
फुटबलको विश्वमञ्चमा अर्जेन्टिनाको नाम सुन्नेवित्तिकै समर्थकको आँखा अगाडि एउटा यस्तो टोलीको चित्र आउँछ, जसले इतिहास बनाउन र तोड्न दुवै जानेको छ ।
सन् १९३० को पहिलो विश्वकप फाइनलदेखि सन् २०२२ को कतार विश्वकपको रोमाञ्चक जितसम्म, अर्जेन्टिनाको यात्रा खेलमात्र नभएर कीर्तिमानहरूको विशाल भण्डार पनि हो ।
विश्व फुटबलको इतिहासमा अर्जेन्टिनाको नाम यस्तो गौरवशाली राष्ट्रका रूपमा दर्ज छ, जसले मैदानभित्र सधैं रचनात्मक फुटबल पस्कियो र विश्वलाई पटक–पटक रोमाञ्चित तुल्यायो ।
सन् २०२२ को कतार विश्वकपमा तेस्रो ‘स्टार’ थपेपछि उत्साही बनेको नीलो र सेतो जर्सी पहिरिने यो टोलीले अब सन् २०२६ को विश्वकपमा इतिहास दोहोर्याउने सपना पालेको छ ।
१९औँ पटक विश्वकपको मञ्चमा ओर्लन तयार देखिएको अर्जेन्टिनाका लागि यो केवल अर्को विश्वकप होइन, बरु आफ्नै कीर्तिमानको रक्षा गर्ने ‘गतिलो अवसर’ पनि हो ।
पहिलो संस्करणमै गजबको प्रदर्शन
सन् १९३० मा उरुग्वेमा आयोजित फिफा विश्वकपको पहिलो संस्करणदेखि नै अर्जेन्टिनाले सहभागिता जनाउँदै आएको छ ।
यद्यपि, अर्जेन्टिनाले विश्वकपको सबै संस्करण खेलेको छैन । पहिलो संस्करणमा उप–विजेता बनेको अर्जेन्टिना दोस्रो संस्करणमा अन्तिम–१६ सम्म पुगेको थियो ।
त्यसपछि अर्जेन्टिनी टोली विभिन्न कारणले लगातार तीन संस्करणमा अनुपस्थित रह्यो । सन् १९५८ मा अर्जेन्टिनी टोली फेरि विश्वकपमा फर्कियो र समूहगत चरणबाटै बाहिरियो ।
त्यसलगत्तैको संस्करणमा पनि समूहगत चरणभन्दा अगाडि बढ्न सकेन । सन् १९६६ को संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट भएन । त्यसयता भने अर्जेन्टिना विश्वकपको हरेक संस्करणमा सहभागी हुँदै आएको छ ।
घरेलु मैदानको पहिलो उदय
अर्जेन्टिनाका लागि पहिलो खुसी सन् १९७८ मा आफ्नै घरेलु मैदानमा आयो । अर्जेन्टिनी टोलीले पहिलो पटक विश्वकपको उपाधि जितेको यही संस्करणमा हो ।
प्रशिक्षक सेजर लुइस मेनोटीको रणनीतिक कौशल र मारियो केम्पसको व्यक्तिगत जादुले भरिएको उक्त टोलीले नेदरल्यान्ड्सलाई फाइनलमा ३–१ गोलले हराएको थियो ।
म्याराडोनाको ‘वन म्यान शो’
पहिलो उपाधि जितेको आठ वर्षपछि सन् १९८६ मा मेक्सिकोमा डिएगो म्याराडोनाले विश्व फुटबलमा एउटा यस्तो अध्याय लेखे, जुन आजसम्म पनि कसैले मेटाउन सकेको छैन ।
उनको व्यक्तिगत कला, नेतृत्व क्षमता र विपक्षीलाई छलाउने अचूक जादुले अर्जेन्टिनालाई दोस्रोपटक विश्व च्याम्पियन बनायो ।
विश्वकपको त्यो संस्करणमा म्याराडोनाले गरेको कमालको प्रदर्शनलाई विश्व फुटबलमा अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत प्रदर्शन मानिन्छ ।
जब मेसीको सपना साकार भयो
सन् २०२२ मा कतारमा सम्पन्न विश्वकप अर्जेन्टिनाका लागि मात्र नभई लियोनल मेसीका लागि पनि जीवनभर बिर्सिन नसक्ने क्षण थियो ।
कतार विश्वकपको समूहगत चरणको आफ्नो पहिलो खेलमै अर्जेन्टिनी टोली साउदी अरेबियासँग अनपेक्षित रूपमा पराजित भएको थियो । त्यसपछि भने टोली अजेय बन्यो ।

यो संस्करणको फाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी थियो, पूर्वविजेता फ्रान्स । खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको रोमाञ्चक स्थितिमा सकियो ।
त्यसपछि पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै मेसीले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पूरा गरे । यो फाइनल केवल खेल थिएन, यो मेसीको महानताको अन्तिम पुष्टि पनि थियो ।
तीन पीडादायी पल
विश्वकपको उपाधि उचाल्ने सँघारमा पुगेर पनि तीनपटक उप–विजेतामा सीमित बन्नु परेको तितो यथार्थ पनि अर्जेन्टिनाले बोकेको छ ।
सन् १९३० मा आयोजित पहिलो विश्वकपमै फाइनलसम्म पुगेको अर्जेन्टिनी टोलीले उपाधि भिडन्तमा छिमेकी उरुग्वेसँग पराजित भएको थियो ।
यसैगरी, सन् १९९० को विश्वकपमा म्याराडोनाको नेतृत्वमा फाइनलसम्म पुगेको अर्जेन्टिना उपाधि भिडन्तमा जर्मनीसँग स्तब्ध: बनेको थियो ।
यसैगरी, सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगेको अर्जेन्टिना फेरि एकपटक जर्मनीको अवरोधलाई पार गर्न असफल रह्यो, जुन मेसीका लागि एउटा ठूलो व्यक्तिगत चोट थियो ।
स्कालोनीको रणनीतिक क्रान्ति
सन् २०१८ को विश्वकपमा फ्रान्ससँगको अपत्यारिलो हारपछि अर्जेन्टिनाको फुटबल धराशायी हुने अवस्थामा पुगेको थियो ।
त्यही संकटको घडीमा अर्जेन्टिनी फुटबलमा प्रवेश भएको थियो, लियोनल स्कालोनीको । त्यसपछि उनले जे गरे, त्यसले अर्जेन्टिनी टोलीलाई फेरि सफलताको शिखरमा पुर्यायो ।
श्ुरूमा अन्तरिम प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हालेका स्कालोनीले टोलीमा जोभानी लो सेल्सो, रोड्रिगो डी पल र लाउटारो मार्टिनेजजस्ता युवा प्रतिभाहरूलाई एकीकृत गरे ।
स्कालोनीले केवल खेलाडी परिवर्तन गरेनन्, बरु टोलीको ‘विनिङ मेन्टालिटी’ अर्थात्, खेल जित्ने मानसिकता) नै फेरिदिए ।
सन् २०२१ को कोपा अमेरिका उपाधिले अर्जेन्टिनाको झण्डै तीन दशक लामो खडेरी अन्त्य गर्यो । त्यो उपाधिले टोलीमा आत्मविश्वासको नयाँ लहर पनि ल्यायो ।
त्यसपछि, सन् २०२२ को फिफा विश्वकप र सन् २०२४ को कोपा अमेरिकामा हात पारेको सानदार सफलताले स्कालोनीको टोलीलाई विश्व फुटबलको निर्विवाद नायक बनाइदियो ।
छनोट प्रतियोगितामा अब्बल प्रदर्शन
अर्जेन्टिनी टोली छनोट प्रतियोगितामा पनि अब्बल प्रदर्शन गर्दै विश्वकप मञ्चमा पुगेको हो । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा अर्जेन्टिनाले १८ खेलबाट ३८ अंक बटुलेको थियो ।
यो क्षेत्रको छनोट प्रतियोगितामा कुल १० टोली सहभागी थिए र तालिकाको माथिल्लो ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुने प्रावधान थियो ।
अर्जेन्टिनाले १२ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाल्यो । अर्जेन्टिनी टोली केवल चार खेलमा पराजित भएको थियो ।
छनोट प्रतियोगितामा अर्जेन्टिनी टोलीले विपक्षीको पोष्टमा ३१ गोल गरेको थियो । आफूले भने केवल १० गोल खाएको थियो ।
आगामी विश्वकपको अवस्था
सन् २०२६ को विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । यो समूहमा अल्जेरिया, अस्ट्रिया र जोर्डन पनि छन् ।
प्रतिद्वन्द्वीहरू तुलनात्मक रूपमा केही कमजोर देखिन्छन् । तर, सबै सहभागी छनोट चरणमा अब्बल प्रदर्शन गर्दै मुख्य प्रतियोगितासम्म पुगेका हुन् । त्यसैले यात्रा सजिलो छैन ।
अर्जेन्टिनाले आफ्नो पहिलो खेल जुन १६ तारिखमा अल्जेरियासँग खेल्नेछ । त्यसपछि अर्जेन्टिनाले जुन २२ मा अस्ट्रियासँग दोस्रो र जुन २७ तारिखमा जोर्डनसँग तेस्रो खेल खेल्नेछ ।
छैटौँ पटक विश्वकप मैदानमा फुटबलका जादुगर
विश्व फुटबलको मैदानमा एउटा नाम, जसले दुई दशकभन्दा बढी समयदेखि आफ्नो जादु चलाइरहेको छ, लियोनल मेसी ।
३८ वर्षीय यी महान् खेलाडी फेरि एकपटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च ‘फिफा विश्वकप’मा देखिने भएका छन् ।
सन् २०२६ को विश्वकपका लागि अर्जेन्टिनाको २६ सदस्यीय टोलीको घोषणा भएसँगै मेसीले आफ्नो छैटौँ विश्वकप खेल्ने पक्का भएको हो ।
कतारमा चार वर्षअघि फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आफ्नो देशलाई तेस्रोपटक विश्व विजेता बनाएका मेसीले नै यसपटक पनि टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।
२६ खेलका साथ विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान पनि मेसीकै नाममा छ । सन् २०२६ को संस्करणमा सहभागिता जनाएसँगै उनी पोर्चुगलका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोसँगै छैटौँ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमानधारी खेलाडीको सूचीमा उभिनेछन् ।
प्रशिक्षक लियोनल स्कालोनीले घोषणा गरेको अर्जेन्टिनी टोली निकै सन्तुलित देखिन्छ । कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘गोल्डेन ग्लोभ्स’ जितेका गोलरक्षक एमिलियानो मार्टिनेज पनि टोलीमा यथावत छन् ।
रक्षापंक्तिमा म्यानचेस्टर युनाइटेडका लिसान्ड्रो मार्टिनेज र टोट्टनहामका क्रिस्टियन रोमेरोको उपस्थिति पनि कायमै छ ।
मध्यपंक्तिमा लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र चेल्सीका एन्जो फर्नान्डेजजस्ता खेलाडीहरूको साथले अर्जेन्टिनाको आक्रमण अझ धारिलो बन्ने पक्का छ । पाँचजना प्रिमियर लिग खेल्ने खेलाडीले टोलीलाई थप मजबुत बनाएको छ ।
हालै मेजर लिग सकरको खेलमा मेसी ‘ह्यामस्ट्रिङ’को समस्याले पिडीत बनेका थिए । तर, क्लबले उनी गम्भीर घाइते नभएको स्पष्ट पारेको छ ।
उनले अर्जेन्टिनाका लागि एक सय ९८ खेल खेलिसकेका छन् । अर्जेन्टिनाले विश्वकपअघि होन्डुरस र आइसल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलमा दुई सय खेलको कोशेढुङ्गा पनि पूरा गर्नेछन् ।
घोषित अर्जेन्टिनी टोलीमा गोलरक्षकको रूपमा जुआन मुसो, जेरोनिमो रुली र एमिलियानो मार्टिनेज रहेका छन् । डिफेन्डरको भूमिकामा लियोनार्दो बालेर्डी, निकोलस टागलिफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फकुन्डो मेडिना र नहुएल मोलिना छन् ।
यसैगरी, मिडफिल्डरमा लियान्ड्रो पारेडेस, रोड्रिगो डे पाउल, भ्यालेन्टिन बारको, जिओभानी लो सेल्सो, एक्सक्वेल पालासिओस, एलेक्सिस म्याक एलिस्टर र एन्जो फर्नान्डेज रहेका छन् ।
फरवार्डको भूमिकामा भने जुलियन अल्भारेज, लियोनल मेसी, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो सिमोन, निको पाज, जोस म्यानुएल लोपेज र लाउटारो मार्टिनेज छन् ।
आगामी विश्वकपमा यदि अर्जेन्टिनाले उपाधि रक्षा गर्यो भने, त्यो सन् १९५८ र सन् १९६२ मा ब्राजिलले बनाएको इतिहासको पुनरावृत्ति हुनेछ ।
के ३९ वर्षका मेसीको अन्तिम विश्वकपमा अर्जेन्टिनाले चौथो पटक विश्व विजेता बन्दै कीर्तिमान रच्ला ? पूरै विश्वको आँखा यतिबेला अमेरिका, क्यानडा र मेक्सिकोको मैदानमा केन्द्रित छ ।
कीर्तिमानको खात र सेमिफाइनलमा कहिल्यै नहार्ने इतिहास
अर्जेन्टिनाको विश्वकप इतिहास तथ्याङ्कमा पनि उत्तिकै सशक्त छ । लियोनल मेसी विश्वकपको इतिहासमै सर्वाधिक (२६) खेल खेल्ने खेलाडी हुन् ।
यसैगरी, अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १३ गोल गर्ने खेलाडी पनि मेसी नै हुन् । गाब्रियल बाटिस्टुटाले १० गोल गरेका छन् ।
यसैगरी, सन् १९७८ मा पेरुविरुद्ध ६–० र सन् २००६ मा सर्बिया एन्ट मोन्टेनेग्रोविरुद्ध ६–० गोलको जित अर्जेन्टिनाको सबैभन्दा फराकिलो जित हो ।
यसैगरी, अर्जेन्टिनी टोलीको विश्वकप इतिहासको सबैभन्दा लोभलाग्दो तथ्य भनेको ‘सेमिफाइनल’ को कीर्तिमान हो ।
विश्वकपको इतिहासमा अर्जेन्टिना अहिलेसम्म कुनै पनि सेमिफाइनल खेलमा पराजित भएको छैन । यो तथ्याङ्कले अर्जेन्टिनाको ठूलो खेल खेल्ने क्षमता र उच्च मनोबललाई स्पष्ट पार्छ ।
सन् १९७८ मा घरेलु मैदानमा विश्वकप जितेर अर्जेन्टिनाले इतिहास रच्यो । उरुग्वे (सन् १९३०), इटाली (सन् १९३४) र पश्चिम जर्मनी (सन् १९७४) पछि आफ्नो भूमिमा विश्वकप जित्ने अर्जेन्टिना चौथो राष्ट्र बनेको थियो ।
यसैगरी, अर्जेन्टिना र पश्चिम जर्मनीबीच सन् १९८६ र सन् १९९० मा लगातार दुई पटक फाइनल खेलिएको थियो । कुनै पनि दुई राष्ट्रबीच लगातार दुई पटक फाइनल खेलिएको यो इतिहासकै एकमात्र संयोग हो ।
यसैगरी, सन् १९८६ को विजेता अर्जेन्टिना सन् १९९० मा उप–विजेता बन्यो । यसरी अर्जेन्टिना साविक विजेता भएर पनि फाइनलमा हार्ने पहिलो राष्ट्र बनेको थियो । पछि यो सूचीमा ब्राजिल (सन् १९९८) र फ्रान्स (सन् २०२२) पनि थपिएका थिए ।
यसैगरी, सन् १९७० को विश्वकपमा अर्जेन्टिना छनोट हुन असफल भएको थियो, जुन अर्जेन्टिनी टोलीको इतिहासकै एकमात्र छनोट असफलता हो ।
विश्वकप फुटबलबारे यसअघिका शृखला :
- बोस्नियाको रोलर-कोस्टर यात्रा : युद्धको विभीषिकाबाट १२ वर्षपछि विश्वकपमा पुनरागमन
- २२ औं फिफा विश्वकप-२०२२ : कतारमा लेखिएको फुटबलको महाकाव्य, जसले ‘अजेय’ मेसीको सपना साकार पार्यो
- २१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा
- २०औँ फिफा विश्वकप : ‘माराकाना’को महासंग्राम, स्वारेजको चर्तिकला र जर्मनीको ऐतिहासिक यात्रा
- १९औँ फिफा विश्वकप : अफ्रिकी धर्तीमा कोरिएको महागाथा : जहाँ स्पेनको ‘टिकी–टाका’ले इतिहास रच्यो
- जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय
- १५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म