
(लक्ष्मी गारू)
भक्तपुर, १७ साउन । मध्यपुर थिमि–१, लोकन्थली बस्ने नानीछोरी प्रजापतिका छोरा आयन यही साउन ९ गते चार वर्ष पूरा भई पाँच वर्षमा प्रवेश गरे । सो दिन आयनलाई नेवारी संस्कृति र परम्परानुसार मामाघर र घरका सदस्यले टीका लगाई दिनाका साथै दही र अण्डाको सगुन दिएर दीर्घायु, सुख शान्ति र समृद्धिको कामना गरे ।
भक्तपुर नगरपालिका–५ का रामभक्त सुवालकी छोरी विन्दा आइतबार अध्ययनका लागि अष्ट्रेलिया जाने भएपछि घरमा बेग्लै रौनक छाएको थियो । एकातिर छोरी लामो समयका लागि विदेश जाँदै गर्दा आमा कृष्णेश्वरीको मन भारी थियो भने अर्कातर्फ विन्दालाई बधाई, शुभकामना र सफलताको कामना गर्दै उनका काकी, माइजू, फुपू र हजुरआमा दही र अण्डाको सगुन दिन व्यस्त थिए ।
नेवारी सभ्यता र संस्कृतिमा जन्मदिन, शुभ दिन, नयाँ कार्यको आरम्भ, लामो यात्रा, कार्य सफलता, विदेश भ्रमणलगायत अवसरमा सगुन दिने प्रचलन छ । नेवारी संस्कृतिमा आमा र बाबुको मुख हेर्ने औँसीमा विशेष गरी विवाहित छोरीले आमाबाबुलाई, विवाहमा दुलहादुलहीलाई घरका मूली महिलाले, व्रतबन्ध गर्ने बालकलाई आफन्तले, भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुन दिने प्रचलन छ । नेवार समुदायमा कुनै पनि शुभकार्यको थालनी गर्दा मात्र होइन शुभकाम सम्पन्न भएपछि पनि सगुन दिने परम्परा छ । कसैले नयाँ घर निर्माण सम्पन्न गरेको छ भने सो घरका सदस्यलाई पनि आफन्तले सगुन दिन्छन् । चुनाव जितेमा पनि सगुन खाने चलन छ ।
नेवारी संस्कृतिमा दही, अण्डा, माछा, मासु, बारा, अदुवा आदिलाई सगुनका रुपमा लिइन्छ । सगुन दिनुअघि सुकुन्दा बालेर गणेशको पूजा गर्नु अनिवार्य छ । दही सगुन दिँदा सगुन दिनेले दुई हातले दहीको कतहरा समाउनुपर्छ भने सगुन लिनेले पहिला आफूले तीन पटक ढोग्ने, त्यसपछि तीन पटक भगवान्लाई चढाउने र अन्तमा आफूले दहीको टीका दायाँ कञ्चटमा लगाउनुपर्छ । कसै कसैले दही सगुन दिँदा दिनेले नै लिनेको कञ्चटमा लगाइदिने चलन पनि छ ।
अण्डालाई पत्रेदार, आग्नेय र अरिवर्तित चट्टानका रुपमा पनि लिन सकिन्छ । अण्डा पृथ्वी जस्तै छ, तसर्थ अण्डा सगुन दिनु भनेको पृथ्वीलाई हातमा दिएर आफ्नो मात्र नभई सारा पृथ्वीको शुभ होस् भनी दिइने एउटा आशीर्वाद हो । सगुन दिने तरिका फरक फरक भए पनि दिनुको उद्देश्य एउटै भएको संस्कृतिकर्मी बताउँछन् ।
सगुनमा दहीलाई चन्द्रमाको प्रतीकका रुपमा लिइन्छ । पूर्वीय दर्शनमा चन्द्रमा दाहिने भए मात्र ठूलो कार्य सफलता प्राप्त हुन्छ भन्ने मान्यता छ । सगुन लिइसकेपछि आफूभन्दा ज्येष्ठ सदस्यको आशिष लिइन्छ ।
तन्त्रप्रधान नेवारी संस्कारअनुसार रक्सी, मासु, माछा, बारा र अण्डालाई पञ्च तत्वका रुपमा लिइन्छ । यी पाँच तत्वलाई काम, क्रोध, लोभ, मोह र अहंकारका प्रतीकका रुपमा पनि लिइन्छ । मानव जीवनमा जसले यी पाँच तत्वलाई वशमा राख्छ, त्यसले संसार संस्कृतिका रुपमा सगुन संस्कृतिलाई लिइने इतिहासकार तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
“सगुन संस्कार आफ्नो, परिवार, समाज, देशको मात्र नभएर सारा ब्रह्माडकै कल्याणको कामना गर्ने संस्कृतिका रुपमा लिइन्छ । यो संस्कारले इज्जत, मान, प्रतिष्ठा, वैभव आदि प्राप्ति हुने हुँदा यसलाई सबैको लोककल्याणकारी संस्कारको रुपमा समेत लिइन्छ” प्रा डा श्रेष्ठ भन्नुहुन्छ ।
सगुनलाई शुभ, राम्रो र जीवनमा आइपरेको ठूलठूला काम सम्पन्न हुँदा दिइने एक आशीवार्दका रुपमा लिन सकिने अर्का संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो । रासस