसले ‘अजेय’ मेसीको सपना साकार पार्यो
- २१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा
- २०औँ फिफा विश्वकप : ‘माराकाना’को महासंग्राम, स्वारेजको चर्तिकला र जर्मनीको ऐतिहासिक यात्रा
- १९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो
- जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय
- १५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म