
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
पछिल्लो समय काररोना भाइरसका बिरामीको संख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मंगलवार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो ।
सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउने जनाइएको छ । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसंक्रमण गर्ने, अक्सिजन थेरापी सहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।
कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख रुपैयाँ निकासा पठाउने निर्णय भएको छ ।
वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थामा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतना लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारणा थियो ।