०९ असार २०८३, मंगलबार

रवीन्द्र अधिकारी : एक आशालाग्दा नेताको दुःखद् निधन !

फागुन १५, २०७५
रवीन्द्र अधिकारी : एक आशालाग्दा नेताको दुःखद् निधन !

काठमाडौं –बुधवार दिउँसो एकाएक हल्ला फैलियो– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन भयो ।

सामाजिक सञ्जालमा धेरैले लेखे– सुनेको घटना सत्य नहोस् ! दुर्भाग्य! त्यो अप्रिय घटना सत्य साबित भयो ।

दिउँसो ३ बजेको समयमा मन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार सबै ७ जनाको निधन भएको खबर आयो ।  

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा दर्शन गरी तेह्रथुमको आठराइमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाने क्रममा हेलिकप्टर दुर्घटनामा पर्दा मन्त्री अधिकरी सहित ७ जनाको निधन भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार विमान भीरमा ठोक्किएर खसेको थियो ।

कास्कीमा जन्म, ताप्लेजुङमा निधन

२०२६ साल वैशाख १२ गते कास्कीको भरतपोखरी ९ मा बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीको कोखबाट रवीन्द्रको जन्म भएको थियो ।

एमबीएससम्मको अध्ययन गरेका मन्त्री अधिकारीका श्रीमती विद्या भट्टराई र एक छोरा छन् । 

अनेरास्ववियुबाट राजनीति शुरू गरेका अधिकारी कास्कीबाट पछिल्लो तीनपटकको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचित भएका थिए ।

तीनपटक सांसद बनेपनि उनी पहिलो पटक मन्त्री बनेका थिए ।  २०७० सालमा संसद्को विकास समितिको सभापति रहेका अधिकारीले समृद्ध नेपाल नामक पुस्तक लेखेका छन् । 

आर्थिक समृद्धि र विकासको बहस गर्ने अधिकारीलाई नेकपाभित्र र बाहिर पनि आशा लाग्दो युवा नेताको रूपमा चिनिथ्यो ।

सम्झिँदै सहयात्री...

मन्त्री अधिकारीलाई सम्झिँदै उनका सहयात्री नेता तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिइरहेका छन् ।

नेकपाकै नेता समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लेखेका छन्,

'संगठन र संघर्ष दुवैबाट खारिएको अत्यन्त जुझारू कर्मशील योद्धा कमरेड रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको कुरा विश्वास नै गर्न गाह्रो भो । तर घटनास्थलका दृष्यहरू सञ्चारमाध्यममा देखेपछि दुःखद् सत्यलाई स्वीकार्नै पर्ने रहेछ । दुर्घटनाबाट राष्ट्र र पार्टीले ठूलो क्षति बेहोर्नु परेको छ । भावपूर्ण श्रद्धाञ्जली कमरेड रविन्द्र अधिकारी !

कमरेड विद्या भट्टराई तपाईंले आफूलाई सम्हाल्नुको विकल्प छैन । शोकको यस घडीमा हामी साथमै छौं ।'

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्