
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बुधबार गोविन्दबहादुर कार्कीलाई मुलुकको सर्वोच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गरेको छ ।
भोजपुरको सामान्य परिवारमा जन्मिएर निजामती सेवाको सर्वोच्च ओहोदासम्म पुगेका नवनियुक्त मुख्यसचिव कार्कीको ३६ वर्ष लामो निजामती यात्रा निकै उतारचढावपूर्ण र प्रेरणादायी रहेको देखिन्छ ।
२०२७ साल पुस २५ गते भोजपुर जिल्लाको साविक भोजपुर गाउँ विकास समिति वडा नम्बर २ मा उनको जन्म भएको थियो ।
उनले २०४३ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा २०४६ सालमा प्रवीणता प्रमाणपत्र तह, २०४९ सालमा स्नातक तह र २०५२ सालमा स्नातकोत्तर तह द्वितीय श्रेणीमा उत्तीर्ण भए ।
उनले आफ्नो प्रशासनिक क्षमता अभिवृद्धिका लागि २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाटै जनप्रशासन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरे भने अन्तर्राष्ट्रिय स्तरको अनुभवका लागि जापानबाट २०६० सालमा मानविकी तथा सामाजिक शास्त्र विषयमा अर्को स्नातकोत्तर उपाधि हासिल गरे ।
कार्कीको अघिल्लो नोकरी जोडिने पूर्वसेवाको शुरूआत २०४६ साल असोज २ गते भए तापनि उनको खुला प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूह अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत पदमा २०५३ साल पुस ७ गते औपचारिक नियुक्ति भएको थियो ।
उनको पहिलो पदस्थापन सामान्य प्रशासन मन्त्रालयमा भएको थियो । शाखा अधिकृतका रूपमा करिब ९ वर्ष काम गरेपछि २०६२ साल मंसिर १५ गते राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव पदमा उनी बढुवा भएका थिए ।
उपसचिवको रूपमा काम गर्ने सिलसिलामा उनले लमजुङ, भोजपुर र काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय विकास अधिकारीको रूपमा स्थानीय निकाय र समुदायको विकासमा कुशल नेतृत्व प्रदान गरेका थिए ।
कार्की निजामती सेवाको अर्को महत्त्वपूर्ण खुड्किला २०७० साल चैत २१ गते उक्लिए । जतिबेला उनी राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिव पदमा बढुवा भए । सहसचिवका रूपमा १० वर्षभन्दा बढी समय सेवा गर्दा उनले गृह प्रशासन, अध्यागमन, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको क्षेत्रमा फराकिलो प्रशासनिक अनुभव बटुले ।
डोटी र कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरेका उनले मुख्य अध्यागमन अधिकृतको रूपमा समेत काम गर्ने अवसर प्राप्त गरे ।
उनले चीनको तिब्बतस्थित ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासमा महावाणिज्यदूतका रूपमा पनि काम गरे भने गृह, परराष्ट्र, पर्यटन र उद्योग मन्त्रालयका साथै विराटनगरस्थित कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा प्रदेश सचिवको रूपमा पनि जिम्मेवारी सम्हाले ।
सहसचिवका रूपमा लामो प्रशासनिक तथा कूटनीतिक परिपक्वता प्राप्त गरेपछि २०८१ साल भदौ २० गते राजपत्रांकित विशिष्ट श्रेणी अर्थात् सचिव पदमा उनी बढुवा भएका थिए ।
सचिव बनेलगत्तै उनले बागमती प्रदेशको प्रमुख सचिव बने । पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव हुँदै कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।
सचिव बनेको १ वर्ष १० महिना ४ दिन पुग्दा बुधबार (२४ असार २०८३) गते उनी नेपाल सरकारको सर्वोच्च प्रशासनिक ओहोदा मुख्यसचिवमा नियुक्त भएका हुन् ।
हालसम्म उनको निजामती सेवाको कूल अवधि ३६ वर्ष ९ महिना २३ दिन पुगेको छ भने उमेर हदका कारण उनको अनुमानित अनिवार्य अवकाशको मिति २०८५ साल पुस २५ गते रहेको छ ।
यस हिसाबले नवनियुक्त मुख्य सचिव कार्कीले झन्डै साढे दुई वर्षको अवधिसम्म नेपालको समग्र निजामती प्रशासनको उच्च नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।