
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी सीमा विवादबारे भारतसँग दुईतर्फी सहमतिको आधारमा वार्ता हुने बताएका छन् ।
शनिवार प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले समान सार्वभौम हैसियतमा वार्ता गर्ने सरकारले राष्ट्रिय हितमा कुनै अनुुचित सम्झौता नगर्ने बताएका हुन् ।
‘सीमा विवादबारे भनिसके कि नेपालको भूभाग नेपालले छोड्दैन । अहिले खासगरी उठेको प्रश्न कालीनदीको मुहानको बारेमा, लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा तथ्य प्रमाणले यी नेपालको भनेको छ । यसलाई समाधान गर्न कुटनीतिक प्रयास भइरहेको छ,’ ओलीले भने, ‘फलानो दिन वार्ता गर्छु भनेर एकतर्फी भन्ने होइन । सहमतिका आधारमा दुईतर्फी ढंगले हुन्छ ।’
त्यसअघि कांग्रेस सांसद दिलेन्द्र बडूले ‘सीमा विवादबारे प्रधानमन्त्री स्तरीय वार्ता कहिले हुन्छ ? नेपाली भूमि समेटिएको नक्सा कहिले जारी हुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।
‘माननीयहरूले र देशले अनुभूति गरेको होला, समान सार्वभौमिकताका आधारमा वार्ता गर्ने, राष्ट्रको सार्वभौमसत्ता स्वाधिनता र राष्ट्रिय हितमा कुनै अनुचित सम्झौता गर्दैन,’ ओलीले भने, ‘भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्सा छाप्ने कुरा के भयो र तुरुन्त छापिन्छ । सशस्त्र प्रहरीबाट सीमाबारे बीओपी स्थापना गर्ने काम भइरहेको छ ।’