भारतविरुद्ध चीन र पाकिस्तानको साझेदारी बलियो बन्दै गएको छ ।
चीनले यसै साता आफ्ना चार अत्याधुनिक युद्धपोतमध्ये एक शुभारम्भ गरेको छ । यी युद्धपोतहरू उसले पाकिस्तानका लागि बनाएको हो ।
चीन र पाकिस्तानबीच सैन्य साझेदारी बलियो बन्दै जाँदा भारतको चिन्ता बढ्ने भएको छ ।
पाकिस्तानी जलसेनाले आइतवार बताएअनुसार, चीनको सरकारी शिपयार्ड हुदोङ जोङुआले टाइप–०५४ए/पी युद्धपोत शुभारम्भ समारोह आयोजना गरेको छ । युद्धपोतबाट यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सहयोग पुग्ने पाकिस्तानी जलसेनाको बयान छ ।
युद्धपोतको मूल्य ३५ करोड डलरभन्दा बढी भएको बताइएको छ ।
पाकिस्तानी जलसेनाका अनुसार, यी सेनाका सबभन्दा ठूला जहाजमध्ये एक हुनेछन् र भविष्यका चुनौतीलाई पन्छाउन समर्थ हुनेछन् ।
चीनले चारैवटा युद्धपोत पाकिस्तानलाई सन् २०२१ सम्म दिने सम्भावना छ । चिनियाँ मिडियाका अनुसार, यसले पाकिस्तानी जलसेनाको युद्ध क्षमता दुईगुणा बढ्नेछ ।
चीन र पाकिस्तान मिलेर अन्य सैन्य उपकरण पनि उत्पादन गरिरहेका छन् । तिनमा जेएफ–१७ कम्ब्याट एयरक्राफ्ट पछि पर्छ ।
केही दिनअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशको भविष्य चीनसँग साझेदारीमै निर्भर रहेको बताएका थिए ।
चीन र पाकिस्तानबीच साझेदारी घनीभूत हुनु भारतका लाथिग राम्रो संकेत हैन । पाकिस्तानका सामरिक क्षेत्रमा चीनको नियन्त्रण यसले बढाउँछ । चीन र पाकिस्तान दुवैसँग भारतको युद्ध भइसकेको छ ।
चीन र पाकिस्तानमध्ये एकको पनि भारतसँग युद्ध भएमा दुवै एकपटक लड्ने भएकाले भारतलाई गाह्रो पर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् । भारतका पूर्व सेनाप्रमुख तथा बहालवाला सीडीएस जनरल बिपिन रावतले भारतविरुद्ध विभिन्न मोर्चा खुल्न सक्ने संकेत यसअघि नै दिइसकेका छन् ।