२४ जेठ २०८३, आइतबार
राष्ट्रिय आविष्कार केन्द्रको सरहानीय काम

नेपालमै ८ युवा इञ्जिनीयरले यसरी तयार पार्दैछन् विद्युतीय कार [भिडियोसहित]

फागुन २०, २०७८

नेपालमै अहिले विद्युतीय गाडी तयार भइरहेको छ भन्ने सुन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ, तर यो साँचो कुरा हो ।

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले डिजेल तथा पेट्रोलबाट चल्ने पुरानो गाडीलाई विद्युतीय गाडीमा रूपान्तर गर्ने काम गरिरहेको छ ।

कीर्तिपुरस्थित आविष्कार केन्द्रमा ८ जना युवा इञ्जिनियरहरू यही काममा दिनरात नभनी खटिएका छन् ।

अहिले निसान कम्पनीको पेट्रोल कारलाई विद्युतीय कारका रूपमा रूपान्तरण गर्ने काम भइरहेको छ । त्यसबाट पुरानो इञ्जिन फालेर मोटर, ब्याट्री तथा कन्ट्रोलर लगायतका सामान राखी नयाँ स्वरूप दिने काम भइरहेको छ ।

खासमा च्याचिस तथा मेटलबाट बनेको बडी सामान्य मोडिफाइ र रंगरोगन गर्दा हुने र पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको इञ्जिनलाई निकालेर विद्युतीय पार्स्टस् राख्दा गाडी नयाँसरह बन्ने पुनको दाबी छ ।

'पुरानो सवारीलाई विद्युतीय बनाउने योजना असम्भव होइन, यो सामान्य कुरा हो । पुरानो इञ्जिन फालेर ब्याट्री तथा मोटर जडान गरेर सवारीलाई कुदाउने हो,' पुनले लोकान्तरसँग भने, 'च्याचिस तथा बडी रंगरोगन गर्दा पुग्छ । मोटर तथा ब्याट्री नयाँ राख्दा गाडी नयाँसरह नै हुन्छ ।'

यसरी विद्युतीय गाडीमा रूपान्तरण गर्न गाडी कति वर्ष पुरानो हो भन्ने कुराले केही फरक नपार्ने पुनले बताए ।

'२० वर्षपछि सवारीको इञ्जिनले धेरै धूवाँ फालेर वायुमण्डललाई प्रदुषण गर्ने हुनाले सरकारले चलाउन रोक लगाएको हो । यहाँ त प्रदुषण गर्ने इञ्जिन नै फालेर त्यसमा मोटर र ब्याट्री राख्ने हो । यसो गर्दा प्रदूषणको कुरै आउँदैन । वातावरणमा असर पनि नपर्ने, किफायती पनि हुने,' पुनले भने ।

सरकारले नै रोकेका कारण यो काम शुरू गर्न १० वर्ष ढिला भएको उनले बताए ।

'सरकारले नरोकेको भए आजभन्दा १० वर्ष अगाडि नै विद्युतीय सवारीमा रूपान्तरण हुने काम अघि बढिसकेको हुने थियो । त्यतिबेला आफ्नो स्वार्थ पूरा गर्नका लागि सरकारमा रहेका लोभीपापीले यस कार्यलाई अगाडि बढ्न दिएनन्,' पुनले गुनासो गरे ।

पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीय बनाउने कामको नेतृत्व मेकानिकल इञ्जिनियर रितेश देवले सम्हालेका छन् । उनलाई इलेक्ट्रिक, सफ्टवेरसहित विभिन्न विधाका अन्य ७ इञ्जिनीयरले साथ दिएका छन् ।

यो काम शुरू भएको ३ वर्ष भए पनि बीचमा कोरोना महामारी र अन्य कारणले प्रभावित भएको देवले बताए ।

'शुरूआत ३ वर्षअघि नै भएपनि हामीले दोस्रो लकडाउनपश्चात तीव्रताका साथ काम अघि बढाएका हौं,' देवले भने, 'कोरोना महामारी र केही साथीहरू अध्ययनका लागि बाहिर जानु परेकाले बीचमा काम रोकियो ।'

अहिले रिसर्चको काम सकिएर आवश्यक सामानहरू खरिदको चरणमा पुगेको उनले बताए ।  देवका अनुसार आउँदो जेठसम्ममा काम सकेर टेस्ट ड्राइभ समेत गर्ने लक्ष्य छ ।

गाडीले कम्तिमा १०० किलोमिटर माइलेज दिने देवले बताए ।

'आउँदो वैशाख या जेठसम्ममा टेस्ट ड्राइभ गर्ने लक्ष्य छ,' उनले भने, 'अहिलेलाई एकपटक चार्ज गर्दा मिनिमम १०० किलोमिटर गुड्ने गरी तयार पारिरहेका छौं ।'

अहिले सरकारी कार्यालयहरूमा हजारौं गाडी पुरानो भएर थन्किएका छन् ।

ती गाडीलाई यसैगरी नयाँ स्वरूप प्रदान गर्न सक्ने हो भने सवारी आयात र पेट्रोलियम पदार्थमा हुने खर्च न्यूनीकरण गर्न सहयोग पुग्ने छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्