१० असार २०८३, बुधबार

संसदमा कांग्रेसको अवरोध : बहाना एउटा, चालबाजी अर्कै !

माघ ८, २०७५
संसदमा कांग्रेसको अवरोध : बहाना एउटा, चालबाजी अर्कै !

काठमाडौं – सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।

मंगलवार अपराह्न बस्ने संसदको बैठकमा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

मंगलवार नै विधेयक पारित गर्ने सरकारको तयारी रहेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा बैठक अवरुद्ध गरेका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो । सोमवार राष्ट्रिय सभाका दुईवटा बैठक पनि कांग्रेसले अवरुद्ध पारेको थियो ।

चिकित्सा शिक्षा सुधारको पक्षमा आन्दोलन गर्दै आएका डा. गोविन्द केसीसँग भएको सहमति अनुसार विधेयक पारित गर्नुपर्ने कांग्रेसको भनाइ छ । सभामुख कृष्णबहादुर महराले अरु कार्यसूची हटाएर विधेयक पारित गर्न आग्रह गरेपनि कांग्रेसले अस्वीकार गरेको थियो ।

आफूसँग भएको सहमति विपरीत संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डा. केसी १३ देखि अनशन गरिरहेका छन् । केसीको माग पूरा गर्न संसदमार्फत् दबाब दिने रणनीतिमा कांग्रेस लागेको छ । 

गएको शुक्रवार संसदमा प्रधानमन्त्री केपी ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद एवं समिति सदस्य गगन थापाले केसीसँग भएको सहमति अनुसार विधेयक पारित किन नगर्ने भनेर प्रश्न गरेका थिए । 

जवाफमा प्रधानमन्त्री ओलीले आफूले संसदलाई निर्देशन गर्न नसक्ने बताएका थिए । संसदमा नेकपासँग विधेयक पारित गर्नका लागि पर्याप्त बहुमत छ । तर प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गरेको खण्डमा विधेयक पारित गर्ने कि नगर्ने भन्नेमा सभामुख अन्योलमा रहेको सचिवालय स्रोतले जनायो । 

यसअघि पुस २२ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षलाई प्रश्न गर्न नदिएको भन्दै सभामुखको आलोचना भएको थियो । सभामुखको कार्यशैली हुकुमी भएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । 

बहाना एउटा चालबाजी अर्कै

पूर्वसभापति द्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम जोडिएका अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले सोमवार संसदको बैठक अवरुद्ध गर्यो । गिरिजाको नाम जोडिएको तनहुँको श्वासप्रश्वास केन्द्र र सुशीलको नाम जोडिएको बाँकेको क्यान्सर अस्पताल केन्द्र सरकार मातहत ल्याउनुपर्ने कांग्रेसको माग छ । 

यस विषयमा कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरिसकेका छन् । गएको ४ गते संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालको प्रश्नको जवाफ दिने क्रममा पनि ओलीले प्रष्टीकरण दिएका थिए । यो विषयमा सभामुख महराले सोमवार सरकारलाई रुलिङ पनि गरे । 

‘माननीय सदस्यहरूले राखेको कुरा गम्भीरतापूर्वक लिएको छु, प्रधानमन्त्रीले आफ्नो कुरा राखिसक्नुभएको छ । प्रमुख प्रतिपक्षले आशंका गर्नुपर्ने ठाउँ देख्दिनँ । सरकारको विशेष गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यति भएपछि उचित समयमा सरकारले यहाँहरूले उठाएको विषयको सम्बोधन गर्दछ,’ सोमवार संसदको दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख महराले भनेका थिए ।

सभामुख महराले कार्यसूचीमा रहेको अन्तिम विषयबाहेक अन्य कार्यसूची खारेज गर्ने बताएपनि कांग्रेस सांसदहरू मौन बसे । ‘चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन चाहन्छु, सकेसम्म मेरो आग्रह छ, उपनेता (विजयकुमार गच्छेदार)ले यो विषय सम्बोधन गर्नुपर्ने भन्नुभएकोले, विधेयकको कार्यसूचीमा प्रवेश गरौं, यसलाई स्वीकार गरौं,’ महराले कांग्रेस सांसदलाई आग्रह गरे । 

कांग्रेस सांसदले विरोध कायम राखेपछि सभामुख महराले संसदको बैठक मंगलवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भयो । 

मुख्यमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको टिप्पणी

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको बैठक अवरुद्ध गरेपछि नेकपा स्थायी समितिका सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलेले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै चिकित्सा शिक्षा विधेयक रोक्ने प्रपञ्चका रुपमा उपयोग गरेको आरोप लगाए ।

‘प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेकांका पूर्वसभापतिका नाममा रहेका अस्पतालका सन्दर्भमा सुस्पष्ट योजनासहित अघि बढाउने बताएपनि नेपाली कांग्रेसले त्यसकै बहानामा संसद नै अवरुद्ध गरेछ । श्रोत र कार्ययोजना विनाको नाम मात्रको अस्पताललाई व्यवस्थित गर्ने प्रमको योजना के बेठीक हो र ? होइन । तर नेकांले यसलाई नांगो रुपमा चिकित्सा शिक्षा विधेयक रोक्ने प्रपञ्चका रुपमा उपयोग गर्यो । नेकांको यस्तो भद्दा नाटकले संसदीय सर्वोच्चताको हिमायती हौ भन्ने प्रजातन्त्रवादीहरूको लाज छोपिएला र ?’ पोखरेलले लेखेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि सदनमा कांग्रेस एमालेको क्रियाकलापले २०५२ साल अगाडिको झल्को आएको टिप्पणी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्