२२ असार २०८३, सोमबार

न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई सार्वजनिक सूचनामार्फत सोधियो स्पष्टीकरण

न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई सार्वजनिक सूचनामार्फत सोधियो स्पष्टीकरण

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अभियोग लागेका अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण सोधिएको छ । नेपाल कानून व्यवसायी परिषद्ले मंगलवार सार्वजनिक सूचनामार्फत अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधेको हो । 

उनलाई स्पष्टीकरण सोध्न परिषद्ले गोरखापत्रको मंगलवारको अंकमा सूचना प्रकाशन गरेको छ। पाेखरेलले स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएकाले परिषद्ले सार्वजनिक सूचना प्रकाशित गरेको जनाएको छ । उनलाई सूचना जारी भएको मितिले ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । 

‘तपाईं रुद्रप्रसाद पोखरेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङसमेत उपर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा तपाईंलाई कार्बाही हुनु पर्ने हो/होइन ?’ सूचनामा भनिएको छ, ‘अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेश गर्नु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ ।’

सिभिल सहकारीका तत्कालीन अध्यक्ष ईच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दामा तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएदेखि उनी सम्पर्कविहीन छन् । 

salt training

कमेन्ट गर्नुहोस्