अछामका वसन्त थापाको दैनिकी बिहान ४ बजेबाट शुरू हुन्छ । झिसमिसेमै नाम्लो च्यापेर घरबाट निस्किने उनी साढे २ घण्टा पैदल हिँडेर न्युरोड आइपुग्छन् ।
न्युरोडमा उनको काम भारी बोक्ने हो । भरियाको काम गर्न थालेको ६ महिना मात्र भयो ।
शुरूआती एक-दुई महिना दिनभर खटिँदा घर खर्च चलाउन सकिने कमाइ भएको थियो ।
तर, कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा घोषणा गरिएपछि उनको रोजीरोटी नै खोसियो ।
काठमाडौं आएदेखि नै उनले यस्तै अनेक दु:खको सामना गरेका छन् ।
शुरूमा चियापत्ती उद्योगमा भारी बोक्ने काम गरे । तर त्यहाँ पाउने ज्यालाले छाक टार्न नै मुस्किल हुन्थ्यो ।
त्यसपछि उनले पेप्सीकोलामा भारी बोक्ने काम गरे । तर त्यहाँ आफ्नो मान्छे घुसाउन आफूलाई निकालिएको उनको गुनासो छ ।
अनेक हण्डर खाएर उनी घर फर्किए । तर, कमाइ नहुँदा घर चलाउन मुस्किल भयो । अनि परिवार नै लिएर फेरि काठमाडौं हानिए ।
त्यसपछि हो उनले न्युरोडमा भारी बोक्न थालेको । खटिन सक्दा काम जसोतसो मिलेकै थियो, तर कोरोनाको दोस्रो लहरले उनलाई निकै समस्यामा पारेको छ ।
'छोराको स्कूलबाट तारन्तार फोन आउँछ । फिस चाँडो नतिरे निकालिदिनेसम्मको धम्की दिन्छन्,' थापाले भने, 'कोठा भाडा नतिरेको चार महिना भैसकेको छ । यता पनि नयाँ मान्छेलाई काम पाउन गाह्रो छ ।'
निषेधाज्ञा खुकुलो भएपछि उनले कमाएर छोराको स्कूल फी, घरभाडा तथा अन्य दायित्वहरू पनि पूरा गर्नुछ ।
सोही कारण झरी बादल वा घाम नभनी कामको प्रतीक्षामा छन् ।
***
उदयपुरको कटारीका केशव मगरको गुनासो पनि उस्तै छ । पहिला उनी घर बनाउने ज्यामी काम गर्थे ।
काम गरेको पैसा उठाउनै मुश्किल परेकाले उनी दिक्क भएर भरिया काममा लागे ।
दिनभर पसिना चुहाउँदा जसोतसो घर खर्च चलेकै थियो । तर, कोरोना महामारीले गर्दा हातमुख जोर्नै मुस्किल पर्न थाल्यो ।
पहिला काम गरेको ठाउँबाट अझै पैसा उठेको छैन । कोठा भाडा नतिरेको पनि ६ महिना भैसकेको उनको गुनासो छ ।
'त्यो (पहिला काम गरेको) पैसा उठेको भए पनि अहिले ऋण गर्न पर्दैनथ्यो,' उनले भने ।
हातमुख जोर्नका लागि नै लिएको ऋण तिर्न उनी काम खोज्दै राति २ बजे नै कालिमाटी पुग्छन् ।
झिसमिसे नहुँदै तरकारीको भारीलाई गन्तव्यमा पुर्याइसक्ने उनी त्यसपछि न्युरोड आउने रहेछन् ।
***
यस्तै पीडा विगत ३७ वर्षदेखि ज्यामी काम गर्दै आएका रामेछापका केदार चौलागाईंको पनि छ ।
उनी एक्लैको काँधमा सात जनाको परिवार पाल्नुपर्ने दायित्व छ । छोराछोरीलाई पनि पढाउनै पर्यो । ठूलो छोरो अहिले कक्षा १२ मा पढ्छन् ।
पहिले दु:ख गरेर अलिअलि बचाएको पैसाले उनले निषेधाज्ञाको समयमा घरखर्च चलाए । अहिले त भएको पैसा पनि सकियो ।
कामको खोजीमा उनी नाम्लो च्यापेर दिनभर न्युरोडका गल्ली चहार्छन् । कहिलेकाहीँ त काम नै मिल्दैन ।
'काम गर्दागर्दै बुढो हुन थालियो,' उनले भने, 'यहाँ काम गर्न (भारी बोक्न) आउनेहरू नै धेरै भए । काम दिने मान्छे थोरै तर बोक्न आउने धेरै भएपछि काम पाउनै मुस्किल छ ।'
***
न्युरोडमा भेटिने भरियाहरूको एउटै गुनासो हुन्छ, सरकाले दु:खी गरीबलाई हेरेन ।
महामारीको बेलामा समेत राज्यबाट कुनै राहत नपाउँदा उनीहरू निराश छन्, र आक्रोशित पनि ।