
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री डा. धवलशमशेर राणाको पार्टीबाट बहिर्गमनको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गरेर लिङ्देनले पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको अवस्थामा राणाले पार्टी छाड्ने निर्णय गरेको समाचार अप्रत्याशित रहेको बताएका छन्।
उनले हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने, उक्त बैठकले महाधिवेशनको कार्यतालिका तय गर्ने तथा त्यससम्बन्धी प्रस्ताव महामन्त्री राणा समेत रहेको समितिले पेश गर्ने निर्णय गरिसकेको स्मरण गराएका छन्।
अध्यक्ष लिङ्देनले पूर्वअध्यक्षहरू, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाको सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशनको प्रक्रियामा सहभागी हुन राणासँग आग्रह गरेका छन्।
साथै उनले पार्टीका देश तथा विदेशमा रहेका नेता–कार्यकर्तालाई एकता विपरीतका गतिविधिमा संलग्न नहुन, विचलित नभई संगठनलाई सुदृढ बनाउन तथा स्थानीय तह र जिल्ला अधिवेशनको प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन अपिल गरेका छन्।