भारतको कर्नाटक राज्यका कांग्रेस विधायक केआर रमेश कुमारले महिलामाथिको बलात्कारका विषयमा लज्जास्पद बयान दिएपछि हंगामा मच्चिएको छ ।
अन्य दलका नेताहरूले बयानको कठोर आलोचना गरेका छन् । दिल्लीको एक गैरसरकारी संस्थाले उनको बयानविरुद्ध मुद्दा समेत दर्ता गराएको छ ।
रमेशले कर्नाटक विधानसभामा बहसको क्रममा भने, ‘बलात्कार अपरिहार्य भएमा पल्टिऊ र आनन्द लिऊ । विधानसभा अध्यक्ष त्यस्तै स्थितिमा थिए ।’
कर्नाटक विधानसभा अध्यक्ष विश्वेश्वर हेगडे कागेरीले यस विषयमा रमेशलाई कारवाही गर्नुको साटो हाँसेका थिए ।
आलोचना भएपछि रमेश कुमारले आफ्नो अश्लील टिप्पणीका विषयमा माफी मागेका छन् । अपराधको गम्भीरतालाई कम गर्ने आफ्नो उद्देश्य नरहेको उनले बताए ।
जानाजान नभई क्षणमा बहकिएर टिप्पणी गरेको र अबदेखि सतर्क भई शब्द चयन गर्ने उनको भनाइ छ ।