
काठमाडौं, २४ जेठ — सूचनामा ध्यान दिएको भए हालै लन्डनमा भएको आतंकवादी आक्रमण रोक्न सकिने इटालीका एक अभियोजकले दाबी गरेका छन् ।

लन्डन आक्रमणमा संलग्न एक आतंकवादीका बारेमा बेलायतलाई सूचना दिइएको भएपनि उसले वास्ता नगरेको ती अभियोजक बताउँछन् । आक्रमणकारी युसुफ जागबाका बारेमा बेलायतलाई सन् २०१६ को मार्चमा सूचना दिइएको उनको भनाइ छ ।
इटालीको बोलोन्याका अभियोजक जोसेप्पे आमाटोका अनुसार युसुफले इटालीबाट टर्कीतर्फ विमान चढेर जान खोज्दा उसलाई विमानस्थलमा रोकिएको थियो । यसका बारेमा बेलायतलाई पनि सूचना दिइएको थियो । तर बेलायतले युसुफ आफ्नो निगरानीमा नरहेको बताएको थियो ।
शनिवार राति स्थानीय समयअनुसार १० बजे तीव्र गतिमा हुँइकिएको एक भ्यानले लन्डन ब्रिजमा मानिसहरूलाई ठोकेको थियो । त्यसपछि भ्यानमा रहेका आतंकवादीहरू बाहिर निस्केर बरो मार्केटमा रहेका मानिसहरूलाई जथाभावी चक्कु हानेका थिए । आक्रमणमा सातजनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।
एजेन्सी