२५ जेठ २०८३, सोमबार

चुनावमा जीत सुनिश्चित गर्न माओवादी रोजें, जितेपछि म स्वतन्त्र नै हुन्छु : वामदेव गौतम

चुनावमा जीत सुनिश्चित गर्न माओवादी रोजें, जितेपछि म स्वतन्त्र नै हुन्छु : वामदेव गौतम
फाइल फोटो

राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् ।

मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका सदस्य गौतमले यस्तो बताए ।

उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए । सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने बताए । उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए । हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गरे ।

उनले इमान्दारीसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने दाबी गरे । 

उनले भने, ‘हामी गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो । समझदारी बन्यो । त्यसअनुसार जाँदा कानूनी प्रक्रियाहरू के छन्, भोलि गाह्रो पर्ने हो कि, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ । माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गए पनि म स्वतन्त्र हो, त्यसरी मैले भूमिका निर्वाह गर्छु सदनमा । प्रत्यक्षमा उम्मेदवार दिनुभन्दा पहिले मैले राष्ट्रिय सभा सदस्यको पद छोड्नुपर्छ । छाडेर राजीनामा स्वीकृत भएको व्यक्ति भएर आफैं प्रमाण बनेर उम्मेदवार दिन जानुपर्छ । म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नको लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो । हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि छ । मैलेभन्दा धेरै मान्छे रिसाउन सक्छन्, एमाले नेताहरू सबै रिसाउन सक्छन् । इमान्दारी साथ गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ म देख्दिनँ तर यहाँभित्रै छिद्र पैदा हुने र अन्तर्घात गर्ने, विद्रोही उठ्ने जस्ता गतिविधि भए भने त्यसबाट अरुलाई फाइदा पुग्छ । त्यो फाइदा पुग्दा पनि गठबन्धन धेरै अघि हुन्छ । यो चुनावसम्मको मात्रै गठबन्धन हो, सरकार बनाउने सन्दर्भमा फेरि अर्को गठबन्धन शुरू हुन्छ । प्रधानमन्त्रीको कुरै नसोध्नुस्, भन्ने बित्तिकै मेरो सबै बिग्रिन्छ ।’

निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताएका थिए ।

राष्ट्रिय एकता अभियानका संयोजक समेत रहेका गौतमले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए ।

मंगलवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिह्न दिने सहमति गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्