
कोरोना संक्रमण विरुद्धको खोपमा सबैको पहुँच पुर्याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक हप्ताको २ दिन खोप लगाउने भएको छ ।
खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक हप्ताको सोमवार र बुधवार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनका अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित शहरी स्वास्थ्य केन्द्र र बुधवार त्रिशुली अस्पतालमा खोप लगाउन बाँकी रहेकादेखि यसअघि खोप लगाइसकेका व्यक्तिहरूलाई थप डोज लगाउन कार्डसहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसैगरी जिल्लाका १२ स्थानीय तहले पनि अबदेखि खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ । खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले २ केन्द्रबाट खोप उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउँदा आउजाउको क्रममा संक्रमणको थप जोखिम हुनसक्ने तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामा नै खोप उपलब्ध गराउन लागिएको हो । त्यसको लागि हरेक महिनाको तोकिएको मिति र केन्द्रबाट खोप सेवा उपलब्ध गराउने गरिने खोप अधिकृत महर्जनले बताए ।
संक्रमणको जोखिमबाट सुरक्षित रहन सबैभन्दा उपयुक्त उपाय खोपको पहुँच भएकाले १२ वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गरिएको छ । नुवाकोटमा कोरोना रोग विरुद्धको खोप सेवामा सबैको पहुँच पुराई जिल्लालाई कोरोना विरुद्धको खोपयुक्त जिल्ला घोषणाको लागि पनि खोप सेवालाई सहज बनाई सबैलाई समावेश गर्न लागिएको हो ।
जिल्लामा हालसम्म विभिन्न ५ कम्पनीका ३ लाखभन्दा बढी डोज भित्रिएको छ । खोप कार्यक्रम शुरू भएदेखि हालसम्म नुवाकोटमा कोभिडशिल्ड ६१ हजार ९१०, एक्स्ट्राजेनेका ६७ हजार ७००, भेरोसिल ९५ हजार १००, जोनसोन एण्ड जोनसोन १५ हजार ९१० र मोडर्ना कम्पनीको खोप ६४ हजार ८०० डोज खोप प्राप्त भएको छ ।