०५ असार २०८३, शुक्रबार

हुन्डाइले नेपाली बजारमा ल्यायो ‘नयाँ कोना इलेक्ट्रीक’, यस्ता छन् विशेषता

मंसिर २०, २०७८
हुन्डाइले नेपाली बजारमा ल्यायो ‘नयाँ कोना इलेक्ट्रीक’, यस्ता छन् विशेषता

हुण्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा सार्वजनिक गरेको छ ।

नेपाली बजारमा विगत २ वर्षदेखि विक्री हुँदै आएको हुण्डाई कोना इलेक्ट्रीक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ ।

कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्नु हुनेछ । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएर आएको छ । नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ । 

एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । अब कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ । 

कोनामा रहेको ८ इन्चको टचस्क्रीनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राईभिङ एक्सपिरियन्सलाई उच्चस्तरीय बनाउँछ । नेपाली बजारमा कोना इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुनेछ ।

पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विस्वास लिएको छ । इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्ष भित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको छ । 

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोवाइल उत्पादक कम्पनी हो । जसले वार्षिक लाखौंको संख्यामा उत्कृष्ट क्वालीटीका गाडीहरु उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्