२५ जेठ २०८३, सोमबार

गृहमन्त्री खाणलाई ओलीको फोन- प्रदर्शनकारीबाट हिजो बानेश्वरमा किन प्रहरी पिटिए ?

गृहमन्त्री खाणलाई ओलीको फोन- प्रदर्शनकारीबाट हिजो बानेश्वरमा किन प्रहरी पिटिए ?

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट प्रहरी कुटिएको विषयमा गृहमन्त्री बालकृष्ण खाणसँग प्रश्न गरेका छन् । ओलीले सोमवार बिहान गृहमन्त्री खाणलाई फोन गरेर प्रहरीमाथि आक्रमण हुँदा पनि ढुंगा हान्ने मात्र आदेश दिएको भनेर प्रश्न गरेका हुन् । 

‘हिजो बानेश्वरमा ४०० प्रदर्शनकारीलाई छेक्नका लागि ५०० प्रहरी खटाइएको थियो । मैले गृहमन्त्रीजीलाई भने तपाईं प्रहरीलाई किन पठाउनु हुन्छ, शासक दलले नै ढुंगा हान्न पठाएको ठाउँमा ?,’ कालु पाँडेको समाधिस्थलमा सोमवार आयोजित कार्यक्रममा ओलीले भने, ‘सडकमा प्रहरी छ, कुटाइ खाएर भागेको छ, २५ जनाले ढुंगा हानेको छ, डेढ सय पुलिस पछाडि सरेको छ । एकथरीले प्रहरी पठाउँछ केही नगर्नु भनेर, ढुंगा हानिराखेको छ हान्न देऊ भनेर पठाएको हो ? मात्र ढुंगा मात्र हान्न पाउन आदेश थियो ?’

ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा आएर आफू आएर मूर्ति झैँ बस्ने र सांसदलाई नाराबाजी गर्न लगाएको आरोप लगाए । ‘प्रहरी किन पिटिए ? प्रहरीको टाउको मितको टाउको बेलसरी भनेजस्तै ढुंगा हान्दिए हुन्छ ? ड्याम ड्याम ? भाग्नु पर्ने पिटाइ खानुपर्ने ? क्रान्तिकारीले सडक भत्काएको कुनै चार्ज नलाग्ने ?,’ ओलीले भने । 

संसदमा एमसीसी टेबुल गर्ने तयारीको विरोधमा आइतवार माओवादीको भातृ संगठनले बानेश्वरमा प्रदर्शन गरेको थियो । त्यसक्रममा भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्