
भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ ।
तथ्यांकअनुसार भदौको ३ गतेको तुलनामा बिहीवार सक्रिय संक्रमितको संख्यामा करीब ३० प्रतिशतले कमी आएको पाइएको छ ।
भदौको पहिलो हप्ताको तुलनामा सक्रिय संक्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय संक्रमित ४० हजार ५०० जना थिए भने त्यो संख्या घटेर बिहीवार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिय संक्रमितको संख्यामा करीब ३० प्रतिशतले कमी आएको छ ।
यसै गरी भदौ ३ गते १६ हजार ४३८ जनाको पीसीआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा संक्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस संक्रमण निको हुने व्यक्तिको संख्या दुई हजार १२६ जना मात्र थिए ।
यो संख्यामा बिहीवार गिरावट आएको छ । बिहीवारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र संक्रमित पाइएका छन् ।
यता पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीवार एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन् । बिहीवारसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा संक्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै संक्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।
नेपाल सरकारले जोमिखमा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई संक्रमण घटेको चिकित्सकको भनाइ छ ।
नेपालमा बिहीवारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता संक्रमण दरमा कमी आएको जानकारी दिए ।
सरकारको तथ्यांकअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ ।
जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल संक्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि संक्रमण बढ्न सक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
जनस्वास्थ्यविद्हरुले अहिले संक्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसकेको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले संक्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।
सरकारले असोजसम्म कूल जनसंख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ ।