२३ जेठ २०८३, शनिबार
निर्माणमा ढिलासुस्ती

कहाँ अल्झियो पुरानो बसपार्कको १२ तल्ले भ्यू-टावर ? सम्झौता सकिँदा पनि किन बनेन ? [भिडियो]

साउन ४, २०७९

रत्नपार्कमा बनिरहेको १२ तल्ले काठमाडौं भ्यू–टावर समयमा निर्माण सम्पन्न नगरेको ठेकेदार कम्पनीले सम्झौता नवीकरणका लागि महानगरपालिकामा निवदेन दिएको छ । 

पाँच वर्षमा काम सम्पन्न गर्ने गरी २०७१ सालमा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले काम शुरू गरेको थियो ।

तर, अहिलेसम्म पनि भौतिक प्रगति निकै कम रहेको महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले बताए । 

रत्नपार्कस्थित बसपार्कको २३ रोपनी ५ आना जग्गामा काठमाडौं महानगरपालिकाले बहुउद्देश्यीय भ्यूटावर बनाउन थालेको हो ।

तर, ठेकेदार कम्पनीले विभिन्न बहाना देखाएर काम नगरेपछि तोकिएको समयमा टावर निर्माण हुन सकेको छैन ।  

नक्सा स्वीकृत भएको १२ तलामध्ये अहिलेसम्म ८ तलाको मात्रै स्ट्रक्चर बनेको छ ।

उक्त टावर निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई सम्पूर्ण लगानीसहित टावर बनाउन र ३० वर्षसम्म सञ्चालनका लागि अनुमति दिइसकेको छ ।

कम्पनीले सम्झौता गरेको एक वर्षपछि मात्रै काम शुरू गरेको थियो। 

उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त भ्यु टावरको शिलान्यास गरेका थिए। समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीले कोरोना महामारी र लकडाउनलाई कारण देखाएको छ । 

‘भ्यू-टावर निर्माणका लागि सामग्री र कामदार दुवै भारतबाट ल्याउनुपर्छ । तर, कोराना महामारीको समयमा निर्माण कम्पनीले सामग्री र कामदार जुटाउन नसकेको बताएको थियो ।

त्यसैले काममा ढिलासुस्ती भएको कम्पनीको दाबी छ’, महानगरपालिकाका सूचना अधिकारी महेशकुमार काफ्लेले भने ।

अहिले काम गर्ने म्याद गुज्रिएकाले म्याद थप गर्नका लागि निर्माण कम्पनीले महानगरपालिकामा निवेदन दिएको काफ्लेले बताए ।  

उक्त टावर बनाउनका लागि तत्कालीन समयमा ४ अर्बको लागत अनुमान गरिएको भए पनि अहिले भने भ्यू–टावरको लागत ४० प्रतिशतले बढ्न सक्ने काफ्लेले बताए। 

भ्यू–टावर निर्माणको काम जारी रहेको समयमा पनि वर्षायामपछि भने टावरको बेसमेन्टमा रहेको २ तल्लामा भने पार्किङ सञ्चालनमा ल्याउन सकिने काफ्लेले बताए ।

अबको २ महिनापछि पार्किङ सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

के–के हुनेछन् टावरमा ?

निर्माणाधीन उक्त भ्यू-टावरको बेसमेन्टमा दुई हजार सवारी साधन अट्ने गरी पार्किंङ बन्ने छ ।

त्यसैगरी, सिनेमा हल, स्विमिङ पुल, शपिङ कम्प्लेक्स,  रेस्टुरेन्टसहितको विशेषता रहने महानगरले जनाएको छ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्