२९ जेठ २०८३, शुक्रबार

इटहरीमा मेयरको उम्मेदवार बन्न यी आकांक्षीको नाम चर्चामा

फागुन १०, २०७८
इटहरीमा मेयरको उम्मेदवार बन्न यी आकांक्षीको नाम चर्चामा

सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने मिति घोषणा गरेसँगै इटहरीमा चुनावी सरगर्मी बढेको छ ।

इटहरीमा ठूला ३ दलका झण्डै १ दर्जन नेता चुनावी मैदानमा देखिन थालेका छन् ।

गत स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकामा एमालेले बहुमत सहितका जनप्रतिनिधि जितेको थियो । इटहरी उपमहानगरपालिकामा एमालेका द्वारिकलाल चौधरी मेयर र लक्ष्मी गौतम उपमेयर विजयी भएका थिए ।

चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी हुँदा गौतमले २१ हजार ८४२ मत पाएकी थिइन् । चौधरीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र गौतमकी प्रतिद्वन्द्वी कांग्रेसकी विमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन् ।

मेयरमा विजयी चौधरीले स्थानीय चुनावमा ‘ह्याट्रिक’ गरेका हुन् । चौधरीले २०४९ साल र २०५४ सालमा हाँसपोसा गाउँ विकास समितिको अध्यक्ष जितेका थिए । इटहरी उपमहानगरपालिका हाँसपोसासहित पकली, एकम्बा र खनार मिलेर बनेको हो ।

इटहरीमा एमालेले मेयर/उपमेयरसहित ८ वटा वडामा जितेको थियो । एमालेले वडा नम्बर २, ४, ५, ९, १८, १९, १३ र १४ जितेको थियो ।

आसन्न स्थानीय चुनाव नजिकिँदै गर्दा नेकपा एमालेभित्र इटहरीको मेयरका लागि  केही नेताको नाम चर्चामा रहेको छ । उपमेयर लक्ष्मी गौतम समेत मेयरका लागि मैदानमा आउने नेताहरू बताउँछन् । उपमेयर भएकाले मेयरमा आफ्नो नाम आउनु स्वाभाविक भएको उनले बताइन् ।

१०औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य भएकी गौतमको आकांक्षा बलियो रहेको एमाले सुनसरीका एक नेताले बताए ।  मेयर द्वारिकलाल चैधरी पटक–पटक विवादमा तानिँदा समेत उपमेयर गौतम खासै विवादमा परेकी छैनन् । 

पार्टी नगर कमिटी अध्यक्ष याम सुब्बाको नाम पनि चर्चामा छ । गत चुनावमा मेयरका आकांक्षी देखिएका रामप्रसाद चौलागाईं यसपालि पनि चर्चामा छन् । बहालवाला मेयर द्वारिकलाल चौधरीले समेत इच्छा देखाएको नेताहरू बताउँछन् । 

पत्रकारको ‘नाकको डाँडी’ भाँच्नेदेखि पत्रकारलाई लोपार्ने लगायतका विभिन्न काण्डमा चर्चामा आएका चौधरीले पुनः मेयरका लागि लबिङ शुरू गर्न थालेका छन् । ‘उहाँ अहिले भाले हो कि पोथी हो भन्ने अवस्थामा हुनुहुन्छ,’ एक नेताले भने, ‘एमाले कि समाजवादी भनेर छुट्याउनै समस्या भएको छ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई घरमै लगेर भात खुवाउने तथा नगरका अन्य कार्यक्रममा समेत माधव नेपाललाई बोलाएपछि एमाले उनीसँग सशंकित भएको छ ।

कांग्रेसमा मेयरका लागि ४ जनाको नाम चर्चामा छ । गत चुनावमा मेयरका आकांक्षी रोहित प्रसाई पुनः लड्ने तयारी गरिरहेका छन् । प्र्रसाईले चुनाव लक्षित गतिविधि समेत बढाएका छन् । स्व. आमाबुवाका नाममा फाउन्डेसन खोलेर गरीब तथा विपन्न परिवारलाई सिरक–डसना जस्ता सामग्री उनले बाँडेका छन् ।

मेयरका आकांक्षीमा भीम पौडलेको नाम पनि चर्चामा छ । प्रसाई र पौडेल दुवै जना महाधिवेशन प्रतिनिधि हुन् । पौडेल उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष हुन् भने प्रसाई पूर्व अध्यक्ष हुन् । गत प्रदेशसभा चुनावमा पराजित बनेका हेमकर्ण पौडेलले पनि मेयरको आकांक्षा देखाएका छन् ।

नेकपा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी ‘हेर र पर्ख’को अवस्थामा छन् । नेकपा एकीकृत समाजवादीका नेता तथा खेलकुद विकास समितिका पूर्व सदस्य सचिव केशवकुमार बिष्टको नाम पनि चर्चामा छ । पूर्व मुख्यमन्त्री समेत रहेका भीमप्रसाद आचार्यको गृहजिल्ला सुनसरीमा एकीकृत समाजवादीको राम्रो पकड रहेको समाजवादीका नेताहरू बताउँछन् ।

गत स्थानीय चुनावमा माओवादीको अवस्था कमजोर देखिएपछि चुनावी गठबन्धन गरेर अगाडि बढ्ने रणनीति रहेको माओवादी नेताहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्