१२ साउन २०८३, मंगलबार

इजरायल र साउदी अरबबीच सम्बन्ध सामान्य बनाउने पहल, अब दुई देशबीच सिधै उडान

असार ३१, २०७९
इजरायल र साउदी अरबबीच सम्बन्ध सामान्य बनाउने पहल, अब दुई देशबीच सिधै उडान

साउदी अरबले इजरायलसँगको सम्बन्ध सामान्य बनाउनका लागि नयाँ कदम चालेको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडन इजरायलमा भएको बेलामा साउदीले इजरायली विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा स्वागत गर्ने भएको हो । 

दशकौंसम्म इजरायललाई अरब विश्वले एक्ल्याएकोमा अब सम्बन्ध न्यानो बन्दै गएको यसबाट संकेत पाइएको छ । 

आजै बाइडन इजरायलबाट साउदी अरब जाँदैछन् । आणविक शक्तिसम्पन्न इरानको डरका कारण अरब मुलुकहरूले प्यालेस्टाइनीहरूसँगको एक्यबद्धता भन्दा पनि इजरायलसँगको सम्बन्ध विस्तारमा जोड दिइरहेका छन् । 

सन् २०२० मा तत्कालीन ट्रम्प प्रशासनले इजरायल, बहराइन, मोरक्को र युनाइटेड अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध कायम गराएका थिए । ती सम्झौताअनुसार इजरायल र तीन अरब मुलुकबीच सिधै व्यापार र सैन्य साझेदारीको बाटो खोलेको थियो । 

इजरायल र साउदीबीचको उडान सम्झौतालाई बाइडनले स्वागत गरेका छन् । 

साउदी र इजरायलले लामो समयदेखि गोप्य सम्बन्ध कायम गरेको भए पनि साउदी अरबले इजरायल–प्यालेस्टाइन सम्बन्ध सामान्य नबनुन्जेल इजरायलसँग औपचारिक सम्बन्ध नराख्ने बताउँदै आएको थियो । 

तर हालैका दिनका साउदी राजपरिवारका सदस्यहरू प्यालेस्टाइनी नेतृत्वको आलोचना गर्न थालेका छन् भने केही साउदी टिप्पणीकारहरूले इजरायलसँग सम्बन्ध सामान्य बनाउने कदमको स्वागत गरेका छन् । 

दुई देशबीचको उडान गराउने निर्णयसँगै इजरायलमा रहेका मुस्लिम अल्पसंख्यकहरूलाई मक्कामा तीर्थयात्रा गर्न सहज हुने इजरायली अधिकारीहरूको आशा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्