
नेपालमा कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। शनिबार मात्रै २७ जना सङ्क्रमित थपिएका छन्।
भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको नमूनाको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा शनिबार कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार नरैनापुरको मदरसा क्वारेन्टिनमा रहेका ६, नरैनापुर–३ को नेराप्रावि क्वारेन्टिनमा बसेका १५ र नरैनापुर–१ को नेराप्रावि क्वारेन्टिनमा बसेका ६ गरी २७ जनामा शनिबार कोरोना पुष्टि भएको छ। यससहित नरैनापुरमा मात्रै ११३ जनामा कोरोना देखिएको छ। त्यहाँ एक जनाको मृत्यु भएको छ।
नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतीय सीमासँग जोडिएको नरैनापुरमा पहिलो पटक भारतबाट आएका आठ जनामा यही जेठ २ गते कोरोना सङ्क्रमण देखिएको नरैनापुरमा एक हप्ताभित्र एक जनाको ज्यान जाने गरी सङ्क्रमितको सङ्ख्या ८७ पुगेको थियो। शनिबार १७ जना थप भएको छ।
ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि जेठ ५ गतेदेखि नरैनापुर गाउँपालिकालाई पूर्णरुपमा सिल गरी सतर्कता अपनाइएको छ तर सङ्क्रमण रोकिएको छैन। यससँगै जिल्लामा १४२ जनामा कोरोना संक्रमण भएको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् । -भेषराज बस्नेत/रासस