
कोरोना भाइरस र लकडाउनका कारण पठनपाठन ठप्प रहेपनि निजी विद्यालयले विद्यार्थीबाट शुल्क लिन थालेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाद्वारा आइतबार संयुक्तरुपमा जारी विज्ञप्तिमा अभिभावकलाई भौतिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरिएको छ।
अनलाइनबाट कक्षा सञ्चालन हुन थालेकाले निःशुल्क वा अत्यन्त न्यून शुल्कमा सिकाइलाई निरन्तरता दिइएको तर शुल्क नलिँदा आफूहरुलाई कठिनाइ परेको पनि विज्ञप्तिमा भनिएको छ। सरकारले अनलाइन कक्षा सञ्चालनबापतको शुल्क लिनेबारे हालसम्म कुनै निर्णय भने गरेको छैन भने गत चैतमा एक महिनाको शिक्षण शुल्क मिनाहा गर्न निर्देशन गरेको थियो ।
प्याब्सन र एन प्याब्सनले विद्यालयको भाडा तिर्न नसकिएको, बैंकको ऋणको साँवा, व्याज र किस्ता बुझाउन नसकिएको स्थितिमा सरकारले उद्योगसरह कुनै राहत प्याकेजमा आफूहरुलाई समावेश गर्नुपर्ने माग पनि गरिएको छ । निजी विद्यालयका प्रशासन भने सञ्चालनमा आइसकेका छन् ।

