
अमेरिकाको फ्लोरिडामा एक यौन अपराधीले चक्कु देखाएर ११ वर्षीया बालिकालाई अपहरण गर्न खोजेको भिडियो सार्वजनिक भएको छ ।
वेस्ट पेन्साकोलाको बस स्टपमा बालिका एक्लै खेलिरहेको बेलामा अपराधीले अपहरणको कोशिश गरेको थियो ।
सीसीटीभी फूटेज हेर्दा एउटा कार बालिका भएको ठाउँनिर आएको र सडक किनारमा अचानक रोकिएको देखिन्छ । हातमा चक्कु लिएको एक मानिस निस्केको र बालिकातर्फ बढेको पनि देखिन्छ ।
उसलाई देखेर बालिका भाग्न खोज्छिन् र अपराधीले उनलाई समात्छ । त्यसपछि उसले बालिकालाई कारतिर लैजान खोज्छ तर भुइँमा लड्छ । अलिकति संघर्ष गरेपछि बालिका आफूलाई छुटाउन सफल हुन्छिन् ।
त्यसपछि भुइँमा झरेको झोला बोकेर उनी भाग्छिन् । अपहरण गर्न खोज्ने मानिस कारतिर दौडिन्छ र कार चलाएर जान्छ ।
स्थानीय शेरिफ विभागले सबै ५० डेपुटीहरूलाई उक्त पीडक खोज्न परिचालन गरेको थियो । उनीहरूले लगभग आठ घन्टामा पीडकलाई समाते । ऊ घरमै बसिरहेको थियो र उसले कुनै प्रतिकार नगरिकन आत्मसमर्पण गरेको थियो ।
अधिकारीहरूलाई झुक्याउन उसले कारमा पेन्ट गरेको थियो ।
बालिकालाई एकदुईटा साना घाउ लागेको छ । त्यही मानिसले ती बालिकालाई दुई हप्ताअघि पनि भेटेको थियो र असहज अनुभव गराएको थियो ।
अपहरणको कोशिश गर्नेलाई विभिन्न मुद्दा लगाएर हिरासतमा राखिएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :