२१ जेठ २०८३, बिहीबार
विश्वकप फूटबल शृंखला- १४

११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

जेठ ११, २०८३
काठमाडौं
११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

विश्वकप फूटबलको ११ औं संस्करण सन् १९७८ को जुन १ देखि २५ तारिखसम्म अर्जेन्टिनामा आयोजना भएको थियो । विश्वकपको यो संस्करणमा पनि १६ टोली सहभागी थिए । कुल ३८ खेल खेलाइएको थियो ।

यो विश्वकपमा एसियाको प्रतिनिधित्व इरानले गरेको थियो । अफ्रिकाबाट पनि एक मात्र राष्ट्र ट्युनिसिया सहभागी थियो । ओसेनियाबाट कुनै पनि राष्ट्रले सहभागिता जनाएको थिएन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व मेक्सिकोले गरेको थियो ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र पेरु सहभागी थिए । युरोपबाट भने अस्ट्रिया, फ्रान्स, हंगेरी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, स्कटल्यान्ड, स्पेन, स्वीडेन र पश्चिम जर्मनीले भाग लिएका थिए । इरान र ट्युनिसियाको यो पहिलो विश्वकप सहभागिता थियो ।

२५ दिनसम्म चलेको अर्जेन्टिना विश्वकप धेरै कारणले चर्चित छ । यो विश्वकपमा राजनीतिको छायाँ पनि परेको थियो । त्यसैले यो विश्वकपलाई आज पनि फूटबल इतिहासको विवादास्पद र रोमाञ्चक अध्यायहरूमध्येको एक मानिन्छ ।

००००

null

राजनीतिक छायाँ र दबाब

यो विश्वकप आयोजनाको अधिकार पाउँदा अर्जेन्टिनामा राजनीतिक अस्थिरता थियो । विश्वकप शुरू हुनुभन्दा दुई वर्षअघि मात्र अर्जेन्टिनामा सैन्य गुट ‘जुन्टा’ले सत्ता कब्जा गरेको थियो ।  

देशको अस्थिर राजनीतिक अवस्था र समयमै पूर्वाधार तयार नहुँदा फिफाले विश्वकप आयोजनाको अधिकार अर्जेन्टिनाबाट खोसेर स्पेनलाई दिनेसम्मको योजना बनाएको थियो ।

तर, सैन्य सरकारले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनायो । त्यसपछि सरकारले निकै प्राथमिकताका साथ अन्तिम समयमा भए पनि प्रतियोगिता सम्पन्न गर्‍यो ।

प्रतियोगिता जसोतसो सम्पन्न भए पनि मैदानबाहिरको राजनीतिक गन्धले मैदानभित्रको खेललाई बारम्बार छायाँमा पारेको थियो ।

००००

null

‘म्याराडोनाले विश्वकपको दबाब झेल्न सक्दैनन्’

यो विश्वकपमा डिएगो म्याराडोनालाई पनि खेलाइने चर्चा थियो । त्यतिबेला विभिन्न घरेलु प्रतियोगितामा १७ वर्षीय म्याराडोनाले गजबको प्रदर्शन पनि गरिरहेका थिए ।

तर, अन्तिम समयमा आएर अर्जेन्टिनाका प्रमुख प्रशिक्षक सेसर लुइस मेनोट्टीले अर्जेन्टिनोस जुनियर्सका स्थानीय स्टार म्याराडोनालाई टोलीमा स्थान दिएनन् ।

प्रशिक्षकले भनेका थिए- 'म्याराडोना घरेलु मैदानमा विश्वकपजस्तो महत्त्वपूर्ण प्रतियोगिताका लागि अझै तयार भइसकेका छैनन् र सानो उमेरका कारण उनले विश्वकपको दबाबलाई झेल्न सक्ने छैनन् ।'

त्यसमाथि, म्याराडोनाको स्थानमा खेल्न मारियो केम्पसजस्ता प्रभावशाली खेलाडी टोलीमा थिए । केम्पसले त्यो विश्वकपमा सर्वाधिक ६ गोल पनि गरे ।

null

००००

हस्तीहरूको अनुपस्थिति र नयाँ नायकको उदय

सन् १९७४ को विश्वकप विजेता पश्चिम जर्मनी यसपटक फ्रान्ज बेकनबाउर र गर्ड मुलरजस्ता दिग्गज खेलाडी बिना नै मैदानमा ओर्लिएको थियो ।

यसैगरी, साविक उप–विजेता नेदरल्यान्ड्सको टोली पनि आफ्नो सबैभन्दा ठूला स्टार जोहान क्रुफविना नै विश्वकप यात्रामा निस्किएको थियो ।

प्रतियोगिताअघि कार्ल्स–हाइन्ज रुमेनिग (पश्चिम जर्मनी), रोबर्टो बेटेगा (इटाली), रिवेलिनो (ब्राजिल) र मिसेल प्लाटिनी (फ्रान्स)माथि धेरैको आँखा थियो ।

तर, प्रतियोगिताको अन्त्यसम्म आइपुग्दा सबैको मनमा छाएका थिए, अर्जेन्टिनाका मारियो केम्पस । वास्तवमै उनले यो विश्वकपमा कमालको प्रदर्शन गरेका थिए ।

००००

पेरुविरुद्धको ‘विवादास्पद’ ६–० र ‘फिक्सिङ’को चर्चा

सन् १९७८ को फिफा विश्वकपको सबैभन्दा चर्चित र आलोचित खेलमध्ये एक थियो, अर्जेन्टिना र पेरुबीचको भिडन्त ।

दोस्रो चरणको समूह खेलमा ब्राजिलले पोल्यान्डलाई हराएपछि फाइनलमा पुग्न अर्जेन्टिनालाई पेरुविरुद्ध कम्तीमा पनि चार गोल अन्तरको जीत आवश्यक थियो ।

नतिजा आयो, ६–० गोलको । धेरैले यो खेलमा ‘म्याच फिक्सिङ’ भएको आरोप पनि लगाए । यद्यपि, फूटबल विश्लेषकहरूले त्यो खेलमा कुनै शंकास्पद गतिविधि नभएको दाबी गरेका थिए ।

फूटबल इतिहासकार जोनाथन विल्सनले भनेका छन्, ‘यदि कसैले त्यो खेलको फुटेज विना कुनै पूर्वाग्रह हेर्ने हो भने, त्यहाँ केही पनि शंकास्पद देखिँदैन ।’

त्यो खेलमा पेरु शुरूदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । तर, अर्जेन्टिनाले आक्रामकभन्दा पनि कलात्मक खेल पस्किएको थियो ।

००००

‘कन्फेटी’को वर्षा र अर्जेन्टिनाको पहिलो उपाधि

फाइनलमा घरेलु टोली अर्जेन्टिना र नेदरल्यान्ड्स आमने–सामने थिए । त्यो खेलमा दुबै टोलीका खेलाडीबीच शारीरिक घम्साघम्सी पनि निकै भएको थियो ।

आक्रामक खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

अतिरिक्त समयमा दुई गोल गर्दै अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ३–१ ले पराजित गर्‍यो र विश्वकप फूटबलको इतिहासमै आफ्नो पहिलो उपाधि उचाल्यो ।

null

त्यो प्रतियोगिताको सबैभन्दा यादगार दृश्य भनेको अर्जेन्टिनाको हरेक खेलमा दर्शकदीर्घाबाट झारिएको ‘सेतो कन्फेटी’ अर्थात कागजका टुक्राहरूको वर्षा थियो ।

जताततै सेतो हिउँजस्तै कन्फेटीले ढाकिएको रंगशालाको दृश्यलाई आज पनि विश्वकपको एउटा विशिष्ट क्षणमध्ये एक मानिन्छ ।

००००

मानव अधिकारको प्रश्न र विरोध प्रदर्शन

सन् १९७८ को फिफा विश्वकप फूटबल इतिहासको एउटा यस्तो अध्याय हो, जहाँ एकतर्फ रंगशालामा विजयको उत्सव थियो भने अर्कोतर्फ देशको कारागारमा मानव अधिकारको क्रूर उल्लंघन भइरहेको थियो ।

अर्जेन्टिनामा आयोजना भएको उक्त विश्वकप खेलकुद र राजनीति कसरी एक–अर्कासँग जोडिन सक्छन् भन्ने एउटा विवादास्पद उदाहरण पनि हो । विश्वकप शुरू हुनुभन्दा दुई वर्षअघि अर्जेन्टिनामा सैन्य ‘जुन्टा’ले सत्ता कब्जा गरेको थियो ।

तत्कालीन सरकारले यो विश्वकपलाई आफ्नो शासनलाई वैधता दिने र विश्वसामु देश ‘शान्त र व्यवस्थित’ छ भनी देखाउने रणनीतिक अवसरका रूपमा प्रयोग गरेको थियो ।

सन् १९३६ को बर्लिन ओलम्पिकमा नाजी जर्मनीले गरेको प्रयासजस्तै, अर्जेन्टिनाको सैनिक सरकारले पनि विश्वकपलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरेको थियो ।

००००

null

‘फूटबल ठीक, यातना गलत’

यो विश्वकपको सबैभन्दा डरलाग्दो पाटो ‘ईएसएमए’को गतिविधि थियो । यो एक कुख्यात यातना गृह थियो, जुन ‘मोन्युमेन्टल रंगशाला’बाट केवल एक माइल टाढा थियो ।

अवस्था कतिसम्म विडम्बनापूर्ण थियो भने, रंगशालामा गोल हुँदा दर्शकहरू खुशीले चिच्याएको आवाज यातना गृहमा थुनिएका कैदीहरूले राम्ररी सुन्न सक्थे ।

खेलको मैदानमा रमाइलो र रंगशाला नजिकै मानव अधिकारको दमन एकै समयमा भइरहेको भन्दै विभिन्न पक्षबाट त्यसको विरोध पनि भएको थियो ।

null

विश्वका धेरै देशमा पनि यसको विरोध भएको थियो । खासगरी, फ्रान्समा ‘कोबा’ नामक समिति गठन गरी विश्वकप बहिष्कारको अभियान नै चलाइएको थियो ।

एमनेस्टी इन्टरनेसनलले ‘फूटबल ठीक, यातना गलत’ भन्ने नाराका साथ पत्रकारहरूलाई खेलको नतिजा मात्र नभई देशको वास्तविक अवस्थाबारे लेख्न आग्रह गरेको थियो ।

नेदरल्यान्ड्स, स्वीडेनजस्ता देशले विश्वकप नै बहिष्कार गर्नेबारे गम्भीर छलफलसमेत गरेका थिए । यद्यपि, अन्तिम समयमा आएर सबै टोलीले भाग लिए ।

नेदरल्यान्ड्सका स्टार जोहान क्रुफको अनुपस्थितिलाई पनि राजनीतिक अर्थ लगाइएको थियो । तर, पछि उनले आफ्नो परिवारमाथिको अपहरण प्रयासका कारण आफू नआएको स्पष्ट पारेका थिए ।

००००

null

‘प्लाजा डे मायो’का आमाहरूको साहस

यो विश्वकपको सबैभन्दा भावनात्मक पक्ष ‘मदर्स अफ प्लाजा डे मायो’को सक्रियता थियो । आफ्ना हराएका छोरा–छोरीको खोजी गरिरहेका आमाहरूले विश्वकपको विश्वव्यापी पहुँचको फाइदा उठाउँदै साप्ताहिक रूपमा मार्च निकाल्थे । उनीहरूले विदेशी पत्रकारहरूसँग आफ्नो देशको वास्तविक पीडा विश्वसामु ल्याइदिन आग्रह पनि गरेका थिए ।

यो विश्वकपका लागि सरकारले अनुमानित बजेटभन्दा १० गुणा बढी खर्च गरेको थियो । त्यसको मूल्य पछि अर्जेन्टिनाले चर्को मुद्रास्फीति र आर्थिक संकटका रूपमा चुकाउनु पर्‍यो ।

तत्कालीन खेलाडी लियोपोल्डो लुकले एक अन्तर्वार्तामा भनेका थिए, ‘म मैदानमा खेलिरहँदा मेरो मनमा भने मेरो साथीको भाइको चिन्ता थियो, जो सैनिक शासनद्वारा बेपत्ता पारिएका थिए ।’

००००

११औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :   

० अफ्रिकाको उदय : ट्युनिसियाले मेक्सिकोलाई हराएको थियो । उक्त जितसँगै ट्युनिसिया विश्वकपको फाइनल चरणमा खेल जित्ने पहिलो अफ्रिकी टोली बनेको थियो ।

null

 १६ टोलीको अन्तिम अभ्यास : यो विश्वकपमा अन्तिमपटक १६ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसपछि सन् १९८२ देखि टोलीको संख्या बढाएर २४ पुर्‍याइएको थियो ।

० गोलको वर्षा : यो विश्वकपमा एक सय दुई गोल भएको थियो (औसत २.६८ गोल प्रति खेल) ।

० कार्डको प्रयोग : विश्वकपको यो संस्करणमा प्रतियोगिताभर तीन रातो र ६५ वटा पहेँलो कार्ड प्रयोग भएको थियो ।

० तेस्रो स्थान : तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलले इटालीलाई २–१ गोलले पराजित गरेको थियो ।

null

० मस्कट र बल : यो विश्वकपमा प्रयोग गरिएको मस्कटको नाम ‘गौचिटो’ राखिएको थियो । आधिकारिक बल भने एडिडास ट्याङ्गो थियो ।

० नेदरल्यान्ड्सको दुर्भाग्य : नेदरल्यान्ड्सको टोली लगातार दोस्रोपटक विश्वकपको फाइनलमा आयोजक राष्ट्रसँग पराजित भएको थियो ।

पढ्नुहोस् यो पनि :

विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

१० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

salt training

कमेन्ट गर्नुहोस्