३१ जेठ २०८३, आइतबार

‘डिभिजन टू’को पहिलो खेल : नेपालले 'अन्धकार' चिर्न सक्ला ?

‘डिभिजन टू’को पहिलो खेल : नेपालले 'अन्धकार' चिर्न सक्ला ?

काठमाडौं, २५ माघ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि निकै नै महत्वपूर्ण प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग ‘डिभिजन– टू’ आज (बिहीवार)बाट नामिबियामा शुरु हुँदैछ । यो प्रतियोगिताका दुई शीर्ष टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् । 

दुई वर्षसम्म चलेको लिग च्याम्पियनसिपमा शीर्ष ४ मा पर्न नसकेपछि ‘डिभिजन  टू’ मा घटुवा भएको नेपालका लागि यो प्रतियोगिताले ‘भाग्य’ निर्धारण गर्नेछ । प्रतियोगिताबाट शीर्ष दुईमा पर्न सके, नेपालले विश्वकप छनौट खेल्न पाउने छ । 

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज (बिहीवार) आयोजक नामिबियासँग खेल्दै छ ।  नामिबिया पनि लिग च्याम्पियनसिपबाट घटुवामा परेको टोली हो । 

सन् २०१५ देखि २०१७ सम्म चलेको प्रतियोगितामा नामिबिया अन्तिम र नेपाल सातौं स्थानमा रहँदै घटुवा भएका थिए ।

प्रतियोगितामा नेपाल र नामिबियासँगै घटुवामा परेका केन्या र युएई पनि सहभागी छन् । यस्तै क्यानडा र ओमानले पनि प्रतिस्पर्धा गर्दैछन् । 

यस प्रतियोगिताका शीर्ष दुई टोलीले विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल्ने अवसर पाउने छन् भने अन्तिम २ टोली ‘डिभिजन थ्री’मा घटुवा हुनेछन् ।

विश्वकप छनोट टोली

आगामी मार्चबाट जिम्मावेमा हुने विश्वकप छनौट प्रतियोगितामा १० टोलीले सहभागिता जनाउने छन् । जसमा आईसीसी ओडीआई च्याम्पियन्सिपका अन्तिम ४ टोली (वेस्टइण्डिज, अफगानिस्तान, जिम्मावे र आयरल्याण्ड), लिग च्याम्पियन्सिपका शीर्ष ४ टोली (नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवान्युगिनी) तथा लिग ‘डिभिजन टू’का शीर्ष २ टोली सहभागी हुनेछन् ।

विश्वकप छनौट खेल्ने नेपालको संभावना कति ? 

प्रतियोगितामा सहभागी टोली र उनीहरूको पछिल्लो नतिजा हेर्ने हो भने प्रतियोगिता प्रतिस्पर्धात्मक हुने देखिन्छ । युएई र केन्या नेपालका लागि ठूला चुनौती हुन् । आयोजक नामिबिया पनि चूनौतीपूर्ण नै हुने देखिन्छ । त्यसो त नेपाल पनि कमजोर टोली भने होइन ।

झण्डै २ वर्षअघि कीर्तिपुरमा भएको दुवै खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो । केन्याविरुद्ध १ जीत र १ हार ब्यहोरेको नेपाल युएईसँग भने उसकै घरेलु मैदानमा पराजित हुन पुग्यो ।

यस्तै क्यानडा र ओमान ‘डिभिजन थ्री’बाट बढुवा भएका हुन् । यी दुई टोलीलाई पनि कमजोर आंक्न सकिने सकिने अवस्था छैन ।

नेपालले ब्याटिङ सुधार्ला ? 

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि ब्याटिङ ठूलो चुनौती बन्ने गरेको छ । त्यसमा पनि प्रारम्भिक ब्याट्सम्यानमा लामो समयदेखि भर पर्न सकिरहेको छैन ।

यसबीचमा धेरै ‘कम्बिनेसन’ परिवर्तन भइसकेको छ । पछिल्लो २ वर्षयता नेपालका लागि पारीको शुरुवात गर्दै आएका उपकप्तान ज्ञानेन्द्र मल्लका सम्भावित जोडी यसपटक दिलिप नाथ हुन् ।

विकेटकिपर ब्याट्सम्यान दिलिपको फर्म सामान्य नै छ । अन्तर्राष्ट्रिय खेलमा अनभुवको कमीका कारण दिलिपलाई केही चुनौती हुनसक्छ । निकै अनुभवी ब्याट्सम्यान मल्लले पारीको नेतृत्व गरेर दिलिपलाई क्रिजमा टिक्न केही समय दिएको खण्डमा दिलिपले निकै राम्रो गर्न सक्छन् ।

नामिबिया प्रस्थान गर्नुअघि युएईमा खेलेको अभ्यास खेलमा यी दुवैले सन्तोषजनक प्रदर्शन गरेका थिए । जसमा मल्लको शतकसमेत सामेल छ ।

आशलाग्दा दीपेन्द्र

मध्यक्रम र फिनिसिङमा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्रसिंह ऐरी नेपाली टोलीका लागि आशलाग्दा ब्याट्सम्यान हुन् ।

त्यसो त टोलीमा कप्तान पारस खड्का, शरद भेषवाकरजस्ता अनुभवी व्याट्सम्यान पनि छन् ।

तर पारस, शरद, ज्ञानेन्द्रले आशातित प्रदर्शन गर्न नसक्दा पनि दीपेन्द्रले राम्रो खेलिरहेका छन् । त्यसैले दीपेन्द्र यो प्रतियोगितामा पनि नेपालीका लागि निकै महत्त्वपूर्ण खेलाडी हुन् । आरिफ शेख पनि आशा गरिएका खेलाडीमा पर्छन् ।

पारस, शरद र ज्ञानेन्द्रले आफ्नो अनुभवको सदुपयोग गर्ने र दीपेन्द्र, दिलिप तथा आरिफजस्ता खेलाडीले आफ्नो क्षमता देखाउन सक्ने हो भने नेपालले ब्याटिङमा सम्झनलायक प्रदर्शन गर्नसक्छ ।

बलिङको राम्रो पक्ष

नेपालको बलिङ सधैं औसतभन्दा राम्रो नै छ । नेपालले प्राप्त गर्ने प्रायः सफलतामा बलिङको निर्णायक भूमिका रहने गरेको छ । वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामीजस्ता अनुभवी र सन्दीप लामिछानेजस्ता नवप्रतिभा नेपाली बलिङका मेरुदण्ड हुन् ।

ललितसिंह भण्डारी तथा करण केसी पनि अवसर पाएमा नेपालका लागि उपयोगी सावित हुन सक्छन् ।

जिते अवसर नै अवसर, हार्दा ४ वर्ष ‘अन्धकार’

नेपाली टोलीका लागि यो प्रतियोगिता निकै नै महत्त्वपूर्ण छ । यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके लिग च्याम्पियनसिपबाट गुमाएको विश्वकप छनोट खेल्ने अवसर मात्र प्राप्त गर्ने छैन, आगामी लिग च्याम्पियनसिप सहित आईसीसीका धेरै प्रतियोगितामा सहभागी हुने अवसर पाउनसक्छ ।

शीर्ष २ मा पर्न नसके झण्डै ४ वर्ष नेपाली क्रिकेट जहाँको तहिँ रहने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्