
काठमाडौं, ७ जेठ — स्पेनको फूटबल लिग ला लिगामा आइतवार हुने यस सीजनका अन्तिम खेलहरूले रियल मड्रिड वा बार्सिलोनामा को च्याम्पियन बन्ला भन्ने कुरो निश्चित गर्नेछ ।

पहिलो स्थानमा रहेको रियलले नै उपाधि चुम्ने दह्रो सम्भावना छ । विगत पाँच वर्षदेखि रियलले ला लिगा जित्न सकेको छैन । तर उसले बार्सिलोनालाई लगातार तेस्रोचोटि ला लिगा जित्नबाट रोक्ने प्रबल सम्भावना छ ।
सन् २०१२ मा रियलले ला लिगा जित्दा जोसे मउरिन्हो क्लब म्यानेजर थिए । त्यसपछि भने सन् २०१४ बाहेक लगातार बार्सिलोनाले लीग जित्दै आएको छ । सन् २०१४ मा एथलेटिको मड्रिडले उपाधि चुमेको थियो ।
रियल मड्रिडको ३७ खेलमा ९० प्वाइन्ट छ भने बार्सिलोना ८७ प्वाइन्टमा छ । आज रियलले हार्ने अनि बार्सिलोनाले जित्ने स्थितिमा मात्र बार्सिलोना च्याम्पियन हुन्छ । त्यस्तो स्थितिमा बार्सिलोनाले गोलअन्तरका आधारमा उपाधि जित्न सक्छ ।
रियल मड्रिड मालागासँग भिड्दैछ भने बार्सिलोनाले आइबारको सामना गर्दैछ ।
बीबीसीबाट