२९ जेठ २०८३, शुक्रबार
विश्वकप फुटबल शृंखला- २८

१२ वर्षपछि विश्वकपमा कोटे डी आइभोर : ड्रोग्बा र टुरेको विरासत बोकेको ‘द एलिफेन्ट्स’ले इतिहास रच्ला त ?

जेठ २५, २०८३
काठमाडौं
१२ वर्षपछि विश्वकपमा कोटे डी आइभोर : ड्रोग्बा र टुरेको विरासत बोकेको ‘द एलिफेन्ट्स’ले इतिहास रच्ला त ?

विश्व फुटबलको महाकुम्भ- फिफा विश्वकप । यो त्यस्तो मञ्च हो जहाँ हरेक टोलीको सपना इतिहास लेख्ने हुन्छ । यही सपना बोकेर अफ्रिकी फुटबलको ‘पावर हाउस’ कोटे डी आइभोर अर्थात्, आइभरी कोस्ट १२ वर्षको लामो प्रतीक्षापछि फेरि एकपटक विश्वकपको मञ्चमा ओर्लिन तयार छ ।

सन् २०१४ को संस्करणपछि पहिलो पटक विश्वकममा फर्कन लागेको ‘द एलिफेन्ट्स’ (आइभरी कोस्टको फुटबल टोलीको उपनाम)का लागि सन् २०२६ को विश्वकप केवल सहभागिता होइन ।

बरु आइभरी कोस्टका लागि दुई दशकभन्दा लामो समयदेखि नतिजाको पर्खाइमा रहेका आफ्ना समर्थकलाई गतिलो उपहार पस्कने सुनौलो अवसर पनि हो ।

एक ‘इमर्जेन्सी’ नायकको उदय

कोटे डी आइभोरको यो पुनरागमनको पछाडि एक रोचक कथा छ र त्यसको मुख्य पात्र हुन्, प्रमुख प्रशिक्षक इमर्स फाए ।

सन् २०२४ को अफ्रिका कप अफ नेसन्सको बीचमै यो टोलीले प्रशिक्षक फेरेको थियो । त्यसपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाए, फाएले ।

अन्तरिम प्रशिक्षकको भूमिकामा उनले जुन चमत्कार गरे त्यो विश्व फुटबलकै लागि अनुकरणीय बन्न पुग्यो । उनले टोलीलाई च्याम्पियन बनाएर सबैलाई चकित पारे ।

null

४१ वर्षीय फाएको नेतृत्वमा टोलीले नाइजेरियालाई हराउँदै उपाधि उचालेको थियो । त्यसयता, यो टोलीले विश्वकप छनोटमा एउटा पनि खेल नहारी अनि, एक गोल पनि नखाइ आफ्नो बलियो उपस्थिति देखाउँदै आएको छ ।

इतिहासको भारी र नयाँ सपना

कोटे डी आइभोरको विश्वकप इतिहास त्यति सुखद् छैन । सन् २००६ मा ‘डेब्यु’ गरेयता यो टोली तीनपटक (सन् २००६, सन् २०१० र सन् २०१४) विश्वकपमा पुगेको थियो ।

तर, हरेक पटक आइभरी कोस्टले समूहगत चरणबाटै घर फर्कनु पर्‍यो । खासगरी, सन् २०१४ को ब्राजिल विश्वकपमा ग्रिसविरुद्धको खेलमा ९३औँ मिनेटमा ब्यहोरेको पेनाल्टीले टोलीको नकआउट चरणमा पुग्ने सपना चकनाचुर पारेको थियो ।

null

डिडियर ड्रोग्बा र याया टुरेजस्ता दिग्गज खेलाडीले पनि पूरा गर्न नसकेको त्यो सपना अब नयाँ पुस्ताले पूरा गर्नुपर्ने चुनौती छ ।

नयाँ पुस्ताको काँधमा जिम्मेवारी

यसपटक टोलीमा अमाद डियालो र यान डिओमान्डेजस्ता युवा प्रतिभाको उदय भएको छ । फ्रान्क केसी, इब्राहिम संगारे र सेको फोफानाजस्ता अनुभवी खेलाडीको साथले टोलीलाई थप सन्तुलित बनाएको छ ।

प्रशिक्षक फाएले टोलीलाई ४–३–३ वा ४–२–३–१ को फर्मेसनमा खेलाउँदै विपक्षीलाई काउन्टर अट्याकमा धूलो चटाउने रणनीति बुनेका छन् ।

विश्वकप–२०२६ : के छ सम्भावना ?

कोटे डी आइभोर यसपटक विश्वकपको समूह ‘ई’मा परेको छ । पूर्वविश्वकप विजेता जर्मनी पनि यही समूहका छ । यो समूहमा इक्वेडर र कुराकाओ पनि छन् ।

जर्मनी बलियो टोली भए पनि इक्वेडरसँगको भिडन्त आइभोरी कोस्टका लागि निर्णायक साबित हुन सक्छ । आइभरी कोस्टले आफ्नो पहिलो खेल जुन १४ तारिखमा इक्वेडरसँग खेल्नेछ ।

null

त्यसपछि, जुन २० तारिखमा आइभरी कोस्टले टोरन्टोमा जर्मनीको सामना गर्नेछ । आइभरी कोस्टको अन्तिम खेल जुन २५ तारिखमा कुराकाओसँग परेको छ ।

टोलीका लागि समूहगत चरण पार गर्नु नै पहिलो सफलता हुनेछ । यदि, टोली नकआउट चरणमा प्रवेश गर्न सक्यो भने, यो कोटे डी आइभोरको फुटबल इतिहासकै नयाँ अध्याय हुनेछ ।

समर्थकको उत्साह

कोटे डी आइभोरको खेल हुनु भनेको रंगशालामा एक प्रकारको ‘कार्निभल’ हुनु हो । सुन्तला, सेतो र हरियो रङमा सजिएका समर्थकहरू, ड्रमको तालमा गुन्जिने गीतहरू र ‘आलेज ले एलिफेन्ट्स’को नाराले स्टेडियमलाई उत्सवमय बनाउने पक्का छ । 

डिडियर ड्रोग्बा र याया टुरेको युग सकिए पनि, नयाँ जोश र फाएको रणनीतिक कौशल बोकेको कोटे डी आइभोर यसपटक इतिहास बदल्ने दाउमा देखिन्छ । के १२ वर्षको यो पर्खाइले टोलीलाई गौरवपूर्ण सफलता दिलाउला ? त्यो त मैदानले नै बताउने छ ।

यस्तो छ टोलीको रणनीति : ‘हामी इतिहास रच्न जाँदैछौँ’

आइभरी कोस्टले आफ्नो २६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । १२ वर्षको लामो प्रतीक्षापछि विश्वकपको मञ्चमा फर्किएको ‘द एलिफेन्ट्स’को टोलीले यसपटक अमेरिका, मेक्सिको र क्यानडामा आफ्नो जादु देखाउने योजना बुनेको छ ।

टोलीका मुख्य प्रशिक्षक फाएले घोषणा गरेको टोलीमा अनुभव र युवा जोशको सन्तुलन देखिन्छ । टोली सार्वजनिक गर्दै ४२ वर्षीय रणनीतिकार फाएले भनेका छन्, ‘हामी अमेरिका घुम्न वा संख्या बढाउनमात्र जाँदै छैनौँ । बरु, हामी उच्च लक्ष्य र महत्वाकांक्षा बोकेर जाँदै छौँ, जसले आइभरी कोस्टका जनताको अपेक्षालाई पूरा गर्नेछ । हाम्रो टोली अमेरिकी महाद्वीपमा अमिट छाप छाड्न सक्षम छ ।’ 

null

सन् २०२३ मा आफ्नै भूमिमा अफ्रिका कप अफ नेसन्स जित्दा आइभरी कोस्टका जनता एक ढिक्का भएर उभिएका थिए । फाए त्यही एकता र उत्साह विश्वकपमा पनि देख्न चाहन्छन् । ‘हामी १२ वर्षपछि फर्किएका छौँ र यो पुनरागमन भव्य हुनुपर्छ,’ उनी भन्छन् ।

प्रशिक्षक फाएले रक्षापँक्ति र मिडफिल्डलाई टोलीको मेरुदण्डका रूपमा उभ्याएका छन् । टोलीमा घिसलेन कोना, विल्फ्रेड सिंगो, गुएला डो र इभान एनडिकाजस्ता अनुभवी खेलाडी छन् ।

इभान एनडिकालाई आइभरी कोस्टको रक्षापँक्तिको मुख्य खम्बा मानिएको छ । मिडफिल्डको बागडोर कप्तान फ्रान्क केसीले सम्हाल्ने छन् ।

टोलीको सबैभन्दा चासोको विषय भनेको आक्रमणपँक्ति थियो । यसपटक टोलीमा अमाद डियालोसँगै यान डियोमान्डेलाई पनि समावेश गरिएको छ ।

null

डियोमान्डेले सन् २०२५/२६ को बुन्डेसलिगा सिजनमा आरबी लाइप्जिगका लागि उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई उदयमान खेलाडीका रूपमा स्थापित गरेका छन् ।

टोलीको पहिलो रोजाइको स्ट्राइकरका रूपमा इभान गुइसाण्डले जिम्मेवारी पाएका छन् । इन्टर मिलानका एन्ज–योआन बोनीले पनि राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्ने तयारी गरेका छन् । ओजीसी नाइसका वाहीले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने छन् ।

null

प्रशिक्षक फाएले तयार पारेको रिजर्भ खेलाडीको सूचीमा पनि केही रोचक नामहरू छन् । मार्चको मैत्रीपूर्ण खेलमा प्रभावशाली प्रदर्शन गरेका मार्सियल गोडोलाई पनि टोलीको नजिक राखिएको छ । यो सूचीमा सेबास्टियन हेलरको नाममा पनि छ ।

विश्वकप फुटबलबारे यसअघिका शृ‌खला :

- २२ औं फिफा विश्वकप-२०२२ : कतारमा लेखिएको फुटबलको महाकाव्य, जसले ‘अजेय’ मेसीको सपना साकार पार्‍यो

- २१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा

- २०औँ फिफा विश्वकप : ‘माराकाना’को महासंग्राम, स्वारेजको चर्तिकला र जर्मनीको ऐतिहासिक यात्रा

- १९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो

- जब जर्मनीले विश्वलाई ‘फ्यान फेस्ट’को जादु देखायो, समर्थकहरू ‘अन्डरवेयर’ मात्र लगाएर खेल हेर्न बाध्य भए

- ​१७औँ विश्वकप : एसियाली आकाशमा लेखिएको इतिहास- रोनाल्डोको 'चमत्कारी' पुनरागमन र केही रोचक तथ्यहरू

- जब विश्वकपले काचुली फेर्‍यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय

१५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो

१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’

५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?

​- १३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म

​- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

- विश्व फुटबलमा मोरक्कोको ‘जादुमयी’ यात्रा : फेरि कतारको सफलता दोहोर्‍याउने दाउमा कीर्तिमानी ‘एटलास लायन्स’

-  ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

- कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

- सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

​- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

salt training

कमेन्ट गर्नुहोस्