१५ असार २०८३, सोमबार

जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले रु बाह्र अर्ब ऋण दिने

कात्तिक २०, २०७४
जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले रु बाह्र अर्ब ऋण दिने


काठमाडौँ, २९ जेठ - नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा आज हस्ताक्षर भएको छ ।

कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो ।

निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । जहाज खरिदका लागि प्रदान गरिने लगानी कोषको रकमको व्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदका लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ वर्ष राखिएको छ ।

उडान क्षेत्रको व्यावसायिक योजनामा लगानी कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरिएको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा गरिएको छ ।


कोषले उपलब्ध गराएको रकमबाट निगमले एयर बस कम्पनीको वाइड बडी(ए ३३०–२००) सिरिजको जहाज खरिद गर्नेछ । लगानी कोष र निगमबीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति भएको थियो । लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ५० जहाज जरुरी छ भन्दै आगामी दिनमा थप लगानीको अवसर खोजिने स्पष्ट पार्नुभयो । उहाँले नेपाल सरकारको जमानीमा ऋण रकम उपलब्ध गराइएको जानकारी पनि दिनुभयो । लगानी कोषका अध्यक्ष महाश्रम शर्माले मुलुकको आर्थिक क्षेत्रको विकास र प्रगतिमा सानो सहयोग गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताउनुभयो ।

निगमका महाप्रबन्धक कंसाकारले आज भएको ऐतिहासिक सम्झौताले राष्ट्रिय ध्वजावाहकको उपस्थिति संसारका धेरै मुलुकमा हुने र मुलुकको पर्यटन उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने बताउँदै सञ्चय कोषसँग पनि छिट्टै ऋण सम्झौतामा हस्ताक्षर हुने जानकारी दिनुभयो ।
निगमले अमेरिकी कम्पनी एएआरसँग दुई जहाज खरिद गर्दैछ । अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय ध्वजावाहकको उपस्थिति देखाउने र आर्थिक समृद्धिको ढोका खोल्ने लक्ष्यका साथ रु २४ अर्ब लगानी गर्न लागिएको छ । निगमले गत फागुन ४ गते एएआरलाई १० लाख अमेरिकी डलर बैनाबापतको रकम उपलब्ध गराइसकेको छ । निगमले २८० सिट क्षमताका जहाज ल्याउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्