०१ असार २०८३, सोमबार

कोरोना संक्रमित भएपछि बैंकका सुरक्षा गार्डको जागिर गुम्यो !

माघ ३, २०७७
कोरोना संक्रमित भएपछि बैंकका सुरक्षा गार्डको जागिर गुम्यो !
प्रतिकात्मक तस्वीर

कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत १ कर्मचारीको जागिर गुमेको छ ।

एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो । 

ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पीसीआर परीक्षण गर्न उनले स्वाब दिएका थिए ।

‘पुस ५ गते कोरोना संक्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेसन बसेको थिएँ,’ उनले भने, ‘कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।’ 

रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गरे । ‘टोल, छिमेकमा कोरोना संक्रमित भनेर दुव्र्यवहार सहनुपर्‍यो,’ उनले भने, ‘आइसोलेसन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ ।’  

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ । रोजगारीको खोजीमा उनले ४ वर्ष मलेसियामा काम गरेका थिए । बरुवालको परिवारमा बुवाआमा, पत्नीसहित ३ छोरी र २ छोरा छन् ।

कम्पनीले मासिक १८ हजार रुपैयाँ तलब दिने गरेको थियो । जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ । 

प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षा गार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताए । काठमाडौंमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्