०६ साउन २०८३, बुधबार

चोलेन्द्रलाई बोक्ने नीति होइन, गलत नियतले आएकाले महाभियोगको विपक्षमा उभियौं– एमाले

चोलेन्द्रलाई बोक्ने नीति होइन, गलत नियतले आएकाले महाभियोगको विपक्षमा उभियौं– एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पार्टीको नीति नभएको प्रस्ट पारेको छ । 

चुनाव सार्ने नियतले महाभियोगको कुरा आएकाले विरोध गर्नुपरेको एमालेले बताएको छ । 

सोमवार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले परमादेशको नेतृत्व गरेका चोलेन्द्रलाई बोक्ने पार्टीको नीति नभए पनि गठबन्धनको गलत नियतको विरोध गर्नुपरेको बताएका हुन् । 

आवश्यक पर्दा सडक र कानूनी क्षेत्रबाटै प्रतिवाद गरिने उनले बताए । 

‘अहिले प्रधानन्यायाधीशका विरुद्ध आएको महाभियोग, निर्वाचनलाई सार्न र टार्न खोज्ने किसिमले आएको छ । चोलेन्द्रले राम्रो काम गर्नुभएको छ, बोकेर हिँड्नुपर्छ भन्ने छैन । थुप्रै चार्ज उहाँमाथि छ । उहाँले नै परमादेशको नेतृत्व गर्नुभएको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अदालतलाई निरन्तर गिजोलिरहने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने नियतबाट आएकाले विरोध गर्नुपरेको हो ।’ 

बैठकमा नेताद्वय भीम रावल र घनश्याम भुसालले चोलेन्द्रलाई बोकेर हिँड्दा पार्टीलाई घाटा हुने बताएका थिए । जवाफमा ओलीले चोलेन्द्रलाई बोकेर हिँड्ने पार्टीको नीति नभएको स्पष्ट पारेका थिए ।

यसअघि एमाले सचिवालय बैठकले महाभियोगविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको थियो । 

ओलीले असार २८ गते परमादेश जारी गर्ने न्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे पार्टीले आवेगमा नभई सुझबुझपूर्ण निर्णय गर्ने बताएका थिए । 

कमेन्ट गर्नुहोस्