
काठमाडौं – जुम्लामा २० दिनदेखि अनशन गरिरहेका डा. गोविन्द केसी काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अस्पताल परिसरमा जताततै प्रहरी परिचालन गरिएको छ । अस्पताल परिसरलाई व्यवस्थित सुरक्षा घेरामा राखिएको छ । गोविन्द केसीलाई नेपाली सेनाको हेलिकप्टरले जुम्लाबाट सुर्खेत हुँदै काठमाडौं ल्याइरहेको छ ।
केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखेर उपचार गरिने छ । अनशनका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि केसीलाई सरकारको पहलमा काठमाडौं ल्याइरहेको छ ।
केसी विगत २० दिनदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन गरिरहेका थिए ।