
साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।
दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाको विशेष सेवा एवं सहभागिता रहने छ। साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
दर्शनार्थीका लागि तयारी भइरहेको र आज रातिसम्ममा सबै तयारी पूरा हुने उनले बताए। पशुपतिनाथ मन्दिरको चारै ढोका सोमबार बिहान ३ बजेदेखि भक्तजनका लागि खुला गरिने छन्। बेलुका आरतीपछि राति ८ बजेसम्म पशुपतिनाथ मन्दिरका ढोका भक्तजनका लागि खुला गर्ने तयारी छ। “विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुनेछ,” सदस्य सचिव श्रेष्ठले भने।
चार ढोकामा चारतिरबाट चार लाम
आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि चारै ढोकामा चारतिरबाट चार लाइन रहने छन्। पहिलो मार्ग गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति कैलाश हुँदै १ नं. ढोकाबाट प्रवेश गरेर त्यहाँ रहेको जुत्ता–चप्पल कक्षमा जुत्ता राखी रुद्रगारेश्वर माथिको बाटो भएर बासुकी मन्दिर हुँदै भगवान्को उत्तर ढोकाबाट दर्शन र पूजा गरेर पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको सदस्य सचिव श्रेष्ठले बताए।
मार्ग नं. १ बाट नै अर्को दोस्रो लाइन बोलबमका लागि मात्र रहने छ। उक्त लाइन गुह्येश्वरीतिरबाट जयबागेश्वरी हुँदै दथुटोल, पाँचाटोल, बजार, मूलढोका भएर कैलाशको सोही ढोकाबाट प्रवेश गरी रुद्रगारेश्वर हुँदै उत्तर ढोकामा जल चढाउने व्यवस्था मिलाइएको छ।
सदस्य सचिव श्रेष्ठका अनुसार मार्ग नं. २ जयबागेश्वरी, बालकुमारी, भुवनेश्वरी हुँदै नासल चोकको जुत्ता–चप्पल कक्षमा जुत्ता राखेर झम्केश्वरी मन्दिरको बायाँको सानो ढोकाबाट प्रवेश गरी मूल ढोका (पश्चिम) बाट दर्शन–पूजा गरेर नन्दीलाई दायाँ पार्दै मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ।
मार्ग नं. ३ विशेष पूजा र विशेष सुलभ दर्शनका लागि मात्र कोष कार्यालय तथा गौशालातिरबाट आएर भुवनेश्वरी चोकको भकुन्डोलस्थित जुत्ता–चप्पल कक्षमा जुत्ता राखी पूर्वतिर गई दक्षिणको बज्रघरको सानो ढोकाबाट प्रवेश गरेर बज्रघर चोकमा जम्मा हुने र त्यहाँ पास लिएर बज्रघर उत्तरतिरको भर्याङबाट चौँसट्ठी बाहिरबाट दक्षिण ढोका भैरव हुँदै पूर्व ढोकाबाट विशेष पूजा गर्न जाने तथा पूजा सकेर सोही बाटो फर्कने व्यवस्था मिलाइएको छ। विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म हुने सदस्य सचिव श्रेष्ठले बताए।
मार्ग नं. ४ पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी, पञ्चदेवल पूर्वी बाटो हुँदै बज्रघरमा रहेको जुत्ता–चप्पल कक्षमा जुत्ता राखेर दक्षिणको सानो ढोकाबाट प्रवेश गरी चौँसट्ठी घुमेर दक्षिण ढोकाबाट प्रवेश गरेर दक्षिणबाट दर्शन गरी दक्षिणको अर्को बाटोबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।
मार्ग नं. ५ विशेष सुलभ दर्शनका लागि मात्र तिलगङ्गा पर्यटक ढोकाबाट विशेष सुलभ दर्शनको टिकट लिएर राम मन्दिरमुनिबाट वत्सलेश्वरी माताको मन्दिर हुँदै त्यहाँ रहेको लामपाटीमा जुत्ता–चप्पल राखी बागमती हुँदै आर्यघाटको भर्याङबाट उक्लिएर पूर्व ढोकाबाट विशेष सुलभ दर्शन गरी प्रसाद लिएर सोही बाटो फर्कने व्यवस्था गरिएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए।
विशेष सहुलियत दर्शन बिहान ३ बजे मन्दिर खुलेदेखि नै सुरु हुनेछ। यो सेवा दिनभर र बेलुका आरतीसम्म नै हुनेछ। मार्ग नं. ६ भुवनेश्वरी चोकको नासल चोक छिर्ने सानो ढोकाबाट प्रवेश गराएर मूलढोकासम्म लगी भट्ट र भण्डारी मन्दिर प्रवेश गर्ने सानो बाटोबाट वृद्ध, असक्त, अपाङ्ग र बच्चाबच्चीलाई विशेष दर्शनको व्यवस्था मिलाइएको छ।
विशेष पूजाका प्रकार
प्रवेश बज्रघरको सानो ढोकाबाट र तिलगङ्गा हुँदै पूर्वी बागमतीबाट प्रवेश गर्ने व्यवस्था रहेको छ। पञ्चामृत पूजा रु ३,१०० तिरेर बिहान ८ः३० बजेदेखि १२ बजेसम्म गर्न सकिने कोष सञ्चालक परिषद् सदस्य भण्डारीले बताए।
फलफूल–मिठाइसहितको पञ्चामृत पूजा रु ७,५०० तिरेर बिहान ८ः३० देखि १२ः०० बजेसम्म मात्र गर्न पाइने व्यवस्था मिलाइएको छ। विशेष सुलभ दर्शन–पूजा प्रसादिको शुल्क रु १,००० तोकिएको छ। यसका लागि बिहान ३ बजे मन्दिर खुलेदेखि बेलुका आरतीसम्म समय निर्धारण गरिएको छ।
विशेष पूजाको रसिद मूलढोका अगाडिको एसबीआई बैंकबाट लिन सकिने व्यवस्था गरिएको छ। विशेष सुलभ दर्शन–पूजा प्रसादिको रसिद भुवनेश्वरी चोकस्थित लकर सेवा, माछापुच्छ्रे बैंक एटिएम रहेको काउन्टर तथा तिलगङ्गा पर्यटक काउन्टरबाट प्राप्त गर्न सकिने छ।
हंशमण्डपमा सबै स्वयंसेवक, कर्मचारी, सुरक्षागार्ड र प्रहरीका लागि नास्ता, खाजा, चिया र खानाको प्रबन्ध गरिएको कोषले जनाएको छ। पार्किङका लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान ठूलो पार्किङ, भण्डारखाल अगाडि, कोष परिषद्, सिफल चौर, उमाकुण्ड पार्किङ, गुह्येश्वरी पार्किङ, दिव्य पार्टी प्यालेस अगाडि व्यवस्था गरिएको छ। स्वास्थ्य सेवा पञ्चदेवल पूर्व सत्तल, भुवनेश्वर चोक, उमाकुण्ड र जयबागेश्वरीमा उपलब्ध हुनेछ।
चन्दन प्रसाद वितरणका लागि पशुपति मूलढोका अगाडि, भकुन्डोल दक्षिणढोका पाटी र दक्षिणामूर्तिमा व्यवस्था गरिएको छ। पशुपतिनाथमा मोबाइल शौचालय, एम्बुलेन्स र प्राथमिक उपचारको व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए।