
विश्वकप २०२६ को अन्तिम १६ को महत्वपूर्ण भिडन्तअघि ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नर्वेका स्टार स्ट्राइकर अर्लिङ हल्याण्डलाई रोक्न कुनै विशेष 'एन्टी-हल्याण्ड' योजना नबनाएको स्पष्ट पारेका छन्।
न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने यस खेलमा क्वाटरफाइनलको टिकटका लागि दुई टोलीबीच कडा प्रतिस्पर्धा हुँदैछ।
जारी विश्वकपमा ५ गोल गरिसकेका हल्याण्ड प्रिमियर लिगका शीर्ष गोलकर्ता हुन् भने उनी जुनसुकै टोलीका लागि पनि ठूलो खतरा मानिन्छन् । तर, ब्राजिलका अनुभवी प्रशिक्षक एन्सेलोटीले आफ्ना डिफेन्डरहरू हल्याण्डको सामना गर्न पूर्ण रूपमा सक्षम रहेको विश्वास व्यक्त गरे।
उनले आफ्ना खेलाडीहरूले युरोपेली फुटबलको उच्च स्तरमा हल्याण्डसँग बारम्बार खेलिसकेकाले उनलाई कसरी रोक्ने भन्ने कुरा डिफेन्डरहरूलाई सिकाइरहनु नपर्ने बताए।
प्रि-म्याच प्रेस कन्फरेन्समा बोल्दै एन्सेलोटीले भने, 'मलाई लाग्दैन कि यहाँ एन्टी-हल्याण्ड भन्ने कुनै विशेष योजनाको आवश्यकता छ। हाम्रा खेलाडीहरूले उनीसँग धेरै पटक प्रतिस्पर्धा गरिसकेका छन्। हाम्रो टोली अहिले राम्रो अवस्थामा छ, यद्यपि हामीले अझै सुधार गर्न आवश्यक छ। हल्याण्डको खेल शैली सबैलाई थाहा छ र हाम्रा डिफेन्डरहरूलाई उनकै विरुद्ध कसरी खेल्ने भनेर बुझाइरहनु पर्ने केही छैन।'
ब्राजिलको रक्षापंक्ति सम्हाल्ने अपेक्षा गरिएका आर्सनलका डिफेन्डर ग्याब्रियल मागाल्हेश र हल्याण्डबीच प्रिमियर लिगमा सधैँ कडा प्रतिस्पर्धा हुने गर्दछ।
अब यो क्लब फुटबलको प्रतिद्वन्द्वीता अन्तर्राष्ट्रिय मञ्चमा पनि देखिनेछ। एन्सेलोटीका अनुसार नर्वे एक संगठित र संरचनात्मक रूपमा बलियो टोली हो, जसको आक्रमण निकै खतरनाक छ। जापान विरुद्धको कठिन खेलमा अन्तिम समयमा २-१ को जित निकाल्दै अन्तिम १६ मा पुगेको ब्राजिल अहिले उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ।
ब्राजिलको टोलीमा केही चोटको समस्या पनि देखिएको छ। अघिल्लो खेलमा ह्यामस्ट्रिङको समस्या झेलका मिडफिल्डर लुकास पाक्वेटाले नर्वे विरुद्धको खेल गुमाउने निश्चित भएको छ । तर, अर्कोतर्फ तिघ्राको चोटका कारण बाहिर रहेका बार्सिलोनाका फरवार्ड राफिन्हा टोलीमा फर्कन सक्ने सम्भावनाले ब्राजिललाई राहत दिएको छ।
उता नर्वेको टोलीमा पनि जुलियन रायरसन र होल्मग्रेन पेडेरसनको फिटनेसलाई लिएर शंका रहेको छ। यो खेलको विजेताले क्वाटरफाइनलमा इंग्ल्याण्ड वा मेक्सिको मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।